बच्चाको शल्यक्रिया गर्ने रकम नहुँदा परिवार तनावमा

आशाको दियो बलिरहोस्

  किरण पौड्याल

 262 पटक हेरिएको


इलाम । इलाम नगरपालिकाका तीन वर्षका बालकमा मिर्गौलाको क्यान्सर देखिएपछि उपचारार्थ खर्च जुटाउन समस्या भएको छ । सात महिनादेखि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ बालकको उपचार खर्च अभाव भएको हो । क्यान्सरको शल्यक्रियापूर्व ‘किमोथेरामी’मा रकम बढी खर्चिनु परेपछि खर्च जुटाउन झनै समस्या परेको परिवारले जनाएको छ ।

शल्यक्रिया गर्न किमोथेरापी छ पटक गर्नुपर्ने अस्पतालले जनाएको छ । “छ साइकल त किमो नै गर्नुपर्छ । खर्च जुटाउन गाह्रो छ”, बालकका बाबु गोपाल श्रेष्ठले भने । उनका अनुसार, एक पटकको किमोथेरापीमै करिब ४० हजार खर्च लाग्छ । त्यसपछि शल्यक्रिया गर्न समेत १२ लाख रुपैयाँ हाराहारीमा रकम लाग्ने अस्पतालले जनाएको छ । “बिरामीको अवस्था किमो गराउँदा ‘नर्मल’ भयो भने मात्र ४० हजार रुपैयाँले पुग्ने हो”, गोपालले भने, “अरू बिराम देखिँदा त एक किमोमै डेढ लाखसम्म खर्च लाग्छ ।”

अहिलेसम्म उपचारमा १० लाख रुपैयाँ खर्च लागिसकेकाले शल्यक्रियाका लागि रकम जुटाउन अत्यन्त गाह्रो भएको गोपालको भनाइ छ । आर्थिक स्थिति कमजोर भएका उनको हालसम्म सहयोगबाटै रकम जुटाएको भए पनि शल्यक्रियाका लागि पर्याप्त छैन । अहिलेसम्म तीन लाख रुपैयाँ भन्दा बढी रकम उठिसकेको छ तर त्यसले शल्यक्रियासम्म नपुग्ने भएकाले उपचार कसरी गर्ने दोधारमा परेको गोपालको भनाइ छ । अहिले गोपाल र श्रीमती नै बच्चाको उपचारका लागि काठमाडौंमै छन् ।

परिवारका सबैको सहयोग मिल्दा पनि रकम नजुट्दा छरछिमेकी र आफन्तको सहयोग मागेको उनको भनाइ छ । बच्चा बचाउनका लागि सबै पक्षबाट सहयोग गरिदिनका लागि परिवारले सबैलाई आग्रह समेत गरेको छ । बालकलाई सहयोगका लागि एनआइसी एशिया बैंकको खाता नं २७८५७५०८८६०९७००१ मा रकम पठाइदिनुहुन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार