इलाम । इलाम नगरपालिकाकी एक स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ पुष्टि भएको छ । ३६ वर्षकी महिला स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि जिल्ला समन्वय समितिमा निर्माण गरिएको आइसोलेसनमा राखिएको छ ।
ती महिला दम रोगले गाह्रो बनाएपछि गएको भदौ १ गतेदेखि नै विदामा बसेको बताइएको छ । विदामा रहेकै समयमा उनलाई बुधबार ज्वरो र रुघा खोकी देखिएको थियो । कोरोनाको लक्षण हुनसक्ने भन्दै उनी ‘बेड रेस्टमा’रहेकै समयमा भदौ ४ गते स्वाब सङ्कलन गरेर परीक्षणका लागि कोशी अस्पताल पठाइएको थियो ।
उनी जिल्ला बाहिर जाने, भीडभाडमा काम गर्नु पर्ने जस्ता गतिविधिमा संलग्न नभएकाले संक्रमण कसरी भयो भन्ने कुरा भने हालसम्म पत्ता लगाउन नसकेको इलाम नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख रमन्ता पौड्यलले जानकारी दिइन् ।
उनको कन्ट्रयाक ट्रेसिङ्गमा रहेकाहरुको संकलित स्वाब परीक्षणका लागि भोली पठाइने इलामका कोभिड–१९ फोकल पर्सन विमल बरालले जानकारी दिए ।
स्वास्थ्यकर्मी सङ्क्रमित देखिएको यो नै जिल्लाको पहिलो घटना हो । हालसम्म इलाममा सङ्क्रमितको संख्या ८८ पुगेका छन् । ७८ जना डिस्चार्ज भएर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


2062 पटक हेरिएको 






