आर्थिक, शैक्षिक र चेतना स्तरमा कमजोर हुँदा जातिय विभेद भोग्नु परेको गुनासो

सार्वजनिक बहस

  सरलपाटी सम्वाददाता

 447 पटक हेरिएको

इलाम । आर्थिक, शैक्षिक र चेतना स्तरमा कमजोर हुँदा जातिय विभेद भोग्नु परेको गुनासो एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ‘जातीय विभेद र छुवाछुतका घटनामा सरोकारवालाहरुको भूमिका र अभ्यास’ का बारेमा भएको सार्वजनिक बहस कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । बुधबार इलामको जिल्ला सम्वनय समितिको सभाकक्ष इलाममा भएको कार्यक्रममा उनीहरुले छुवाछुतबाट बच्न आर्थिक पक्षमा मजबुद हुनुपर्ने,शिक्षित जनशक्ति बढाउनु पर्ने, चेतना अभिवृद्धि गर्नु पर्ने र नेपालको कानुनलाई राजनीतिको पाटीगत ओझेलमा पारेर दुरुपयोग गर्न नमिल्नेमा जोड दिएका थिए ।

यसका लागि आफू स्वयम्ले आफ्नो पहिचान बनाउनु पर्ने, नेपाल सरकारले हरेक सरकारी कार्यलयमा एक जना दलित समुदायका व्यक्तिलाई कार्यलय सहयोगी राख्ने व्यवस्था गर्नुपर्ने, हरेकले दमित व्यवहार सहन नहुने, आफ्ना हकका लागि आफै जागरुक हुनु पर्ने, शैक्षिक लगानीमा पहिलो प्राथमिकता दिने लगायत जस्ता व्यवहारिक पक्षलाई वास्तविक जीवनमा उर्तान सके मात्र विभेद न्युनिकरण हुदै जाने सहभागीहरुले  बताएका हुन् ।

जातिय विभेदका घटना पछिल्लो समय फरक ढाँचामा देखा पर्दै गएकाले यसबारे सबै बेलैमा सचेत रहन जरुरी छ । मुख्य बजार क्षेत्रलाई समेटेर मात्रै विविध कार्यक्रम गर्नु भन्दा हरेक टोल–टोलमा सचेतना छलफल कार्यक्रम गर्नु आजको आवश्यकता भएको सहभागीले औल्याएका थिए ।

घटनालाई भित्रभित्रै मिलाउने, ढाकछोप गर्ने, मुद्धा दर्ता गर्न नआउने जस्ता कार्यले कहाँ कति विभेद छ भन्ने छुट्टिन नसकेको बताइएको छ । सामाजिक सद्भाव नविथोल्ने भन्दै सहन नहुने । उत्पीडन हुनबाट बच्न हरेक टोल–टोल, गाउँ–गाउँबाट सबै एक हुनु आजको आवश्यकता रहेको विभिन्न सरोकारवाला संघसस्थाका व्यक्तिहरुले सबैमा अपिल समेत गरेको छ ।

बहस कार्यक्रममा मानव अधिकार मञ्च, नेपालका सचिव अधिवक्ता देवेन्द्र विश्वकर्माले प्रस्तुत गरेको कार्यपत्रमा रहेका जातीय छुवाछुतको पृष्ठभूमी, वर्तमान अवस्था, छुवाछुतकाबारेमा मानव अधिकारका मुख्य प्रावधानहरु, सरकारी प्रयासहरु र आगामी कार्यदिशाका विषयबारेमा खुल्ला छलफल भएको थियो ।

छलफलका विषयलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराईलीले हालसम्म इलाममा दलित समुदाय बिच नै छुवाछुत नभएको बताइन् । उनले भनिन्, ‘हरेक स्थानिय तहमा टोल– टोलमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न अब भने चुक्ने छैनौँ ।’

इलाम नगरपालिका नगरस्तरीय दलित समन्वय समितिका अध्यक्ष मनकुमार बराइलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न राजनितीक दलका प्रतिनिधिहरु भक्त थामी, छिकीन तामाङ्, सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, उच्च अदालत विराटनगर, इलाम इजलासका रजिष्ट्रार नवराज दुलाल, वरिष्ठ प्रहरी  उपरीक्षक नविनकुमार राई, जिल्ला सरकारी वकिल  युवराज महत, दलित अभियान्ताद्धय प्रकाश परियार, नवराज शंकर आदीबासी जनजाति महासंघ इलामका उपाध्यक्ष कुमार गुरुङ लगायतले आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रम उत्पीडित जातीय अधिकार मंच इलाम र इलाम नगरस्तरीय दलित समन्वय समितिको संयुक्त आयोजना एवं गैरसरकारी संस्था (गैसस) महासंघ इलाम, मानव अधिकार मञ्च नेपाल इलाम, नेपाल पत्रकार महासंघ जिल्ला शाखा इलाम र नेपाल आदीवासी जनजाति महासंघ इलामको सहकार्यमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार