इलाम । देउमाई नगरपालिका– २ स्थित मंगलबारेकी सुमला साङपाङ राईमाथि पाँच वर्षकै उमेरमा ‘बज्रपात’ भयो । घरमा हिँड्दै गर्दा लडेर सुमलाको कम्मरमुनिको भाग चल्न छोड्यो ।
सुमलालाई उपचारका लागि नेपाला मात्र नभई भारतका अस्पतालसम्म पुर्याइयो तर व्यथा ‘बीसको उन्नाइस’ भएन । त्यतिमा मात्र उनको पीडा रोकिएन । सुमलाले सानैमा बुबा समेत गुमाउनु पर्यो । यस्ता अनेकौँ समस्याबीच सुमला अहिले १६ वर्ष पुगिन् । उनी शारीरिक रूपमा अस्वस्थ भए पनि पढाइमा अब्बल छिन् अनि प्रतिभाशाली छिन् ।
अध्ययनकै लागि सुमलालाई ललितपुरको जेनेम माध्यमिक विद्यालय भर्ना गरिएको छ । पढाइका अतिरिक्त सुमलाको सोख चित्रकला हो । शिक्षक शिक्षिकाबाट राम्रो सल्लाह पाउँदै गरेकी सुमलाले चित्रकलामै भविष्य देखेकी छिन् । ‘मेरो चित्र हेर्नकै लागि धेरै जना आउनुहुन्छ, उहाँहरुले राम्रो छ पनि भन्नुहुन्छ,’ उनले सुनाइन् । चित्र बनाउन धेरै मेहनत गर्नु परे पनि रहर भएकाले भविष्यमा यसै क्षेत्रमा लाग्ने सुमलाको विचार छ । ‘धेरै जना त किन्न पनि आउनुहुन्छ तर अहिलेसम्म बेचेकी भने छैन,’ खुशी हुँदै उनले सुनाइन् ।
माई नगरपालिका – ९ स्थित चिसापानीका अरुण गौतम जन्मजात अपांगता भएका बालक हुन् । एघार वर्षीय अरुण पनि चित्रकलाका सौखिन हुन् । उनलाई पनि चित्र बनाएर बच्ने र पैसा कमाउने इच्छा छ । ‘सानै छ तर पनि चित्र राम्रै बनाउँछ,’ अरुणका बुबा लक्ष्मणले भने, ‘यही कला देखेर एक जनाले पढाउन काठमाडौँ लान्छु पनि भन्नुभयो तर अलि अशक्त भएकाले दिइन ।’ लक्ष्मणलाई छोरा अशक्त भए पनि चित्र कोरेरै जीवन धान्छ भन्ने लागेको छ । अवसर मिले चित्रकलाको राम्रै विद्यालयमा पढाउने समेत योजना छ बुबा लक्ष्मणको ।
एक पट्टिको हात र खुट्टा अशक्त भएकाले विद्यालय जान अरुणलाई केही समस्या छ । तर दुःखले हिड्न भने समस्या छैन । ‘पहिले त भविष्यमा दुःख पाउँछ होला जस्तो लाग्थ्यो तर चित्र बनाएरै खान्छ जस्तो लाग्न थालेको छ अहिले, त्यसैले अब ढुक्क छु,’ लक्ष्मण भन्छन्, ‘चित्रकलाका धेरै प्रतियोगितामा भिड्न जान्छ, स्कुलमा पनि भाग लिने गरेको छ ।’
त्यस्तै इलाम नगरपालिका– ७ बस्ने आलोक खतिवडा र भुपाल खतिवडाको पनि कम्मरमुनिको भाग चल्दैन । यी दुवै दाजुभाइलाई हिँड्नका लागि साहारा नभइ हुँदैन । शारीरिक रूपमा अशक्त भए पनि आलोक र भुपालको सोच भने निकै दरिलो छ । दुवै भाई पढाइमा अब्बल छन् त्यसैले उनीहरु दुवैको भविष्यमा ठूलो मान्छे बन्ने सोच छ । अहिले भुपाल स्नातक अध्ययन गर्दै छन् भने भाइ आलोक १२ कक्षामा । ‘हिँड्न कि मान्छेको कि ह्वील चियरको सहारा चाहिन्छ तर बसेर गर्ने काम गर्न गाह्रो छैन,’ भुपाल भन्छन्, ‘पढाइमा त कहिल्यै फेल भइनँ, अहिले पनि राम्रै छ जस्तो लाग्छ ।’ भुपाल मात्र होइन आलोक पनि कक्षामा उत्कृष्ट विद्यार्थीमा पर्छन् । ‘अरू पृथक केही काम गरिन्छ भन्ने त लाग्दैन, पढेर चाहिँ राम्रै मान्छे बन्ने सोच छ,’ आलोक भन्छन्, ‘सबैले राम्रो छ पढाइ भन्नुहुन्छ ।’
सुमला, अरुण, आलोक र भुपाल त उदाहरण मात्रै हुन् । अपागता भए पनि फरक क्षमताका कारण अब्बल ठहरिएका यस्ता प्रतिभाहरु जिल्लामा धेरै छन् । अपांगता भएका बालबच्चालाई हेला नगरी उनीहरूको क्षमता चिन्न नसक्दा अब्बल दर्जाको नागरिक बन्न सक्ने अपांगता एकता समाजका इलामका सचिव प्रकाश चापागाईं बताउँछन् । ‘समाजमा अझै पनि अपांगता भएका बालबालिकालाई हेर्ने दृष्टि नकारात्मक सोच छ, यो सोचमा परिवर्तन आवश्यक छ, किन भने अवसर दिए गरेर देखाउन उनीहरु सामान्य मानिस जस्तै सफल हुनेछन्,’ चापागाईंले भने ।
पुनःस्थापित हुँदै अपांगता भएका व्यक्ति
पछिल्लो समय सरकार र संघसंस्थाले अपांगमैत्री काम गरेका कारण अपांगता रहेका व्यक्तिलाई जीवन जिउन सहज हुँदै आएको छ । उनीहरूलाई आवश्यक सामग्री र भत्ता दिन थालेपछि परिवारमा रहन सहज भएको अपांगतासम्बन्धी काम गर्दैै रहेको संस्था करुणा फाउण्डेसनका छवि श्रेष्ठ बताउँछन् ।
करुणाले स्थानीय तहसँगको समन्वयमा विद्यालय जान वञ्चित भएका बालबालिकालाई विद्यालय पठाउने र साक्षर बनाउने गरिरहेकोले समुदायमा पुनर्स्थापित हुन सहज भएको श्रेष्ठको भनाइ छ । पछिल्लो समय विद्यालयमा अध्ययन गराउने, शारीरिक अपांगता भएका (हात,खुट्टा गुमाएका) लाई कृत्रिम अंग प्रदान गर्ने काम भएकाले पनि धेरैले पुनर्जीवन पाएका छन् । सरकारले अपांगता भएकालाई पनि वर्गीकरण गरेर आवश्यक भत्ता समेत उपलब्ध गराउन थालेपछि अपांगता भएकालाई जीवन चलाउन राहत पुग्न थालेको छ ।
के गर्दैछन् संघसंस्था ?
स्थानीय तहको समन्वयमा करुणा फाउण्डेसनले अपांगतामैत्री काम गर्दै आएको छ । यसै वर्ष २०७६ मा मात्र करुणाले आठ सय ५५ जनालाई सहायक सामग्री प्रदान गरेको छ । अपांगता भएका व्यक्तिलाई ६० हजार रुपैयाँ पर्ने ह्वील चेयरदेखि कृत्रिम हातखुट्टा, श्रवण यन्त्र लगायतका सामग्री प्रदान गरिएको छ ।
करुणाले अपांगता भएकाहरुलाई कष्टकर हुने खालको आवासीय संरचना समेत सुधार गरिदिएको छ । करिब ८७ जना अपांगता भएकाको आवासीय संरचना सुधार गरिएको छ । १० हजार रुपैयाँसम्मको लगानीमा घर, शौचालय र बाटोको संरचना सुधार गरिएको करुणा फाउन्डेसनका छवि श्रेष्ठले बताए । अपांगताका कारण विद्यालय जानबाट बञ्चित बालबालिकालाई साक्षर बनाउने उद्देश्यले घरैमा अनौपचारिक शिक्षाको व्यवस्था पनि गरिएको सो संस्थाले जनाएको छ ।
समाजकै डरले लुकाउँछन् पीडा
अपांगता भएका व्यक्ति अझै पनि समाजमा खुल्न नसक्दा अपांगतासम्बन्धी जानकारी लिन सकस पर्ने गरेको छ । समाजकै डरले अपांगता भएका व्यक्तिले पीडा लुकाउनाले परिचय पत्र समेत नलिने गरेका छन् ।
समाजमा अपांगता हुनु पूर्वजन्मको पाप भन्ने तथा समाजबाट परम्परागत सोच हाबी हुनु वा परिवारले परिचय पत्र बनाउँदा अंश दिनु पर्ने धारणाले पनि अपांगता भए पनि नखुलेको करुणाका छवि श्रेष्ठको भनाइ छ ।
‘कतिपयले नागरिकता नै बनाएका हुँदैनन् । नागरिकता बनाउँदा परिवारकै सदस्यले अंश दिनु पर्ने वा आफू समेत अपहेलित हुने डरले बनाउन नदिने गरेका छन्,’ श्रेष्ठले भने, ‘त्यसै पनि यस्ता व्यक्ति परिवारले बोझ भएको ठान्छन् । त्यसमाथि पनि परिचय पत्र दिलाउदा अधिकार समेत दिनुपर्दा नबनाउनु नै ठिक भन्ने ठान्छन् ।’ उनका अनुसार, करुणा फाउन्डेसन र स्थानीय सरकारले समेत पहल गर्दा पनि कतिपयले परिचय पत्र नबनाउने गरेको पाइएको छ ।
यता अपांगता समाज इलामका सचिव प्रकाश चापागाईं भने त्यस्ता व्यक्तिलाई समाजबाट बाहिर ल्याउन नै नसकिने बताउँछन् । उनीहरूलाई बाहिर ल्याउँदा पनि परिवारले अपहेलना गर्ने हुँदा ल्याउन नसकिएको चापागाईको भनाइ छ ।
इलामको तथ्यांक
जिल्लामा हाल चार हजार तीन जना अपांगता भएका व्यक्ति रहेका छन् । जसमध्ये दुई हजार चार सय ९९ जना पुरुष र एक हजार ८०१ जना महिला छन् । करुणा फाउण्डेसनका अनुसार अपांगता भएका व्यक्तिले पाउने चार प्रकारका कार्डमध्ये पूर्ण अशक्तले पाउने रातो कार्ड लिने ५११ जना, अति अशक्तले पाउने निलो कार्ड लिने एक हजार ५४० जना, मध्य अशक्तले पाउने पहेलो कार्ड भएका एक हजार १४३ जना र सामान्य अपांगता भएकाले पाउने सेतो कार्ड लिने ८०५ जना रहेका छन् । बाँकी ३०१ जनाले भने कुनै पनि प्रकारको कार्ड नलिएको करुणा फाउण्डेसनले जनाएको छ ।


502 पटक हेरिएको 






