आमुख : वीरेन्द्र थोक्लिहाङ (२०२८) पाँचथरको एकतिनमा जन्मिएका स्रष्टा हुन् । नेपाली साहित्यमा उपन्यास,कथा र कविताकृति प्रकाशित गरिसकेका उनले पछिल्लो समयमा उसको भविष्य बन्छ भने नाटक संग्रह (२०७६) प्रकाशनमा ल्याएका छन् । अब उनको परिचय नाटककार ब्यक्तित्वको रुपमा समेत स्थापित भएको छ । यिनै कृतिको आलोकमा पाँचथरको साहित्यिक इतिहासमा स्रष्टा वीरेन्द्र स्थापित भएका छन्, र यो नै महत्वपूर्ण उपलब्धी हो ।
कृृतिपरक परिचय ः स्रष्टा वीरेन्द्रले गुम्सिएको अभिब्यक्ति (उपन्यास–२०४८), घाँडो (कथा संग्रह–२०५२), प्यासी ओठ (उपन्यास–२०६२), पींडा बोर्डिङ मास्टरको (कविता संग्रह(२०६४) र युद्धमा मारिएकी लुंगा बहनिीको चिठ्ठी (कविता संग्रह–२०६५) आदि कृतिहरु प्रकाशित गरिसकेका छन् । प्रकाशित कृतिहरुले आ–आफ्नो विधामा यथेष्ठ पाठकीय प्रतिकृया स्रष्टालाई दिलाइसकेको नै छ । कृतिका बारेमा यति नै भनेर प्रस्तुत नाट्य कृति यदि उसको भविष्य बन्छ भने माथि म आफ्नो समीक्षा केन्द्रित गर्छु ।
प्रस्तुत संग्रहमा तुहिन्छिन् यसरी क्रान्तिका सपनाहरू, वेलकम टु एड्स र यदि उसको सपना बन्छ भने गरी जम्मा तीनवटा शीर्षकका एकांकी नाटक संगृहित छन् । यस नाट्य कृतिलाइ सीता लावतीले प्रकाशनमा ल्याएको देखिन्छ , जुन आफैमा स्तुत्य कर्म हो । यी नाटक मध्ये वेलकम टु एड्स एउटा प्रयोगधर्मी नाटक हो, यसको नाट्य साहित्यमा आफ्नै महत्व हुन्छ । यसबारे म यति मात्रै भन्छु । तेस्रो नाटक यदि उसको भविष्य बन्छ भने कृतिको शीर्ष नाटक हो । यो नाटक जम्मा चारवटा दृश्यमा संयोजित छ । यो नाटक पनि प्रयोगपरक आदर्शवादी नाटक हो ।
नाटकको मुख्य पात्र देशभक्त राष्ट्रवादी चरित्र हो, त्यो भन्दा धेरै चरम आदर्शवादी राष्ट्रभक्त नायक हो । पैसाको लागि स्वयम् आफूलाई त्यागेर परपुरुषसँग बिहे गरेकी स्वास्नी निसालाइ माया गर्नु , अझ स्वास्नी हर्ने जारलाई सम्मान गर्नु परम्परा विपरीत चरम आदर्शवादको उदाहरण हो ।
निशा बिचलित, समाजका लागि चरित्रहीन पात्र भएर पनि पहिले आफैले छाडेको लोग्ने देशभक्तलाई पछि आदर्श मान्दै स्वदेश फिर्ने मोडमा आइपुग्छे । यस्तो चरित्रलाइ राष्ट्र भक्तिभावनामा रुपान्तरण गराएर स्वदेश फर्काउन सक्नु पनि आदर्शवादको अर्को नमूना हो । यसरी यो नाटकले स्रस्टालाई एकजना चरम आदर्शवादी नाटककारको रूपमा उभ्याएको छ । यो नाटकको चरित्र चित्रण, तिनको मनोदशा,भाषा,संवाद,परिवेश र कथानकसँग औसत मिल्ने खालका छन् । द्वन्द्व विधानका दृष्टिले भने कही फितलो संरचना छ । प्रस्तुत नाटकमाथि पनि यति नै पर्यवेक्षकीय धारण राखेर म पहिलो अर्थात तुहिन्छन् यसरी क्रान्तिका सपनाहरु नमक नाटकमाथि सैद्धान्तिक पर्यावलोकन गर्छु ।
(क) कथा वस्तु ः यो विशुद्ध राजनीतिक नाटक हो । नाटकको भौगालिक परिवेशको रूपमा नेपाल,भारत र चीन छ । नेपालको राष्ट्रिय राजनीतिमा आदि (सुगौली सन्धी) देखि अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र सञ्चालन हुँदासम्म भारतको हस्तक्षेप भइरहेको यथार्थतालाई देखाइएको छ । पछिल्लो जनक्रान्ति यता आएर प्रचण्डको नेत्रित्वमा बनेको सरकारले केही गर्छ, परिवर्तनलाइ सँस्थागत गर्छ , नेपाली जनताले न्याय,समानता,स्वतन्त्रता, विकास, नाना,छाना,खाना र स्वास्थ्य पाउलान भन्ने स्रष्टाको आशा र भरोषामाथि तुषारापात भएको तीतो सत्य नै नाटकको मुख्य कथावस्तु हो ।
नेपालका राजनेता, राजनीतिक दलका नेता र दलको नेत्रित्वमा बनेका सबै सरकारलाइ छिमेकी भारतले आफ्नो निर्देशन र इच्छानुसार चल्न बाध्य पारेको सन्दर्भमा प्रचण्डको पनि केही नलागेर क्रान्तिलाई तिलाञ्जली दिन पुग्छन् । क्रान्तिको सपना तुहिन्छ, उनको सतित्व लुटाइन्छ, क्रान्तिलाई पैसासँग साटेर अनदेख बन्न पुग्छन् नेपाली नेत्रित्व । राजनीतिक विषयलाई पनि काव्यिक बनाउँन स्रष्टाले नेपाललाई माझघर, भारतलाई पुच्छारघर र चीनलाइ सिरानघर को उपमा दिएर प्रतिकात्मक अर्थ प्रदान गरेका छन् । पात्रहरुको चयन पनि प्रतिकात्मक रुपमै गरेका छन । सिरानघरे चाङ अर्थात चीनले भने नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगरेको बरु सहयोगात्मक भूमिका रहिआएको छ भन्ने सन्देश पनि नाटकको कथासार रहेको छ ।
(ख) प्रमुख पात्र र तिनको चरित्र चित्रण ः १. क्रान्ति ः यो नाटकको प्रमुख नायिका हुन् क्रान्ति । क्रान्तिलाई नाटकमा फुलप्रसादकी सहधर्मिणी,राष्ट्रियता,नेपाली जनता र परिवर्तनको प्रतिकको रूपमा नाटककारले प्रयोग गरेका छन । क्रान्तिले सकेसम्म फुलप्रसादलाई राष्ट्रभक्तिबाट च्युत हुन दिन्नन् । तर, अन्त्यमा फुलप्रसादले पनि पैसाको लागि आफ्नो मूल्यमान्यता , आदर्श र राष्ट्रियतालाई तिलाञ्जली दिएपछि उनको केही लाग्दैन । पुच्छारघरेले क्रान्तिलाई बलात्कार गर्छ । हरामीलाल,परमदास र स्वामीभक्त सबै पुच्छारघरेका दानापानी खाएका क्रान्तिघाती खलनायकहरू हुन् । आफू बलात्कार भएरपनि अन्तिम अवस्थासम्म माझघर (नेपाल राष्ट्र) को मायाँ गर्छिन् र, गद्धार फुलप्रसादलाई सराप्छिन् । उनैले भरतसिंहकी छोरीलाई एसिड हानेर भरतसिंहको पहिलो षड्यन्त्रलाई असफल बनाइदिन्छिन् । नेपाल राष्ट्रको अस्मिता रक्षाका लागि आफ्नो प्राण उत्सर्ग गर्न समेत पछि पर्दिनन् । यसरी क्रान्तिलाई स्रष्टाले महान राष्ट्रवादी चरित्रको रूपमा उभ्याएका छन् ।
२ . फुलप्रसाद ः यस नाटकको सहायक मुल पात्र हुन् फुलप्रसाद । उनलाई माझघरे प्रमुखको रूपमा उभ्याइएको छ अर्थात् गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) हुन् माझघरे । क्रान्ति र सिरानघरे चांको साथ सहयोग रहँदारहँदै पनि पुच्छारघरे भरतसिंह (भारतीय साशक÷मोदी) को षड्यन्त्रमा फसेर नेपाली जनता र क्रान्तिलाई धोका दिने धोकेबाज पात्र हुन् । यिनले नेपाली जनतालाइ धोका दिएर गद्धार गरेका छन् । पूर्वप्रधानमन्त्री जस्तै हुन भन्ने लेखकीय निचोड रहेको छ ।
३. भरतसिंह ः उनी पुच्छारघरे प्रमुख अर्थात भारतीय सोशक हुन् । वर्तमान सन्दर्भमा नरेन्द्र मोदी । ऊ माझघर अर्थात नेपाललाइ सधैं आफ्नो पञ्जामा राख्ने शोसक,सामन्त,हेपाहा र दलाल हो । उसले फुलप्रसादलाइ समेत किनेर क्रान्तिलाई बलात्कार गर्छ, नेपाली क्रान्तिलाई तुहाइदिन्छ । अर्को अर्थमा कुख्यात खलपात्र हो भरतसिंह । हत्यारा र बलात्कारी खलनायक हो पुच्छरघरे मालिक भरतसिंह ।
४. भारती ः उनी भरतसिंहकी छोरी हुन् । आफ्नो सौन्दर्यलाइ प्रयोग गरेर आफ्नो बाबुको योजना सफल पार्न सिपालु नर्तकी । फुलप्रसादलाई फुस्ल्याउँन आउदा क्रान्तिले उसको अनुहारमा एसिड प्रहार गरेर कुरुप बनाएर पठाइदिएकी थिइन् । यिनले माझघरे मुली अर्थात नेपालका भूतपूर्व सबै घरमुलीलाइ आफ्नो रूपको प्रयोग गरेर निरन्तर फुस्ल्याउँदै आएकी थिइ ।
५. हरामीलाल,परमदास र स्वामीभक्त ः यी तिनैजना माझघरका अघुवाहरु हुन् । हरामीलाल र परमदास माझघरको पूर्व घरमुली अर्थात नेपालका भूतपुर्व प्रधानमन्त्री हुन् भने स्वामीभक्त मधेशवादी राजनीतिक दलको प्रतिनिधि नेता । उनिहरू तीनैजना माझघरद्रोहीखलनायक पात्र हुन् । भरतसिंहको षड्यन्त्रलाई सहयोग गरेर फुलप्रसादको स्वाभिमानलाइ च्युत पार्न सघाउने,क्रान्तिलाई बलात्कार गराउन भरतसिंहलाई सघाउने खलपात्र हुन् । उनीहरूले माझघरको खोलानाला बेचे,जमिन बेचेर देशलाइ कंगाल बनाएर ब्यक्तिगत सम्पति कमाए । अपबाद बाहेकका नेपालका पूर्वप्रधानमन्त्रीको प्रतिनिधित्व गर्छन् यी पात्रहरूले ।
६. चाङ ः सिरानघरे प्रमुखलाइ चिनको राष्ट्रपति सि को रुपमा उभ्याइएको छ चाङलाई । यिनले माझघरको हितमा काम गर्न प्रेरित गरेका छन् । उनी छिमेकीको हितचिन्तक सुपात्र हुन । माझघर अर्थात नेपालको हितचिन्तक छिमेकीको रूपमा उभ्याइएका पात्र हुन् चाङ ।
यस अतिरिक्त भरतसिंहका केही पहरे,सुसारे र वेश्याहरू प्नि गौण र सहायक पात्रको रुपमा रहेका छन् । यिनको आवश्यता अनुसार आंशिक भूमिका रहेको देखिन्छ नाटकमा ।
(ग) दृश्य संयोजन र द्वन्द्व विधान ः प्रस्तुत नाटकमा जम्मा छ वटा दृश्यहरु रहेका छन । अङ्कको व्यवस्था गरिएको छैन । यसर्थ यो एकांकी नाटक हो । तीनवटा घरका घरमुलीको दलानलाई नै मुख्य स्थान बनाएर दृश्यहरूको संयोजन गरिएको छ । नाटकका विभिन्न तत्वहरुमध्ये द्वन्द्व एक महत्वपूर्ण तत्व हो । द्वन्द्व विधानका दृष्टिले हेर्दा यो नाटक सामान्यत ः सफल नै रहेको देखिन्छ । दोस्रो दृश्यमा भरतसिंहकी छोरी भारतीको अनुहारमा क्रान्तिले प्रहार गरेर कुरुप पार्नु नाटकको प्रथम शारीरिक द्वन्द्व हो । त्यस पछिको कथानक विकास क्रममै अघि बढ्दै गएर छैटौं दृश्यमा भरतसिंहले क्रान्तिलाई खुल्लेआम बलात्कार गर्नु,त्यो क्षण फुलप्रसाद बिक्नु,हरामीलाल,परमदास र स्वामीभक्तले भरतसिंहलाइ सघाउँनु आदि घट्नामा पुगेर द्वन्द्वले क्लाइमेक्स चुमेको देखिन्छ ।प्रस्तुत नाटककमा यो सारिरिक द्वन्द्वको क्लाइमेक्स त हुँदै हो, त्यो भन्दा पनि विचार पतनशिलता,माझघरे मुलिहरुको चरित्रहीनता,घरभक्ति भावको खडेरीयुक्त मानसिक द्वन्द्वको पनि चरम उत्कर्षता रहेको छ । यसरी यो नाटकमा नाटककारले द्वन्द्वलाई सार्थक रूपमा प्रयोग गर्न सफल रहेका छन् । नाटक दुखान्त मोडमा पुगेर टुंगिएको छ । यो वीरेन्द्रमा रहेको नाट्यशिल्पीको नमूना हो ।
(घ) भाषा,शैली र संवाद ः यस नाटकका भाषा शैली पात्रको चेतना सुहाउँदो स्तरीय खालको देखिन्छ । कतिपय अवस्थामा आगन्तुक शब्दहरूको यथोचित प्रयोग भएको भेटिन्छ । राजनीतिक विषयमा लेखिएको नाटमा प्रयोग हुने भाषा शैली र सम्बादमा पनि त्यही विषयका शब्दहरुको अधिक प्रयोग हुनु पर्ने हो, तर त्यस्तो नदेखिएर औसत सन्तुलित खालको देखिनुस्रष्टामा रहेको भाषिक खुबी र नाट्य लेखनमा झल्किएको निपूर्णता नै हो ।
नाटकमा हुनपर्ने अर्को मानक तत्व संवाद हो । यस दृष्टिले हेर्दा यस नाटकमा प्रयुक्त संवादस्तरीय छ । कतै लामो र कतै छोटा संवाद रहेका छन् । परिस्थिति र विषय सापेक्षता हुने गरी उखानको प्रयोग पनि भएका छन । यसरी समग्रतामा हेर्दा यस नाटकमा प्रयोग भएका भाषा,शैली र संवाद शुद्ध,स्तरीय र सरल रहेको देखिन्छ ।
(ङ) रंगमञ्चीय दृष्टिमा ः नाटकलाई जब रंगमञ्चमा प्रस्तुत गरिन्छ , तब मात्र पूर्णता पाउँछ । यो नाटक अहिलेसम्म रंगमञ्चमा प्रस्तुत भएको छैन । रंगमञ्चमा लैजाँदा कही परिमार्जनको आवश्यता हुन्छ । यस नाटकमा पनि परमार्जनको खाँचो देखिन्छ । यसमा विषयको गाम्भिर्यतालाई हेर्दा थोरै दृश्यको संयोजन भएको छ भने पात्रहरु प्नि सीमित छन् । आफ्नो उद्देश्यमा तिनलाई नाटककारले अर्थपूर्ण रूपमा उभ्याएका छन । संवाद छोटो रहेका छन् । स्थानको छनौट र परिवेश निर्माणमा पनि सहजता होस् भन्नेतर्फ स्रष्टाले उचित ध्यान पुर्याएको देखिन्छ ।
एकजना नाट्यस्रष्टाले नाटक लेख्दा उसले आफूमा लेखक,नायक,खलनायक,निर्देशक,दर्शक र समीक्षक व्यत्तित्वलाई एकसाथ समाहित गराउँन पर्छ । यो आफैमा कठिन काम हो । यसर्थ अन्य विधाको तुलनामा नाटक थोरै लेखिन्छ ,स्रष्टा थोरै हुन्छन् । प्रस्तुत नाटकको छैंटौं अर्थात अन्तिम दृश्यलाइ रंगमञ्चमा लैजादा केही समस्या आउने देखिन्छ । क्रान्तिलाई भरतसिंहले खुलमखुला बलात्कार गरेको दृश्यलाई परिमार्जित रूपमा मात्र देखाउन सकिन्छ भने नाटकका अन्य दृश्यलाइ निर्देशकको योजना र निर्देशनमा कलाकारले सहज रुपमा प्रस्तुत गर्न सक्छन । यसरी रंगगमञ्चीय दृष्टिमा पनि यो नाटक सार्थक देखिन्छ ।
(च) निचोड ः यो वर्तमान सन्दर्भमा लेखिएको एउटा ससक्त नाटक हो । राजनीतिक विषयमाथि लेखिएको नाटकले नेपाली नाट्य साहित्यमा नयाँ शैलीका साथ नेपाली राष्ट्रियता बारे चेतना संप्रेषण गरेको छ । नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता,स्वतन्त्रतामाथि आदिदेखि आजसम्म पुच्छारघरेको प्रत्यक्ष÷परोक्ष्य हस्तक्षेप रहेको तथ्यलाई प्रष्ट्याउँनु,माझघरेहरूको चारित्रिक मनोदशालाई उजागर गर्नु र सिरानघरेको सकारात्मक भूमिकालाइ देखाइनु र नेपालको स्वतन्त्रता,क्रान्तिलाई बचाइराख्न पर्छ भन्ने लेखकीय धेयलाई सत्यापति गरेको छ । पृथ्वीनारायण शाहको विश्लेषणमा नेपाल दुई ढुंगाबीचको तरुल थियो,हो । वर्तमान माझघरेहरूको समाख्यानमा नेपाल सेतु हो भने नाटककारको दृष्टिमा अपहेलित माझघर हो । सतीको श्राप परेको नेपाल ,थोक्लिहाङ्को नजरमा क्रान्तिले सरापेको माझघर हो । नाटकको सिद्धान्त र तत्वको आलोकमा राखेर हेर्दा वीरेन्द्रकृत यसरी तुहिन्छन् क्रान्तिका सपनाहरू नमक एकाङ्की नाटक नेपाली नाट्य साहित्यको पछिल्लो कालखण्डमा लेखिएको एक शक्तिशाली नाटक हो । राजनीतिक विषयमा लेखिएको नाटक भएर पनि कलायुक्त बिम्ब र प्रतीकको प्रयोगले बनेको सुन्दर नाटक हो । रं्गमञ्चीय मझेरीमा उभ्याउँदा सुबासना छर्न सक्ने नाटक हो । वैचारिक कसिमा दाँज्दा प्रगतिशील,राष्ट्रवादी कित्तामा बरपिपल जस्तो प्रष्ट देखिने प्रगतिशील नाटक हो । यसरी पाँचथरको नाट्य साहित्यको इतिहासमा वीरेन्द्र थोक्लिहाङ ससक्त रुपमा देखा पर्नु आफैंमा सुन्दर पक्ष हो । खगेन्द्र संग्रौलाबाट सुरु भएको पाँचथरको नाट्य साहित्यको मूल बाटोमा उभिन आइपुगेका नाटककारलाइ म हार्दिक स्वागत र सम्मान गर्छु । वीरेन्द्रको नाट्यकारिताले निरन्तरता पाओस, शुभकामना भन्छु र नाटक बारे आफ्नो विचारलाई यही बिट मार्छु ।