इलाम । इलामको देउमाई नगरपालिकामा कार्यरत सुरक्षाकर्मीलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको छ । पालिकाको इलाका प्रहरी कार्यलय मंगलबारेमा कार्यरत प्रहरी निरिक्षकमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय इलामका कोभिड–१९ फोकल पर्सन विमल बरालले जानकारी दिए ।
उनले भने, २७ वर्षका पुरुष गएको साउन १९ गते विरगञ्जस्थित आफ्नो घर पुगेर कार्यक्षेत्रमा फर्किएका थिए । फर्किएपछि गएको साउन २८ गते स्वाब संकलन गरी परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको हो । थप एक जनासँगै इलाममा हालसम्म संक्रमितको संख्या ८२ पुगेको छ ।
कोरोना पुष्टि भएपछि पालिकाको केन्द्र मंगलबारे बजार सहित ५ वटा वडा सिल गरिएको छ । आज राती १२ बजेबाट लागु हुनेगरी पालिकाको ३,४,५,८ र ९ वडाका क्षेत्रमा सिल गर्ने निर्णय गरेको छ । संक्रमितको कन्ट्रयाक ट्रेसिङ्गको आधारमा गरिएको स्वाब संकलनको परीक्षण रिपोर्ट नआएसम्म सबै वडा सिल नै रहने कोरोना रोकथाम तथा नियन्त्रण आपतकालिन समितिको आज बसेको बैठकले निर्णय गरेको हो ।
नगरले आजैबाट लागुहुने गरि देउमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा शाखा कार्यालय ,वडा कार्यालयहरू, नगरपालिकाको क्षेत्रमा रहेका सम्पूर्ण सरकारी कार्यालय,बैंक वित्तीय कार्यालय सहकारी तथा सम्पूर्ण सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक सेवा देखि बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
यस्तै मंगलबारे प्राथमिक स्वस्थ्य केन्द्रको आपतकालिन सेवादेखि बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । नगरले उक्त विषम परिस्थितिमा सम्पूर्ण नगरबासीलाई अत्यावश्यक काम देखिबाहेक घरबाहिर ननिस्कन तथा निस्कनुपरे सुरक्षाको मापदण्ड पालना गर्न समेत अनुरोध गरेको नगर प्रमुख सूर्य पोखरेलले बताए ।
यता इलाम नगरपालिकामा रहेको मालपोत कार्यलय, नापी कार्यलय र शिक्षा विकास तथा समन्वय इकाई इलामले भने नियमित सेवाहरु सञ्चालन गर्ने भएको छ । साउन २३ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र इलामको वैठकले भदौ १ गतेबाट कार्यलयका सम्पूर्ण सेवाहरु उपलब्ध गराउने निर्णय गरेको हो ।
कन्ट्रयाक ट्रेसिङ्गका आधारमा स्वाब संकलन गरी पठाएको परीक्षण रिपोर्ट सबै नेगेटिभ आएकाले संक्रमणको जोखिम न्यून रहेकाले सबै कार्यलयले सेवा सुचारु गर्नु पर्ने बताइएको छ । तोकिएको स्वास्थ्य तथा सुरक्षा मापदण्ड भने सबैले अपनाउनु पर्ने बैठकको निर्णयमा उल्लेख छ ।
सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणका २२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएसँगै गएको साउन १९ गते यी कार्यलयका सम्पूर्ण सेवा बन्द गरिएको थियो ।


368 पटक हेरिएको 






