रुपैयाँमा करोडको गुणन गरेर
सयको नोटमा कर्मको चित्त साटेर
भोकले लखतरान भएपछि
पाइला बेजोडले घिसार्दै तानेर
बासस्थान जाँदैछु म
मसँगै हिंड्ने कुकुर
जो मेरो गन्ध थाहा पाउने बित्तिकै
आधा बाटोसम्म मलाई लिन आइपुगेको छ
अघिका अनेकौं साँझ झै
बिछ्यौनामा पल्टिनुअघि साथीलाई
भोकै सुताउन मन छैन
क्वाँ क्वाँ गरेको आवाज सुन्छु
कतै सारथीलाई कसैले गोद्यो कि जस्तो लाग्छ
बरु आफ्नै हातले पो थाहा पाउँछ
अघि कराएको त आफ्नै भुँडी पो हो
आधा पेट अघाएर झिसमिसेमै निस्केको
पेटलाई किन मभन्दा अघि भोक लाग्छरु
म पो करोडको हिसाबमा हराएँ
उसको जाँतोले केही अन्न
पिस्न नपाएको अठार घण्टा बित्यो
करोडको कथा लेखियो
लाखको त भाषणै छाँटियो होला
तीसको चाउचाउ नपाएर
ज्यानै थर्किने गरी कराउने भुँडीको
बुचो लाउनु छ जसोतसो आजलाई
तर आधा बाटोसम्म लिन पुग्ने उसलाई
ननभेज बाहेक अरु मन पर्दैन
दूधभातमा पनि चित्त बुझाउने नै हो
आज न उसलाई दूध भात छ, न त ननभेज ।
ख्याम भुजेल
कन्याम इलाम