इलाम । कोरोना महामारीका कारण लकडाउन हुँदा अधिकांश व्यक्ति फूर्सदिला थिए । कोही चाहिँ तनावमा । तर इलाम नगरपालिका–३ का गणेश सुनुवार भने साह्रै व्यस्त । उनलाई न कोरोना भाइरसको डर थियो, न त काम पाइन भन्ने पीर नै । किसान हुनुको फाइदा नै यसमै छ, सधैं व्यस्त रहनु ।
हुन त गणेश पनि कामकै खोजीमा मलेसिया गएका थिए । कमर्सियल बुक कम्पनी भित्र फोल्डिङ्ग मेसिन चलाउनु पथ्र्यो । जहाँबाट किताब कापी छापिन्थ्यो । कम्पनीले दिने तलब एकदमै कम । ओभरटाइमको ड्युटी नगरी धरै थिएन ।
सात घण्टासम्म ओभरटाइममा खटिंदा बल्ल उनको मासिक कमाई २८ हजार हुन्थ्यो । तर कहिले के त कहिले के । परदेशको कमाइ बढ्नु भन्दा पनि घट्दै गयो । दुःख बढी, तर कमाई कम भएपछि उनी विदेशको मोह त्यागेर नेपाल आए ।
८ घण्टा नियमित र ७ घण्टा ओभरटाइम गरेर विदेशमा १५ घण्टा काममा जोतिनु पर्ने गणेशलाई स्वदेशमा आफ्नो मालिक आफैं भएपछि भने हाईसञ्चो भएको छ । दिनको कहिले ७ घण्टा, कहिले ५ घण्टा मात्रै खटिनु पर्छ । कुनै दिन अल्छी लागे कामै नगरी पनि बित्छ । यति परिश्रमले नै विदेशमा झैं महिनैपिच्छे रकम देख्न नपाए पनि नेपाल बसाईमा गणेश सन्तुष्ट छन् । यति मात्रै होइन आफ्नै खेतबारीमा आफ्नो पसिना बगाउन पाउँदा भने उनलाई साह्रै गर्व लाग्छ । ‘किसान हौं, पसिना बगाएर बाँच्नमै आनन्द मान्छौं,’ गणेशले खुशी हुँदै भने ।
परदेशबाट फर्कंनासाथ केही वर्ष त अन्यौलमै बिते । के गर्ने भनेर बाटो पहिल्याउन गाह्रो भयो । तर उनलाई देशमै बाटो देखाउन परिवारको साथ मिल्यो । पारिवारिक सल्लाहबाट तरकारी खेती गर्ने योजना बन्यो । योजना अनुसार नै २०७२ बाट तरकारी खेती सुरु गरे गणेशले । काम सुरु गरेकै वर्ष ५० हजार रुपैयाँ कमाई भयो । दोस्रो वर्ष भने घाटा लाग्यो । कमाई हुँदा काममा जाँगर लाग्छ, तर घाटा लागेपछि धेरैले बाटो फेर्छन् । तर गणेशले त्यसो गरेनन् । व्यापारमा नाफा घाटा सहन तयार भए उनी ।
पहिले अरुकै बारीमा खेती गरेका गणेशले २०७५ बाट भने आफ्नै बारीमा नै खेती सुरु गर्न थाले । त्यसपछि तरकारी खेतीसँगै गाई पालन पनि सुरु गरे ।
लकडाउनकै समयमा पनि गणेशले १२ क्वीन्टल बन्दा र १३ मन आलु बेचे । बढीमा ३० र कममा १५ रुपैयाँ प्रतिकिलो बेचेको बन्दालाई यस वर्ष भने मुस्किलले बढीमा ८ र कममा ५ रुपैयाँमा बेच्नु पर्यो । देश नै लकडाउनमा भएका बेलामा त्यही भए पनि कमाइ भयो भनेर सन्तुष्ट भए उनी । गणेशले भएको कमाइमा नै चित्त बुझाए ।
गणेशको गोठमा पाँच वटा गाई छन् । उनले दिनमा १० लिटर दुध बेच्छन् । लकडाउनका समयमा उनलाई फुर्सदिलो व्यक्ति कहिल्यै बन्न परेन । तरकारीबारी र गाई गोठमै दिन बित्यो । उनी भन्छन्, ‘काम पाइएन, जागिर खाइएन भन्ने पीर छैन, परिवारको साथ पाएको छु, धेरथोर कमाएको पनि छु खुसी छु ।’
परिवार र आफू टाढा रहेर दुई चार हजार कमाउनु भन्दा सपरिवार आफ्नै माटोमा रमाउन पाएकोमा गणेश सन्तुष्ट छन् । उनकी श्रीमती गोमा सुनुवारले मात्रै होइन, अहिले जेठी छोरी आरती र माइली छोरी आराधनाले समेत काममा सहयोग गर्छन् । परिवारका सदस्यले काममा सघाउँदा काम गर्न सजिलो मात्र भएको छैन, सबै भन्दा ठूलो कुरा त गणेशको मन खुसी भएको छ ।
परिवार र आफू टाढा रहेर दुई चार हजार कमाउनु भन्दा सपरिवार आफ्नै माटोमा रमाउन पाएकोमा गणेश सन्तुष्ट छन् । आउँदा दिनमा अझ व्यवसाय बढाउने उनको लक्ष्य छ । गाई थप्ने, खेतीमा मुला, मटर, खोर्सानी, रुख टमाटर लगायतका बाली समेत थप्ने योजना बनाएका छन् ।
गणेशजस्तै, दिनभरी काम गर्नु, पसिना बगाउनु, रात परेपछि सुख दुःखकाबारेमा पारिवारिक गफ गर्नु धनपति ढुङ्गानाको दैनिकी बनेको छ । माइनगरपालिका–१० इलाममा उनको सेरो पशुपालन तथा कृषि फार्म छ । उनीसहित फार्ममा सात जनाको लगानी छ । धनपतिसहित मनबहादुर आले, शेरबहादुर राई, दिपेश भट्टराई, केशव अधिकारी, रामचन्द्र ढुङ्गाना वैदेशिक रोजगारीमा गएर फर्किएका हुन् ।
रामबहादुर आले भने अवकाश प्राप्त शिक्षक हुन् । धनपति सामूहिक बाख्रा पालनसँगसँगै व्यवसायिक तरकारी खेती समेत गर्छन् । अहिलेसम्म फार्ममा दुई लाख ५० हजार रुपैँया खर्च भईसकेको छ । उनीहरुको यही फार्मलाई नै भविष्यको जीउने आधार बनाउने सामूहिक लक्ष्य छ ।
‘नेपाल सरकारले किसानलाई प्रोत्साहन नै दिंदैन, हामी नेपालमा नै केही गर्न खोज्छौँ तर नेपाल सरकार पछि हट्छ अन्ततः कमाईको अन्तिम विकल्प विदेश नै हुन्छ,’ धनपति गुनासो गर्दै भन्छन्, ‘बजेट भाषणमा किसानका लागि रकम छुट्टिन्छ तर हामी किसानसम्म आई नै पुग्दैन ।’
वडा कार्यलयले एक लाख सहयोग गर्ने बचन त दियो । तर लकडाउनले गर्दा पाउने निश्चित भएको रकम पनि गुम्यो । दिने बचनले खुसी भएको मन नपाउँदा भने उनलाई नमज्जा लागेको छ ।
२० वटा बाख्राबाट सुरु गरिएको फार्ममा अहिले ३५ बाख्रा छन् । आधुनिक खोर छ । व्यवसाय डेढ रोपनी जमिन लिजमा लिएर सुरु भएको हो । माइनगरपालिकामा टमाटर, काँक्रा, फर्सी, आलु, बन्दा, सुपारी, अंगुर लगायतका बाली मज्जाले सप्रन्छ ।
विस्तारै यी बालीहरु सबै लगाउने उनको सोच छ । बाख्रापालनका लागि नयाँ घाँसको समेत बीऊ किनेर रोपेको र यसैबाट बीऊ उत्पादन गरी बिक्री गर्ने अर्को योजना हो उनीहरुको ।
धनपति विदेशमा टन्न कमाउने सपना बोकेर २०६० सालमा पहिलो पटक मलेसिया गए । तीन वर्ष बसे र नेपाल आए । दोस्रो पटक भने २०७३ सालमा फेरि मलेसिया नै गए । चार वर्ष बसे । चित्त बुझ्ने कमाई नभएपछि नेपालमै मेहनत गर्ने योजना बोकेर नेपाल फर्के । घर फर्केपछि फाम सुरु गरे । धनपतिको अब देशमा आफू पनि केही गर्ने र अरुलाई पनि स्वरोजगार बनाउने योजना छ ।
अहिले पनि व्यस्तता उस्तै
देउमाई नगरपालिका–१ का मनबहादुर सुनुवार भन्छन्, ‘बल्ल लाग्यो, पैसा कमाउन विदेश नै जानु पर्छ भन्ने छैन ।’ तर आज भन्दा सात वर्ष अघि उनलाई लाग्थ्यो कमाई गर्न विदेश नै जानुपर्छ । विदेश गए मात्र कमाईन्छ । यही सोचले पढ्दा पढ्दै मनबहादुर पढ्नै छोडेर विदेश हानिए । २०७१ सालमा मलेसिया पुगे । दुई वर्ष विदेशमा नै मेहनत गरे ।
विदेश छँदा सुरु सुरुमा ‘ओभरटाइम’ सहित ३७ हजार सात सय रुपैयाँ कमाइ हुन्थ्यो । नेपाल आउन लाग्दा भने ३१ हजार नौ सय मात्रै कमाई हुन्थ्यो । परदेशको कमाई चित्त बुझेन । स्वास्थ्यमा समस्या पनि देखा पर्यो र उनी नेपाल आए । कमाउने बानी बसिसकेको थियो । तर फेरि विदेश जान मनै लागेन । कमाई विना घरमा त्यसै बस्न पनि मनै मानेन ।
समय जस्तो । घाम लागोस् या पानी परोस् । मनबहादुर सधैं व्यस्त नै हुन्छन् । परिणाम जे होस् तर उनीले मेहनत गर्न भने छाडेनन् । योजना बन्यो तरकारी व्यवसाय गर्ने । मनबहादुरले २०७५ सालदेखि २ प्याग काउली रोपेर तरकारी व्यवसाय सुरु गरे । अहिले भने नौ प्याग रोप्छन् । कोरोना महामारी भन्दा अघिसम्म कमाई राम्रो थियो । तर लकडाउन भएपछि भने कमाई ह्वात्तै घट्यो ।
‘लकडाउन भयो, रोपेको तरकारी नबिक्ने भएपछि मूल्यभन्दा पनि बिक्नु ठूलो हो भन्ने लाग्यो र जति मूल्य कम भए पनि बेच्नै पर्यो नि, किसानको छोरोको मेहनत खेर गए नि बीऊको रकम भने फिर्ता ल्याउँछु भनेर बेचियो नि’ मनबहादुर आफ्नो समस्या सुनाउछन् ।
प्रतिकिलो ४५ रुपैयाँमा बेच्दै आएको काउली यो साल भने २० रुपैयाँमा नै चित्त बुझाउनु पर्यो । समय जस्तो । घाम लागोस् या पानी परोस् । मनबहादुर सधैं व्यस्त नै छन् । परिणाम जे होस् तर उनीले मेहनत गर्न भने छाडेनन् ।