दृष्य नं. १
इलाम चोकबजारमा प्रहरीको ड्यूटी चलिरहेको थियो । बिहान आठ बजेको समय एक जना ट्रफिक प्रहरीसहित चोकको वरिपरि तीन जना प्रहरी छन् । त्यहाँ बसेका प्रहरी मध्ये एकजनाको हातमा एउटा रसिद बुक पनि छ । म पनि चोक बजारको पश्चिमपटि एक्लै उभिरहेको छु । त्यसै समयमा १७ ÷ १८ वर्ष उमेरका महिला चोक बजारतिर आईरहेकी थिइन् । हातमा सानो झोला पनि बोकेकी थिइन् । एक अर्कामा गफ गर्दे हिँडिरहेका थिए । जब चोक आईपुग्न लागे एकसाथ दुवै जनाले गोजीमा हात लगाए । गोजीमा मास्क रहेछ । झिकेर लगाए । प्रहरीले पनि देखिरहेको थियो । प्रहरीको नजिकै आएपछि प्रहरीले भन्यो हाम्रा लागि होइन, तपार्इंको सुरक्षाका लागि हो, मास्क । हामिलाई देख्दा मात्र नलगाउनुहोस न । ति महिलाहरु केहि बोलेनन् ।
दृष्य नं. २
सोही स्थानमा मालापथ लाईनतिरबाट एक जना अन्दाजी ४० वर्षका एक पुरुष चोक बजारतिरै आइरहेका थिए । उनले हातमा झोला झुण्ड्याएका थिए । मुखमा मास्क थिएन । सबै प्रहरीको नजर उनैतिर परिसकेको छ । उनी चोकमा रहेको प्रहरी सूचना केन्द्र अगाडि आईपुगे । प्रहरीसँग भेट भयो । ‘दाई एकछिन उभिनुहोस् न ।’ हातको जरिमाना रसिद पल्टाउँदै प्रहरीले भने, ‘तपाईले मास्क नलाई हिड्नु भएको छ १०० रुपैयाँ जरिमाना तिर्नु पर्छ ।’ प्रहरीले त्यति भन्दानभन्दै गोजीमा हात लगाउँदै उनले भन,े ‘उ त्यहि पुगेर आएको गोजिमा छ मास्क ।’ उनले यसो भन्दै गोजीबाट निकालेर कानमा झुण्ड्याउन थाले ।
दृष्य नं. ३
मान्छेलाई भनिकन नलाग्ने रहेछ हाम्रो लागि माक्स लगाउनु पर्ने जसो गर्छन ड्यूटिमा खटेका एक प्रहरीको मुखबाट आवाज निस्कियो । उ सँगै ड्यूटिमा खटेका अर्का प्रहरीले भने उ ति दिदी पनि हेर्नु ल हामीलाई देखेपछि मास्क निकाल्छिन् । नभन्दै उनले भने झंै भयो । अन्दाजी ३४ वर्षकी देखिने उक्त महिलाले पनि प्रहरीलाई देखेपछि मात्रै माक्स लगाइन् ।
दृष्य नं. ४
त्यतिनै बेला पहिले बजार आएका १७/ १८ वर्ष उमेरका महिला तरकारी बोकेको झोला हातमा लिएर फूत्त निस्किन् । अघि प्रहरीलाई देखेपछि लगाएको मास्क अहिले देखिँदैन । प्रहरीले पनि देख्यो फेरी पनि मास्क लगाएका छैनन् । ति महिला एकछिन उभिए र झोलाबाट मास्क निकालेर लगाए ।
इलामको चोक बजारमा केही मिनेट बसेर नियाल्दा देखिने यि त प्रतिनिधि दृष्य र पात्र मात्र हुन । बिहानको समय घरायसी सामान किन्नका लागि पनि बजार निस्कने गर्छन् । कोही दूध किन्न त कोहि तरकारी किन्नका लागि बजार निस्कने हुँदा चोक बजारमा आवतजावत बाक्लै हुने गरेको छ । कोही मास्क लगाएरै हिँडिरहेका छन् त कोही प्रहरीलाई देखेपछि मास्क लगाउने गर्छन् । बिहानको डियूटिमा खटिएका टा«फिक प्रहरी यमुना पोख्रेल भन्छिन् पहिले त धेरै जसो मास्क बिनानै आउने गर्थे तर प्रहरीले कडाईका साथ जरिमाना काट्न थाले पछि त धेरै जसोले मास्क लगाएकै देखिन्छ ।
पछिल्लो समय इलाममा कोरोना संक्रमणको संख्या बढेसँगै प्रहरीले मास्क लगाउन कडाई गरेको छ । तर, पनि धेरैले अँटेर गरिरहेका हुन्छन् । मास्क नलगाउनेलाई प्रहरीले एक सय रुपैयाँ जरिमाना गरी कर्वाही गरिरहेको छ । प्रहरीले ३५ जनालाई कार्वाही गरेर ३५ सय रुपैयाँ जरिमाना उठाएको इलाम चोक बजारका असई डिकशेर राईले बताए । राई भन्छन्, “अहिले त धेरै जसो मास्क लगाएरै हिड्छन् । यहाँ दुईचार जना छन् अलि अटेरी र भनिकन पनि लाग्दैन । अन्य बजार निस्कनेहरु त धेरै जसोले मास्कको प्रयोग गरिरहेका छन् ।
कोरोना संक्रमणको आशंकाले इलाम सदरमुकामका विभिन्न स्थानमा निषेधाज्ञा समेत गरिएको छ । जिल्ला संकट व्यवस्थापन समिति इलामकोे बैठकले कन्ट्रयाक ट्रेसिङ्ग गरी पिसिआरको रिपोर्ट नआएसम्मका लागि इलाम नगरपालिका वडा नं. ७ स्थित उत्तरतर्फ शसस्त्र प्रहरी बल क्यामपदेखि नापी कार्यालय हँुदै मालपोत कार्यालयसम्म तथा दक्षिणतर्फ बाल मन्दिरसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
नवीन चोकदेखि पश्चिम पुरानो ग्रीनभ्यू गेष्ट हाउससम्म तथा अदालत जाने ठाडो बाटोदेखि पूर्वतर्फ अंकित मिष्ठान भण्डार हुदै शिखर फोटो स्टुडियो आसपासका बजार क्षेत्रलाई जोखिम भएको क्षेत्र मानी आवतजावतमा निषेध गरिएको छ ।