इलाम । इलामको देउमाई नगरपालिकामा निजी वनको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पारिवारिक निजि वन सस्थामा आवद्ध किसानका माग समस्याकाबारेमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा ८० भन्दा बढी पारिवारिक निजि वन सस्थामा आवद्ध किसानहरुको सहभागीता रहेको थियो । किसानहरुले कार्यक्रममा आफ्नो कृषि वाली सरह रुखलाई बेच्न पाउनु पर्ने माग राखेका थिए । बनाइएका ऐन नियम नै किसान मारा भएको भन्दै त्यसलाई सच्याउन उनीहरुले माग गरेका थिए । यसका लागि पारिवारिक निजि वन किसान संगठित हुनु पर्ने सबैले माग राखेका थिए ।
सो कार्यक्रममा प्रदेश नम्बर १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री राम बहादुर रानाले भने सम्पूर्ण किसानहरुको समस्या समाधान गर्न लागी परेको बताए । उनले भने,‘केन्द्र, प्रदेशदेखि लिएर स्थानिय तहमा समेत उठेका समस्याकाबारेमा समाधानका लागि प्रस्ताव राख्नेछु ।’
शाखा अध्यक्ष रविन्द्र सुवेदीले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा पालिकाकी उपमेयर पुष्पा राई सस्थाकी सदस्य भुमिका आचार्य, आयोग सदस्य डिक बम्जन, वन कार्यलयका प्रतिनिधि विदुर रेग्मी, निजि वनका किसानहरु देवी प्रसाद गजुरेल, राधाकृष्ण भट्टराई, शोभा अधिकारी लगायतले आ–आफ्नो धारणा राखेक थिए ।
कार्यक्रम इलाम शाखा अध्यक्ष रविन्द्र सुवेदीको अध्यक्षता तथा प्रदेश नम्बर १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री राम बहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


731 पटक हेरिएको 






