इलाम । इलामको सन्दकपुर गाँउपालिका – ५ को जमुनामा अन्तर्राष्ट्रिय फुटबल रंगशालाको निर्माण कार्य धमाधम भईरहेको छ । प्रदेश सरकारको १५ र सन्दकपुर गाउँपालिकाको २० लाख रुपैयाँ लागतमा गजाधर धनमाया रंगशालाको काम धमाधम भईरहेका हो ।
केही समय अगाडी फुटबल खेलप्रेमी, बौद्धिक व्यक्तित्व र जनप्रतिनिधिको पहलमा जमुनामा चन्द्रपाल थेबे ढापपोखरीका नजिकै स्थानीय समाजसेवी तोयानाथ भट्टराईसँग १५ लाखमा १८ रोपनी जग्गा किनेको र बाँकी भट्टराईले निःशुल्क जग्गा दान गरेपछि २५ रोपनी पुगेको बताइएको छ ।
रंगशाला बन्न आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप काम थालिएको गजाधर धनमाया रंगशाला उपभोक्ता समितिका अध्यक्ष उमेश गुरुङले बताए । उनले भने, अहिले प्रदेश र स्थानीय सरकारबाट ३५ लाख, फूटबल प्रेमीबाट एक लाख ४५ हजार र स्थानीयको सहयोगमा ८ लाख रुपैँया संकलन गरी काम भईरहेको छ ।
दुई वर्षमा सम्पन्न गर्नका लागि २५ रोपनी जग्गालाई वडा कार्यालयको माताहतमा ल्याएर रंगशाला निमार्ण कार्य शुरु भएको हो । ‘यति बेला मैदान सम्याउने कार्य भैरहेको र रकम अपुग भएकोले बाँकी कार्यको लागि संघिय र प्रदेश सरकार साथै गाउँपालिकालाई गुहारेका छौं ।’ सहयोग गर्ने भन्ने वचन पनि पाएका छौँ ।’
करिब २ करोड लागत लाग्ने अनुमान गरिएको रंगशालाको लागि १६ रोपनी क्षेत्रफलको १ सय ५ मिटर लम्बाई र ६५ मिटर चौडाइ, ६ रोपनी क्षेत्रफलमा प्लेयर बक्स, फोर्थ अफिसियल र बाँकी क्षेत्रफलमा कङ्क्रिड प्याराफिट बनाउने योजना अनुरुप काम सुचारु भईरहेको छ ।
आगामी २ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको माईभ्याली गोल्डकपपछि सबै भन्दा धेरै दर्शक हुने र यहि चाप बर्सेनि बढेकोले रंगशाला बनाउनु अपरिहार्य रहेको वडा अध्यक्ष जितबहादुर साँवा बताउँछन् ।
उनी भन्छन, ‘जमुना फुटबलको ब्रान्ड भएर पनि वडाको खेलमैदान नभएकोले ३४ वर्षदेखि बर्सेनि भानुदय आधारभुत विद्यालयको खेलमैदानमा खेल आयोजना गर्नु पर्ने बाध्यता थियो तर यो रंगशाला निमार्ण सम्पन्न भए पश्चात भने विद्यालयको मैदानमा फूटबल खेलाउनु पर्ने बाध्यता हट्नेछ ।’
नेपाली राष्ट्रिय फुटबलमा छिरिङ गुरुङ र दर्शन गुरुङले हाल जमुनाबाटै प्रतिनिधित्व गरिरहेकाले पनि इलामको जमुनालाई फूटबल क्षेत्रमा विकास गर्न पनि मैदानको आवश्यकता रहेको सावाँको भनाई छ । यो क्षेत्रबाट दार्जिलिङ नजिक भएको कारण जमुनाका खेलाडी फूटबल खेल्न जाने र महिनौसम्म बस्ने गर्दछन् ।
जमुनामा प्रत्येक वर्ष तिहारको बेला लाग्ने कागे मेला र सो अवसरमा हुने फूटबलमा पनि भारतको दार्जिलिङ र अन्य क्षेत्रबाट धेरै जसो फूटबल टिम आउने गरेका छन् । त्यस कारण पनि इलाममा हुने माईभ्याली पछिको पहिलो फूटबल विकासको रुपमा हेरीएको छ ।
पर्यटकीय क्षेत्रमा फड्को
सन्दकपुर गाउँपालिकाको जमुना पर्यटकिय क्षेत्रका रुपमा पनि विकास भईरहेको छ । यहाँ जिल्लाकै सबै भन्दा ठूलो चन्द्रपाल थेवे ढाप पोखरी पनि रहेको छ जुन निमार्ण भईरहेको रँगशाला नजिकै छ ।
उक्त पोखरी मानव निर्मित हो । पोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । सो पोखरीमा २०७१ मा बाँध बाँधेर पानी जम्मा गर्न सुरु गरिएको थियो । दुई वर्ष अघिदेखि डुङ्गा सञ्चालनमा रहेको र यहाँ पर्यटकको आगमनमा समेत वृद्धि भएको समितिका अध्यक्ष एवम् पूर्व फूटबल खेलाडी विप्लव भट्टराईले बताए ।
उनले भने “पोखरी मात्र यहाँको आकर्षण नभई अन्य पर्यटकिय स्थल पनि रहेको र रंगशाल निमार्ण सम्पन्न पछि विकासमा गा्रमिण क्षेत्रमध्ये जिल्लाकै पहिलो ठाउँ बन्ने पनि उनको भनाई छ” ।
सदरमुकामबाट २१ किलोमिटर उत्तरको जमुना स्थानीयको पर्यटन विकास प्रतिको मोह र सक्रियताका कारण अढाई तीन वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ । यहाँबाट सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारी लगायत क्षेत्रमा आउने पर्यटक पनि पुग्ने गरेका छन् ।