सुपरमाइमा अन्य खोलाको पानी मिसाउन खोजिएको भन्दै आपत्ति

विद्युत आयोजना नै रोक्ने स्थानियको चेतावनी

  सरलपाटी सम्वाददाता

 291 पटक हेरिएको

इलाम । इलामको माइखोलामा निर्माणाधिन सुपरमाई हाइड्रो प्रोजेक्टले अन्य दुई खोलाको पानी मिसानउन खोजेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । परियोजनाको प्रभावित क्षेत्रबाट गठित संघर्ष समितिले परियोजनाको मुुख्य पानीको श्रोत माइखोला मात्रै भएको दावी गर्दै माइखोला आसपासबाट बग्ने इङला खोला र समाह खोलाको पानी प्रयोग गर्न नदिने बताएका हुन् ।

‘स्थानीयबासीसंग कुनै सरसल्लाह बिना पानी प्रयोग गर्न लागिएकोमा हाम्रो गम्भीर आपत्ति छ’, संघर्ष समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यी दुइ खोलाको पानी कुनै पनि शर्तमा परियोजनामा मिसाउन नदिने समितिको निर्णय छ ।’ संघर्ष समितिले इङला र समाह खोलाको पानी ल्याउनका लागि बनाइदै गरेको संरचना तत्काल रोक्न आग्रह गरेको छ ।

संघर्ष समितिले हाइड्रो प्रोजेक्टले लगानी गर्नुपर्ने सामाजिक उत्तरदायित्वको रकमको खर्चको पारदर्शीतामा समेत प्रश्न उठाएको छ । सोमबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले कुनैपनि हालतमा सहायक खोलाको पानी मिसाउन नदिने बताए । ‘त्यसका लागि हामी जनप्रदर्शन देखि कानुनी उपचारसम्मको बाटो रोज्छौ’, संघर्ष समितिका सदस्य हुकुमलाल थेवेले भने,‘हामीलाई मनोवैज्ञानिक त्रास समेत देखाइदैछ ।’

सहायक खोलाको पानी समेत परियोजनामा मिसाउँदा वातावरणीय प्रभाव पर्ने, सिचाईका लागि असुविधा हुने भएकाले अन्य खोलाको पानी परियोजनामा नमिसाउन पटक पटक आग्रह गरेपनि परियोजनाले कुनै सुनुवाइ नगरेको संघर्ष समितिका कुशबहादुर थेवेले बताए । ‘हामीले पटक पटक आग्रह गरेका छौ, केही दिन रोकेको जस्तो गर्नुहुन्छ, फेरी काम थालिहाल्नुहुन्छ’, थेवेले भने ।

संघर्ष समितिका सचिव मानबहादुर गुरुङ्गले परियोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन लगायतको रिपोर्ट माग गर्दा आलटाल गर्ने गरेको बताए । परियोजनाले स्थानीयको सरोकारलाई वेवास्ता गर्ने र अवैध रुपमा अन्य खोलाको पानी मिसाउन खोजेपछि आवश्यकताले संघर्ष समिति बनाएको बताए ।

उनले विकासको नाममा विनास गर्न नदिने बताए । यता सुपरमाई ए हाइड्रो प्रोजेक्टका प्रतिनिधिले भने परियोजनाले आफूखुशी अन्य खोलाको पानी मिसाउन नखोजेको बताए । ‘प्रोजेक्टले आफूखुशी त्यसो गर्न सक्दैन, ती दुई खोलाको पानी समेत परियोजनाको श्रोत हो बिचमा मिसाउन सकिदैन ।’

९.६ मेगावाटको परियोजनाले एक महिनाअघिदेखि विद्युत उत्पादन गर्दै आएको छ । हिउँदको समयमा मात्रै अन्य खोलाको पानी आवश्यक हुने भएकाले त्यहाँ संरचना निर्माण भइरहेको आयोजनाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार