इलाम । लामो समय पछि लकडाउन खुले पनि इलामका ग्रमिण सडकमा यातायात सञ्चालन हुन सकेनन । चैत्र ११ गतेदेखिको लकडाउन साउन छ गते मध्यरातबाट खुले विगत केही दिनदेखि परेको लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रका अधिकाशं गएको बाढि र पहिराले सडक अवरुद्ध बनेपछि यातायात सञ्चालन हुन नसकेका हुन ।
ठाउँठाउँमा सडकहरू भत्किएका छन् । यातायात सञ्चालन हुन नसक्ने गरी हिलाम्मे छन् । सयौं ठाउँमा खाल्डाखुल्डी भएपछि गाउँ जोड्ने सडक सञ्चालनमा कठिनाई भएको छ । लगडाउनको मार खेपिरहेका ग्रमिण समुदायलाई बाढी र पहिरोका कारण सडक भत्किएर जिल्ला सदरमुकामबाट गाउँपालिकाको केन्द्र पुग्ने गाडी सहजले गुड्न नपाएपछि नागरिकलाई यात्रा गर्न कठिन भएको छ ।
अधिकाँश ठाउँमा सडक भताभुङ्ग भएका छन् । कच्ची सडकहरू भत्किएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिन बन्दै गएको हो ।इलाम सदरमूकामबाट फाकफोकथुम गाउपालिकाको केन्द्र आमचोक, माङसेबुङ गाउपालिकाको केन्द्र चतुरे, माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार, सन्दकपुर गाउँपालिकाको केन्द्र देउराली बजार पुग्ने सडकमा यातायात सञ्चालन नहुँदा स्थानीयलाई समस्या भएको हो ।
माङसेबुङको गजुरमुखी—ईभाङ—चतुरे सडक अन्तरर्गत तिखे गोलाई, खाल्डे, तामाखोला क्षेत्रमा सडक क्षतविक्षत भएर पूर्ण रूपमा बन्द भएको छ । जसका कारण स्थानीय व्यापारीलाई समान ढुवानीमा समेत समस्या परेको छ ।इलामको मङ्गलबारे हुँदै माङसेबुङ गाउँपालिका कार्यालय समेत रहेका इभाङ क्षेत्रमा आउने सवारी साधनहरु स्थानीय फेवा खोलामा बाढीका कारण गजुरमुखीमा नै रोकिएका छन् । फेवा खोलामा पुल नभएका कारण वारीका सवारी साधन वारी नै र पारीका सवारी साधन पारी नै रोकिएका छन् ।
उता भोटेडाँड—इभाङ र माङमालुङ—भोटेडाँडा सडक पनि विगत १० दिनदेखि बन्द हुँदा स्थानीयले सास्ती खेपिरहेका छन् । सडक मर्मतका नाममा स्थानीय, प्रदेश र संघीय सरकारले वर्सेनी लाखौं रकम खर्च गरेपनि वालुवामा पानी सरह बनेको देखिन्छ । हिँउदमा सडक मर्मत गरेपनि वर्षा सुरु हुनसाथ सडक बन्द हुनुले रकमको सही सदुपयोग हुन नसेकेको स्थानीयको गुनासो छ ।
त्यस्तै फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोक बाट उत्तरे पञ्चमी हुँदै चल्ने यातायात गाउँपालिकामै रोकिएको छन । फाकफोकथुम गाउँपालिकाको २,६ र ७ नम्बरको फाकफोक र एकतप्पासम्म पुग्ने सवारी देउरालीमै थन्किएका छन । ४ र ५ नम्मरको फूएतप्पा र लुम्देबाट चल्ने यातायात दोवानमै थन्किएका छन ।उता माईजोगमाई गाउँपालिकाको नयाँबजार हुँदै इलाम सदरमूकाम र सूर्योदय नगरपालिका फिक्कल पुग्ने यातायात गाउँबाटै निस्कन नसकेको पूर्वेलि जिप तथा ट्याक्सि व्यवसायी प्रालि इलामका अध्यक्ष गृष्म सुब्बाले जानकारी दिए ।
उनले भने पहिले बाटोको धेरै भागमा सोलिङ गरिएको थियो गाटि चल्न समस्या थिएन तर अहिले बाटो ठूलो बनाउने कार्यले गर्दा ट्याक्टर चल्न समेत समस्या भएको छ । कतिपय सडक त कालो पत्रेगर्ने योजनाका कारण सोलिङ भत्काएर पनि यातायता सञ्चालनमा समस्या भएको हो । जनप्रतिनिधि आएपछि सिहँदरबारको अधिकार गाउँमा आउछ र विकास हुन्छ भन्ने आशा बोकेका जनता जनप्रतिनिधिले सडकहिउँदमा कटिङर्ने प्रवृतिका कारण विनास हुन थालेपछि निराश बन्न थालेको देखिन्छ । बाटो खन्दा पनि दैनिक गाडि गुड्ने ठाउमा होइन घर घर सम्म पु¥याउन लुच्छातानि हुनेगरेको पाइन्छ ।
लकडाउनले सामान किन्न र बेच्न समस्या भोगिरहेका किसान र व्यापारि लकडाउन खुले पनि बाटो बिग्रिएपछि दैनिक उपभोग्य सामग्रीहरू ढुवानीमा समेत समस्या भएको छ । सडक बिग्रिएकै कारण बजारबाट उपभोग्य सामान गाउँसम्म लैजान र गाउँमा उत्पादित कृषिजन्य सामग्रीहरू बजार पु¥याउन समस्या भएको छ । सडक हिलाम्मे भएको कारण धेरै ठाउँमा गाडी लैजान मुस्किल पर्ने गरेको देखिन्छ । त्यसैगरी बाटो बिग्रिएकै कारण विरामी पर्दा समेत एम्बुलेन्स सञ्चालन नहुँदा घण्टौसम्म स्टेचर र डोकोमा बोकेर अस्पताल पु¥याउनुपर्ने समस्या भएको स्थानीय बताउँछन् ।
सडक स्तरोन्नतिका लागि निरन्तरता भन्दा पनि टूयाक खोले पुग्छ भन्ने सोचाईका कारण यस्तो समस्या आएको अनुमान गर्न सकिन्छ । मर्मत सम्भार नभएका सडकहरूमा ठूला सवारीका साधनसँगै नियमित टूयाक्टहरू जबरजस्ती गरी कुदाउने गरेकाले सडकको अवस्था झनै जटिल बन्दै गएको स्थानीयको भनाई छ ।