इलाम । इलामको माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । इलाम नरपालिकास्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको गएराति उद्धार गरेको हो ।
माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षका लोकबहादुर नेम्वाङ र ३० वर्षका जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
माइजोगमाईको सिरिसे र इलाम नगरापालिका–५ जोड्ने झोलुङगे पुल भन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि दुवै जना फसेको खबर आएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
उनका अनुसार, खबर पाए लगत्तै पुगेको शसस्त्र प्रहरी, नेपाली सेना र स्थानियको सक्रियताले ती दुईको सकुशल उद्धार गरेको हो ।
बढेको पानीका कारण बाढीले जमिन कटान गर्दा दुबै तिरको बीच जमिनमा फसेकाले आपतमा परेकालाई उद्धार गरी आफन्तलाई जिम्मा लगाइएको छ । सकुशल सफल उद्धार गरिएपछि परिवारमा समेत खुशीयाली छाएको छ ।