इलाम । राम्रो भाउ पाउन थालेपछि जिल्लाका अधिकांश क्षेत्रका किसानले किवी खेती गरेका छन् । शुरुवाती लगानी धेरै भए पनि दीगो फाइदा लिन सकिने र सजिलै बेच्न सकिने भएपछि किसान किवी खेतीमा जुटेका हुन् ।
किवीमा लगानी गर्दा राम्रो फाइदा हुने बुझेसँगै घर–घरमै विरुवा उत्पादन गरेर किसान किवीमा लागेका हुन् । जिल्लामै ‘किवी जोन’ निर्माण भएपछि त उत्साह मिलेको छ । देशभित्र नै किवीको माग धेरै रहेकाले यसका लागि प्रोत्साहन गर्नु पर्ने सन्दकपुर–३ का तारामणि खतिवडा बताउछन् ।“देशमा आवश्यक मागको १० प्रतिशत किवी हामीले धानेका छौँ । अरू बाहिरैबाट आउँछ”, लामो समयदेखि किवी खेतीमा लागेका खतिवडा ४० रोपनी क्षेत्रमा खेती गरीरहेको सुनाउछन् ।
कृषकमा खेतीसम्बन्धी जानकारी लिन प्रशिक्षण कम भएको र यसको फाइदाकाबारेमा जानकारी नभएकाले किसान जागरुक नभएको उनको भनाइ छ । “कृषकका लागि आएका कार्ययोजना कृषक सामु आइ नै पुग्दैनन् न त अनु्दान नै आउँछ । त्यसैले धेरै किसानले किवीबारे जानकारी नै पाएका छैनन् ।”
करिब ५०० विरुवा ग्रीन र १०० विरुवा रेड किवी रोप्नुभएका खतिवडाले गएका वर्षमा मात्रै तीन हजार किलो किवी बेचेको बताउछन् । आउँदो वर्षलाई करिब २५ हजार बिरुवा उत्पादन गर्न नर्सरी गरेको खतिवडाले जानकारी दिए । “किवीमा राम्रै आम्दानी हुन्छ त्यसैले धेरै बिरुवा राखेको हुँ ।” खतिवडा भन्छन् ।
बहुवर्षे विरुवा भएकाले सधै खटिरहनु नपर्नाले धेरैले किवी खेती गरेका छन् । यसकाबारेमा किसानले धेरै बुझेकाले उत्साह फैलिएको देउकुमार राई बताउछन् । “माग अत्यन्तै धेरै छ । मैले यसै वर्ष २० हजार बिरुवा नर्सरी गरेको छुँ ।” राईले भने, “सुधारिएको हेवार्ड जातको माग धेरै छ ।”
एक पटक रोपेको बिरुवाबाट ५० वर्ष उत्पादन लिन सकिने भएकाले एकैचोटी धेरै बिरुवा रोप्नु उपयुक्त हुने राईको भनाइ छ । रोग नलागेमा किवीले ३० वर्षसम्म उच्च मात्रामा उत्पादन दिने र त्यसपछि घट्दै जाने राईको भनाइ छ । समुद्री सतहबाट एक हजार २०० देखि तीन हजार मिटरसम्मको उचाइमा खेती हुने किवी इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, तेह्रथुम, काठमाडौँ, भोजपुर, सिन्धुपाल्चोक लगायत जिल्लामा उत्पादन भइरहेको छ ।
गाउँमै शीतभण्डार
किवी भण्डारण गर्न सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका किसान तारामणि खतिवडाले शीतभण्डार बनाएका छन् । चाहेको समयमा बेच्न किसानको सहयोगमा शीतभण्डार बनाइएको हो । करिब रु तीन लाखमा बनेको शीतभण्डारमा १० हजार किलो किवी भण्डारण गर्न सकिन्छ । खतिवडा भन्छन्, “कोल्डस्टोर बनाउँ भन्दा कसैले नसुनेपछि पहिले विदेशमा सिकेको सीपले आफै बनाएको हुँ ।”
गत वर्ष यो शीतभण्डार तीन हजार किलो भण्डारण क्षमताको थियो । स्थानीय स्रोत साधन नै प्रयोग गरेर बनाइएको भण्डारमा छ महिनासम्म किवी राख्न सकिन्छ । “तापक्रम मिलाएर राख्न सक्दा लामो समय रहन्छ ।” खतिवडाले भने, “यसमा म ९९ प्रतिशत सफल भएँ, यो साल पनि सफल नै हुन्छु भन्ने छ ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जोन लागू भएको हो । सन्दकपुर गाउँपालिकाको पाँच वटा वडा र इलाम नगरपालिकाका १, २, ३ र ४ नम्बर वडामा जोन कार्यक्रम लागू भएको पालिकाले जनाएको छ ।
किवी जोन अन्तर्गत किवीका बिरुवामा ५०, प्रयोगशाला सेवामा ८५, कृषि औजार तथा उपकरणमा ५०, साना सिँचाइ पूर्वाधारमा ८५, कृषि व्यवसाय सेवा पूर्वाधारमा ८५ प्रतिशत र शतप्रतिशत प्राविधिक सेवामा किसानलाई अनुदान उपलब्ध गराइन्छ । जोनका लागि आवश्यक ५०० हेक्टर जमिनमा यहाँ खेती गरिएको छ ।
तर जोनबाट अपेक्षाकृत किसानले फाइदा लिन नसकेको किवी जोन अध्यक्ष देउकुमार राईले बताए । तालीम तथा प्रशीक्षणका कार्यक्रम पनि प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेकाले जोनबाट आवश्यकता अनुसार फाइदा लिन नसकिएको अध्यक्ष राईको भनाइ छ ।
इलाममा प्रतिहेक्टर एक दशमलव ५३ मेट्रिक टन किवीको उत्पादकत्व रहेको छ । जिल्लामा ९० प्रतिशत क्षेत्र किवी खेती गर्न सकिने कृषि विज्ञहरूको दाबी छ । जिल्ला भर १५ हजार जति किसान किवी खेतीमा संलग्न रहेको तथ्याङ्क छ ।