इलामको पर्यटन धरमरमा, कहिले तंग्रिएला ?

इलाम अनि पर्यटन

  किरण पौड्याल

 688 पटक हेरिएको

इलाम । देशको प्रमुख पर्यटकीय स्थल श्रीअन्तु । यहाँ सूर्योदय र सूर्यास्त हेर्ने बाह्रैमास घुइँचो लाग्छ । सूर्योदय हेर्ने, अन्तुकै चियाबारीस्थित पोखरी घुम्ने र ‘लोकल’ परिकार चाख्न पर्यटकको आकर्षक क्षेत्र हो–श्रीअन्तु ।

आन्तरिक र बाह्य पर्यटकको गर्मी छल्ने अपयुक्त क्षेत्र पनि हो श्रीअन्तु तर, यतिबेला अन्तुको पहिचान ठिक विपरीत भएको छ । न यहाँ पर्यटक छन्, न होमस्टे सञ्चालक । कोरोनाका कारण बन्दाबन्दी भएपछि अन्तु पूरै बन्द छ । अहिले यहाँ होमस्टे रुग्ने रुगालोदेखि पोखरी हेरविचार गर्ने व्यक्तिबाहेक अरू कोही भेट्टिँदैनन् ।

सधैं ‘व्यस्त’ रहने अन्तुमा शून्यता छाएपछि यसको मार भने पर्यटन व्यवसायीलाई बढी परेको छ । ‘सधैं पर्यटक थाम्न हम्मेहम्मे पर्थ्यो । बिहान बेलुकै घुम्न आउनेको घुइँचोले गर्दा काम गर्न भ्याइनभ्याइ पथ्र्यो ।’ श्रीअन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनबहादुर आले भन्छन्, ‘बन्दाबन्दी भएपछि त पर्यटन भनेर कोही पनि आउँदैन । पूरै सुकेको छ ।’ उनले महामारीका कारण पर्यटकीय क्षेत्र मारमा परेकाले अब पुरानैस्तरमा पुर्‍याउन गाह्रो हुने बताए ।

सधैँ पर्यटकको चापाचाप पर्ने अन्तुमा यस वर्ष भने व्यवसायीको पेसा नै धरमरमा परेको छ । कतिलाई अब साहुको ऋण कसरी तिर्ने भन्ने समस्याले नराम्ररी पिरोलेको छ । स्थानीय सरकारले कर छुट दिनेदेखि बैंकको ऋणमा सहुलियत नदिएमा पर्यटन व्यवसायीमा आर्थिक संकट आउने बताउँछन् अन्तु व्यवसायी संघका सचिव रुद्र घिमिरे ।

‘यहाँ लगानी गर्दा राम्रो हुन्छ भन्ने थाहा पाएर झापादेखिका साथीहरू कटेज खोलेर बस्नुभएको छ,’ उनले भने, ‘न साहुको ऋण तिरेका छन् । न त कटेजको भाडा । होमस्टेको पनि हविगत उही हो ।’ अन्तु मात्र होइन जिल्लाका अन्य पर्यटकीय क्षेत्रको पनि हविगत योभन्दा फरक छैन । हुन त पर्यटकका लागि मुख्य सिजन हो चैत यताको जेठसम्मको समय । त्यही सिजनमा नै बढी आम्दानी हुने गर्दछ । तर, यसपल्ट भने पर्यटन व्यवसायीले यही मौसममा धक्का लागेको छ ।

दैनिक तीनदेखि ४०० सम्म पर्यटक आउने इलाम सन्दकपुर गाउँपालिकास्थित माइपोखरीको पनि स्थिति अन्तुको भन्दा फरक छैन । पर्यटकलाई स्वागत गर्न दैनिकजसो बस्ने गरेका व्यवसायी यति बेला चकमन्न भएपछि व्यवसाय नै बन्द गरेर बस्नुपरेको छ । मुख्य सिजनमा पर्यटक नआउँदा आर्थिक कारोवार ठप्प भएको यहाँका पर्यटन व्यवसायी निमादोर्जे शेर्पा बताउँछन् । “हामीले खोलेर मात्रै पनि भएन । पर्यटक आउनु पर्‍यो । महामारी आउँछ भन्ने डरले व्यवसाय नै बन्द गरेका छौँ,’ उनले भने ।

रामसार क्षेत्रमा सूचीकृत माइपोखरी पर्यटकीयसँगै धार्मिक महत्वका हिसाबले पनि धेरै पर्यटक भेला हुने गर्छन् । आन्तरिक र बाह्य पर्यटकको चापाचाप हुने यो क्षेत्रमा यस पटक भने व्यवसायी नमज्जाले घाटा व्यहोर्नु परेको छ ।

यस्तै, हिमाल हेर्न र गर्मी छल्न दैनिक ६० देखि ७० जनाको हाराहारीमा पुग्ने सन्दकपुर र ढापपोखरी लगायतका पर्यटक नहुँदा सुनसान भएका छन् । प्रदेश १ सरकारले नै प्रमुख गन्तव्यका रूपमा छनोट गरेको सन्दकपुरमा पनि पर्यटक आउन सक्ने स्थिति छैन । पर्यटककै पर्खाइमा बाह्रैमास खुल्ने होटल, होमस्टे र यातायात व्यवसायीलाई ठूलै आर्थिक समस्या आइलागेको यातायात व्यवसायी गृष्म सुब्बा बताउँछन् । ‘यी पर्यटकीय क्षेत्रमा त कोही जाँदैन । पुराना पर्यटक पनि खुलेपछि आउँछौं भन्नुहुन्छ,’ उनी भन्छन्, ‘खासै धेरै फोनपनि आउँदैन । नभए यो सिजनमा जानका लागि दिनानुदिन फानै मात्र आउँथ्यो ।’

उनका अनुसार यसै क्षेत्रमा कार्यरत यातायात व्यवसायीलाई भने सरकारले सहुलियत वा छुट नदिए जीवनस्तर जटिल अवस्थामा पुगेको छ । उनले भने, ‘हामीले सवारीको रुटरपरमिटको पनि रकम छुट पाउनुपर्छ र बैंकले पनि सहुलियत दिनुपर्छ ।’

मुख्य सिजनमा बन्दाबन्दी भएपछि ठूलो घाटा होटल व्यवसायीलाई परेको छ । होटल व्यसायीका अनुसार जिल्लामा बन्दाबन्दीका समयमा ६० ठूला होटलमा प्रतिदिन रु ४० हजारका दरले, मझौला रु २०० होटलमा प्रतिदिन रु २० हजार र साना १९० होटलमा रु छ हजार घाटा भएको बताएका छन् ।

यस्तै, ठूला होटलबाट छ सय जना, मझौलाबाट एक हजार दुई सय जना र साना होटलबाट पाँच सय ७० जना कामदार बेरोजगार रहेको तथ्यांक छ । गएको बर्ष जिल्लामा एक लाख ६३ हजार पर्यटक भित्रिएकामा यस बर्ष दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको थियो ।तर,सिजनमै बन्द भएपछि आधा समेत पर्यटक नभित्रिने पर्यटक व्यवसायीको गुनासो छ । पर्यटन व्यवसायी देवी पौड्यालका अनुसार अब पर्यटन प्रवर्द्धनका काम ‘शून्य लेभल’देखि थाल्नु पर्ने भएको छ ।

के गर्दैछन् स्थानीय तह ?

आर्थिक रूपमा समस्यामा परेपछि अधिकांश पर्यटन व्यवसायीले यति बेला बैंक र स्थानीय सरकारको मुख ताक्न थालेका छन् । बैंकले सहुलियत दरमा ब्याज र स्थानीय सरकारले करमा छुट दिएमा आफ्नो जीवनस्तर उकासिने व्यवसायीको भनाइ छ ।

हुन त चार महीनासम्म शून्य कारोवार हुँदा मुख्य पेशा नै पर्यटन बनाएर बसेका व्यवसायीलाई ठूलै संकट आइलागेको छ । व्यवसायीलाई समस्यामा पारेर पर्यटकीय क्षेत्रमाथि नउठ्ने भएकाले नगरपालिकाले करमा छुट दिन सक्ने बताउँछन् सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई । ‘ठूलै संक्रमण आए हामी व्यवसायीसँग समन्वय गर्न सक्छौँ । तर, अहिले सम्म एउटा होटलबाहेक अरु कुनैले यस्तो गुनासो लिएर आउनुभएको छैन,’ उनले भने ।

उनका अनुसार कोरोनासम्बन्धी जनकारी दिने समितिहरू सीसीएमसी र डीसीएमसीसँग छलफल स्वास्थ्य समस्या आउन नदिने भएपश्चात् मात्र खोल्न सकिन्छ । उनले पर्यटन व्यवसायीलाई सहुलियतका लागि केन्द्र सरकारले ‘पर्यटन प्याकेज’ बनाएकाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार