इलाम । इलामको सुर्योदय नगरपालिका–६ का तेज बहादुर तामाङ ६ वर्षअघिबाट ‘घोडचढी’ व्यवसाय गर्छन् । यही व्यवसायबाट घरपरिवार चलेको थियो । ऋणको किस्ता तिर्दै थिए । वचत पनि होला कि भन्ने आश थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण भएको बन्दाबन्दीले उनको सपना पूरा गर्न त दिएन नै । कमाउने घोडा समेत म¥यो । दुई लाख रुपैयामा किनेको घोडाको ५० हजार ऋण तिरेका थिए । घोडा किन्दा लागेको एक लाख ५० हजार रुपैँया ऋण तिर्न बाँकी हुदाँहुदँै बन्दाबन्दीका बिचमा घोडा म¥यो, अब कसरी ऋण चुक्ता गर्ने भन्ने चिन्ताले पिरोलेको छ उनलाई ।
तामाङलाई घर चलाउन, छोराछोरी पढाउन भारतको विहारबाट किनेर ल्याएको घोडाकै भर थियो । बन्दाबन्दीले ‘घोडचढी’ व्यवसाय बन्द त ग¥यो नै तामाङ्गको परिवारलाई हातमुख जोड्नमा समेत धौ–धौ पारिदियो । ‘घोडचढी’ व्यवसाय बाहेक अन्य कामको बारेमा नसोचेकाले आफूलाई पाल्ने घोडा मरे पनि यहि व्यवसाय गर्ने रहर छ उनको ।
व्यवसाय सुचारु छँदा घोडाले आठ सय रुपैँयाको दाना खान्थ्यो । बन्दाबन्दीका कारण व्यवसाय ठप्प भएपछि भने दुई सय रुपैँयाको दाना मात्र खुुवाउन सकँे । दाना किन्न रकमको समस्या भयो । घोडालाई बाधेको बाधेकै गर्नु परेकोले कसरत पनि भएन । यीनै कारणले ६ महिना अघि मात्रै किनेको तामाङको घोडा मरेको उनको बुझाइ छ । यसअघि तामाङ्गले दुई वटा घोडा किनेका थिए । सानो भयो । पर्यटकले रुचाएनन् । अनि बेचे ।
तेज बहादुरको यहि पेशामा लत बसेको छ । यसैबाट परिवारले सहज जीवनयापन गर्न पाएका हुन् । ‘अब बन्दाबन्दी खुलेपछि पुनः ऋण लिएर अर्को घोडा लिने, अनि लागेको ऋण तिर्ने, ‘के गर्नु ? बाँच्नका लागि रहर त पाल्नै प¥यो नी !’ तामाङले, ‘घोडचढी’ व्यवसायमा अझै भविष्य देखेका छन् ।
महेन्द्र तामाङ्गको भने आफ्नै लगानी भएकोले ऋणबाट जोगिए । तर छोटो समयमा जुन स्थिति झेलेँ, त्यसलाई उनी भुल्नै सक्दैनन् । सुर्योदय नगरपालिका–६ का उनी तीन वर्ष यतादेखि ‘घोडचढी’ व्यवसाय गर्दै जीविका चलाईरहेका छन् ।
महेन्द्रले दिनमा १५ सय कमाई गर्थे । पर्यटकको सिजन हुँदाका भने दुई हजार पाँच सयसम्म कमाई हुन्थ्यो । अहिले बन्दाबन्दी छ । कमाई छैन । हात लाग्यो शुन्य छ । यहि समयमा घोडा पनि म¥यो । ‘घोडा किन्दा लागेको दुई लाख ४० हजार रुपैँया फिर्ता नआई घोडा मरिहाल्यो, कम्ता पीर लागेको छैन नी, भनी साध्यै छैन, महेन्द्र भन्छन् ।’
महेन्द्रको राती दाना खाएर राम्रै सुतेको घोडा विहान अचानक मरेको भेटेका थिए । बन्दाबन्दीले दिनैसम्मको पीडा दियो नी हजुर ! तामाङ्गले गुनासो गरे । यहि व्यवसायबाट चार जनाको पारिवारिक खर्च चलेको थियो । अब पुनः व्यवसायमा फर्कन बन्दाबन्दी कहिले खुल्ला भन्ने प्रतिक्षामा उनी जस्तै ३९ जना व्यवसायी रहेका छन् । यी मध्ये १२ जना वैदेशिक रोजगारीबाट नेपाल फर्केर ‘घोडचढी’ व्यवसाय शुरु गर्नेहरु रहेका छन् । अन्य २७ जनाले भने विदेश जानको लागि भौतारिनै परेको छैन । यो व्यवसाय पालिकावासीको मुख्य आयस्रोत बन्न पुगेको छ ।
कोरोनाले सुनसान कन्याम, व्यवसायी संकटमा
इलामको कन्याम क्षेत्र विशेषगरी शुटिङ, पिकनिक र अवलोकन भ्रमणका लागि प्रमुख आर्कषणको केन्द्र हो । हरेक महिना पर्यटकको खचाखच हुने ठाउँ अहिले सुनसान छ । कन्याम सुनसान हुदाँको प्रत्यक्ष असर यहाँका व्यवसायीमा परेको छ ।
बालबालिका, युवादेखि वृद्धवृद्धासम्मले घोडामा चढ्ने, ट्रली–ठेलामा रहेको विभिन्न जातिय पोशाक लगाउने गर्छन् । मेची राजमार्गमा पर्ने कन्याम चिया बगान क्षेत्रमा ५० भन्दा बढी व्यवसायिक ट्रली–ठेलाका छन् । अहिले भने सुनसान छ ।
सिजन लागेको समयमा एक दिनमा ३९ घोडाले पाँच देखि आठ पटकसम्म पर्यटकलाई घुमाउन पाउने गरेको ‘घोडचढी’ व्यवसायी संघका अध्यक्ष प्रेम तामाङ्गले जानकारी दिए । यस व्यवसायमा एकै घरका दुई जनासम्मले रोजगारी पाएका थिए ।
पर्यटकको पहिलो रोजाईमा सरेसा जातका घोडा
व्यवसायका लागि ल्याइएका कन्यामका अधिकांश घोडा सरेसा जातका छन् । पर्यटकको पहिलो रोजाईमा यहि जातका घोडा मन पराउने भएकाले व्यवसायीहरु ऋण नै लिएर भए पनि यहि जातका घोडा किन्ने गर्छन् ।
व्यवसायीहरुले आफ्नो पेशालाई निरन्तरता दिनको लागि ६० हजार रुपैयाँदेखि दुई लाख ५० हजारसम्मका घोडा भारतका पटना, फारबिसगञ्ज, दार्जीलिङ, विहार लगायतबाट किनेर ल्याउने गरेका छन् ।
साना छोटा जातको घोडालाई भने ३० देखि ५० हजार रुपैयाँसम्म पर्छ । यस्ता घोडा पर्यटकको रोजाइमा समेत नपर्ने भएकाले महङ्गो रकम पर्ने घोडा नै किनेर ल्याउने गरेको संघका अध्यक्ष तामाङले बताए । उनका अनुसार, साना छोटा जातको घोडा ठूलाको दाँजोमा बेइमान हुने भएकाले ठूलो जात सरेसा घोडा नै व्यवसायीहरुले बढी मात्रामा किन्ने गर्छन् । २५ वर्ष अघि फोटो खिचेको १ रुपैयाँ लिएर एउटा घोडाबाट इलामको कन्याममा सुरु भएको ‘घोडचढी’ व्यवसायमा अहिले ३९ वटा घोडा रहेका छन् ।


660 पटक हेरिएको 






