होमस्टे र कटेजमा ताल्चा लाग्यो, बैंकको ऋणले तनावमा पर्यटन व्यवसायी

बन्दाबन्दीको प्रभाव

  किरण पौड्याल

 682 पटक हेरिएको

इलाम। झापाको कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा छन्। इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा सञ्चालन गरेको कटेज लकडाउनमा बन्द गर्नु परेपछि उनी तनावमा परेका हुन्।

दुई वर्षअघि आचार्यले साहु र बैंकको ऋण लिएर भाडामा लिई अन्तुमा कटेज खोलेका थिए। तर अहिले त्यो कटेज लकडाउन सुरु भएदेखि नै बन्द छ । कटेज बन्द भए पनि कटेजको लिज भाडा, बैंकको ऋण र साहुको पुरानो रकमले यतिबेला आचार्यको मन पोल्छ ।

“दुई वर्षअघि मात्र लिजमा लिएको, कमाइ पनि राम्रै थियो”, आचार्य भन्छन्, “अब अहिले त के गर्ने कसो गर्ने भइयो । लकडाउनको समयमा पनि भाडा त लागेको छ । कसरी तिर्ने ?” १५ लाख रुपैयाँ लगानी गरेर आचार्यसहित दुई जनाले कटेल सञ्चालन गरेका थिए। “लकडाउनले गर्दा कटेज त खोल्नै पाएको छैन ।

साहुले केही महिनाको भाडा छुट दिए भनेचाहिँ चलाउन सकिन्छ”, आचार्य भन्छन्।बीस जना क्षमता भएको कटेज चलाएका आचार्यले यो सिजनमा विगतका वर्षमा मासिक खर्च कटाएर ९० हजार रुपैयाँसम्म बचत गर्थे। अहिले कटेज नै बन्द भएपछि दैनिकी चलाउनसमेत सकस पर्दै गएको उनले बताए।

भ्रमण वर्षको समयमा उल्लेख्य फाइदा लिने सोच बनाउँदै गर्दा कोरोनाको समस्याले आजित बनाएको आचार्यको भनाइ छ । दैनिक चारसय हाराहारीमा पर्यटक भित्रिने अन्तुमा पर्यटन व्यवसाय नै ठप्प हुँदा नसोचेको घाटा व्यहोर्नुपरेको होमस्टे सञ्चालक धनबहादुर आले बताउँछन्।

आलेका अनुसार सिजनकै समयमा बन्द गर्नुपर्दा व्यवसायीले ऋणको चर्को ब्याजदर सामना गर्नुपर्दैछ भने पर्यटकीय क्षेत्र पहिलेकै स्तरमा पुर्याउनसमेत समस्या पर्ने भएको छ । मुलुककै प्रमुख पर्यटकीय क्षेत्र श्रीअन्तु सुनसान बनेपछि व्यवसायीले खुलाउन पहल गर्दै आएका छन् ।

महामारीमा होमस्टे र कटेज खोल्दा पर्यटक आए पनि जोखिम बढाउने भएकाले व्यवसायी अन्योलमा परेका हुन् । कटेज खोल्दा महामारी फैलिएमा आफैँले जिम्मा लिनुपर्ने भएकाले पनि खोल्न नसकिएको अन्तु पर्यटन व्यवसायी सङ्घका सचिव रुद्र घिमिरेले बताए।

होमस्टेमा चहलपहल शून्य भएपछि यतिबेला अन्तुका होमस्टेमा रुँगालो मात्र राख्न थालिएको छ । होटलका कर्मचारीसमेत घर पठाएपछि होमस्टे सुनसान हुने गरेको सचिव घिमिरे बताउँछन्।

“कोही इलामका त कोही भारतकै पनि कर्मचारी राखिएको थियो तर अहिले सबै घर गइसके”, घिमिरेले भने, “सधैँ बाक्लो चहलपहल भइरहने यो क्षेत्रमा अहिले सुनसान छ ।”

उनले होमस्टे सञ्चालन गर्न पहल भए पनि महामारी फैलिएमा अझै समस्या आउने भएकाले खोल्न नसकिएको बताए। धेरैजसो पर्यटक गर्मी छल्नका लागि अन्तु जाने गर्छन् तर गर्मीकै सिजनमा बन्द भइदिँदा व्यवसायीलाई धेरै नोक्सान भएको घिमिरेको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार