इलाम । इलामका थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकाको जिल्ला सम्वनय समितिको नयाँ भवनमा बनाइएको क्वारेन्टाइनमा रहेका दुई जनामा बुधबार संक्रमण पुष्टि भएको हो ।
संक्रमित दुई पुरुषसँगै इलाममा हालसम्म १३ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले जानकारी दिइन् । संत्रमित दुई पुरुषहरु गएको असार १६ र १७ गते मलेसिया र साउदीबाट नेपाल आएका थिए ।
२५ र ३५ वर्षका ती पुरुषहरुलाई मोरङ्ग जिल्ला गोठगाँउको पूर्वाञ्चल विश्वविद्यालयमा रहेको कोरोना अस्पताल लगिएको छ । गएको शनिबार २५ जनाको स्वाव संकलन गरी परीक्षण गर्न पठाइएकोमा दुई जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
हालसम्म जिल्लाका पाँच पालिकामा संक्रमण देखिएको छ । जसमा सुर्योदय आठ, इलाम दुई, देउमाई, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा एक–एक जना संक्रमित छन् ।
संक्रमितमध्ये आठ जना भने निको भएर घर फर्किसकेका छन् ।