इलाम । वर्षाका कारण पहिरोले बाटो भत्काएपछि इलामका स्थानिय बाटो बनाउन आफै जागरुक भएका छन् । इलाम नगरपालिकाको वडानम्बर – ३ मा पहिरोले बाटो अवरोध गर्दा ढुवानीमा समस्या भएकाले स्थानिय स्वयम बाटो मर्मतमा जुटेका हुन् ।
सो वडाका स्थानियले बाटो मर्मतका लागि ढाटबारी मैनाडाँडाँ नामक समिति नै गठन गरेको छ । समितिको निणर्य अनुसार, मर्मतमा सहभागी नभए बापत हरेकले तीन सय रुपैयाँ रकम तिर्नु पर्ने नियम बनाइएको समितिका सचिव गणेश सुनुवारले बताए ।
उनले भने, ‘प्रत्येक महिनाको दुई दिन अनिवार्य बाटो मर्मतका लागि स्थानिय जुट्नै पर्छ । यसबाहेक आकस्मिक कार्यका लागि भने तत्काल जुट्नु परे तत्कालै भेला भएर श्रमदानमा बाटो मर्मतका लागि खटिनु पर्ने उनको भनाई छ ।
ढाटबारी मैनाडाँडाँ हुदै फूस्रेभञ्याङ्ग जाने बाटो मर्मतपछि गाडी आवत जावतमा सहज भएको छ । सहज भएसँगै चिया, फलफूल, तरकारी लगायतका उत्पादन वेचविखनमा स्थानियलाई राहात मिलेको छ ।कोरोना भाइरस (कोभिड – १९) का कारण चिया टिपाईको मुख्य सिजनमै बन्दाबन्दी भएकाले चियाको मुना टिपाईमा समस्या भएको थियो । त्यसमाथि पहिरोले बाटो अवरोध गर्दा थप समस्यामा परेको चिया किसान रत्न सुनुवारको भनाई छ ।
इलाम नगरपालिका–३ मा मात्रै १२ वटा चारपाङ्गे गाडी रहेका छन् । पहिरोले बाटो अवरोध गर्दा ढुवानीको समस्या भएकाले स्थानिय आफै श्रमदान गर्दै बाटो मर्मतमा जुटेकाले अहिले यात्रामा सहज भएको स्थानियको भनाई छ । सरकारी लगानी र स्थानिय जनप्रतिनिधिको चासो कम भएका कारण स्थानिय आफै जागरुक भएको समितिको भनाई छ ।
पहिरो र ढुङ्गाले अवरोध भएको बाटो स्थानियको सक्रियतामा हटाएपछि एक हजार घरधुरी लाभान्वित भएको बताइएको छ ।
इलाम नगरपालिका ३ मा रहेको सडकलाई मिलगोलाई विणापाणी सडक वडा कार्यलयसम्म इ.न.पा.३ को आयोजनाले २०७७ जेठ ३१ सम्म सडक मर्मत गरेको थियो । जनसहभागीताबाट ६ लाख २५ हजार र नगरपालिकाबाट २५ लाख गरी ३१ लाख २५ हजार बराबरको खर्च भएको वडाकार्यलयले जानकारी दिएको छ ।