इलामको पत्रकारिता र साहित्यको अग्रणी श्यामकृष्ण श्रेष्ठले यही असार ८ गते हामीबाट विदा लिएका छन् । वि.सं.१९८७ सालमा इलाम बजारमा जन्मिएका श्रेष्ठले इलामको साहित्य र साहित्यिक पत्रकारिताको क्षेत्रमा महत्तवपूर्ण योगदान दिएर गएका छन् ।
इलामबाट उदाएका स्रष्टा नेपाली साहित्यको टाकुरामा पुगेर अस्ताए । आफ्ना युवावयमा उनले इलामलाई कर्म क्षेत्र बनाएर नेपाली साहित्यका बारेमा एउटा जागरण ल्याएका थिए । उनकै नेतृत्व २००९ सालमै इलामबाट घाँसी नामक हस्तलिखित पत्रिकाको सम्पादन÷प्रकाशन गरेका थिए ,। इलामको पत्रकारिताको इतिहासमा घाँसी नै प्रथम पत्रिका हो ।
यो पत्रिका २०१८ सालमा सालमा प्रेसबाट मुद्रित भयो । उक्त अंक इलामको साहित्यमा एक कोशेढुंगाको रूपमा देखा परेको छ । उनले आफ्नै नेतृत्वमा २००९ सालमा
समजग साहित्यिक समूह बनाएर भाषा, साहित्य, कला र साहित्यिक पत्रकारितालाई समूहगत रूपमै संस्थागत गर्ने प्रयास गरेका थिए । त्यो उनको आफैमा ऐतिहासिक महत्तवको काम थियो ।
जीवनका वयस्कवयमा पुगेपछि उनले जागिरे जीवनमा प्रवेश गरे । कामकै शिलशिलामा काठमाडौंलाई स्थायी कर्मक्षेत्र बनाएर नेपाली साहित्यमा साधानारत रहे ।
उनले आफ्नो जीवनमा कविता, निवन्ध र कथा विधामा कलम चलाएर नेपाली साहित्य भण्डारमा स्तरीय रचनाहरु दिएका छनु । मेरो मौन(कविता संग्रह–२०२९), मेरो कवितामा इलाम(कविता संग्रह–२०५९), सम्झनाको संगालो संस्मरण–२०५८), स्वर्गमा कविता गोष्ठि(कविता संग्रह–२०५८) र मेरो जागिरे जीवन यात्रा(संस्मणात्मक आत्मवृतान्त–२०६३) आदी उनका प्रकाशित कृतिहरु हुन् । यस अतिरिक्त उनका थुप्रै फुटकर रचनाहरु विभिन्न समयका पत्रपत्रिकामा छापिएका छन् भने केही कृतिहरु अप्रकाशित रुपमा रहेका छन् ।
आफू काठमाडौंमा वसेपनि मन जति इलाममै हुन्छ, हरेक रात आफूले देख्ने सपनामा आफू इलाममै बसेको र त्यहीका साथी संगीसँग भएको वताउने कवि अब हामी बीच रहेनन् । स्वभाविक रुपमा मान्छे जन्मेपछि मर्छ, यो शाश्वत सत्य हो । यत्तिका सत्य थाहा भएरपनि मान्छे आफ्नो आफन्तको अन्तिम विदाइमा दुखित हुन्छ । विदाइ हुनुका बारेमा सम्बेदित हुन्छ । उसका बारेमा केही बोल्छ । यहाँ मैले पनि त्यही धर्म निर्वाह गर्दैछु सायद सामान्य मान्छेको विदाइमा घाटमै केही भनिन्छ, शोक पुस्तिकामा हस्ताक्षर सम्म गरिन्छ । उसका सन्तानले आ–आफ्नै धर्म संस्कार अनुरुप स्मरण गर्छन् । पार्टीर्पौवा, चौतारा बनाएर वरपीपल रोप्ने प्राचीन चलन गर्नेकै स्मृतिमा गरिएका कर्म थिए ।
आजको बदलिएको सन्दर्भमा मृतकको नाममा गुठी, प्रतिष्ठान बनाउने, उनका नाममा अक्षयकोष राख्ने र स्मृति सन्दर्भमा केही काम गर्ने संस्कृतिको विकास भएको हो । मुलत ःयो संस्कृति स्रष्टा, शहीद र समाजसेवीका नाममा गरिन्छ । राज्यले यस्ता व्यक्तिका नाममा सडकहरुको नामाकरण गर्ने, पुरस्तकार राख्ने देखि हुलाक टिकट प्रकाशन गर्ने जस्ता काम गर्छ । आफन्त या संस्थाहरुको पहलमा स्रस्टाको पहलमा स्रस्टाको नाममा स्मृतिग्रन्थ प्रकाशन गरिन्छ । यसले विदाइ भएर जानेको कृतिमाथि बाच्नेले सम्झिएर गर्ने श्रद्धा कर्म हो । यस्तो कर्मबाट भावी पुस्तालाई समाज, समय र स्रस्टाका बारेमा यथोचित जानकारी मिल्छ ।
हो, निश्चित नै श्यामकृष्ण श्रेष्ठ इलामको पत्रकारिता र साहित्यले चिरकाल पर्यन्त सम्झिने नाम हो । उनको कार्यलाई सम्झिएर केही गर्नेपर्ने नाम हो ।
भौतिक रुपमा उनी हामी बीच नरहेपनि उनका कृतिहरु हामी बीच छन् । तिनै कृतिको आलोकमा कवि हामी बीच बाँचीरहने छन् । इलामको साहित्यिक पत्रकारिताको स्तम्भ हुन्, उनी कविताको एउटा हरियो पहाड हुन् । देशको मायामा उनका सरल तर अर्थपूर्ण शब्दहरु ओकलिएका छन् । देशको मायामा कविता बोलेका छन् । उनका कवितामा शब्दका आडम्बरहरु छैनन्, सरल शब्दमा गहन अर्थप्रदान गर्ने सक्ने सामथ्र्य उनका कवितामा हुने शक्ति र सौन्दर्य हो ।
आत्मपरक निवन्ध लेखनमा पनि उनको वैशिष्टयता रहेको छ । तत्कालीन समाजको दृश्यचित्र उतारिएका हुन्छन् । उनको संस्मणमा आत्मबखान र अतिसयोक्तिबाट टाढा रहेर संस्करण लेख्नु उनको लेखन धर्मिता रहेको देखिन्छ । यस अतिरिक्त कथामा पनि उनको विशिष्ठता रहेको छ । सामाजिक यथार्थवादमा आधारित रहेर सिर्जित छन् श्रेष्ठका कथाहरु ।उनी महाकवि लक्ष्मीप्रसाद देवकोटासँग भौतिक दृष्टिले मात्र निकट थिएनन् । साहित्यिक सामिप्यताका आधारमा पनि नजिक रहेको देखिन्छ । उनका कविता र कथामा देवकोटाका मानवतावाद र प्रगतिवाद झल्किएका हुन्छन् । यसरी हेर्दा कवि मानवतावाद र प्रगतिवादका पक्षपाती देखिन्छन् । इलाममा जन्मेर साहित्य सिर्जना गर्ने स्रस्टामा कवि श्यामकृष्ण श्रेष्ठको स्थान उच्च र स्मरणीय रहन्छ ।
जीवनको लामो कालमा संख्यात्मक रुपमा थोरै कृति नभए पनि उनका कृतिमा गुणको घनत्व आधिक रहेका छन् । यसैको आलोकमा कवि हामीबीच बाँचिरहेका छन् ।
इलामको वाङमय र पत्रकारिताको क्षेत्रमा सदा अजर अमर हुनेछन् कवि श्यामकृष्ण श्रेष्ठ । हामी तपाईंलाई सम्झिरहने छौं श्रद्धेय कवि श्यामकृष्ण श्रेष्ठलाई । अलविदा आदरणीय श्याकृष्ण दाइ ।