
दक्षिण कोरिया/ रोजगारी,शिक्षा,व्यापार लगायत विभिन्न पेसामा दक्षिण कोरियामा कार्यरत धनकुटेलीहरुको साझा सामाजिक संस्थाा धनकुटा सेवा समाज दक्षिण कोरियाले विस्वभर महामारीको रुप लिईरहेको कोभिड -१९ अर्थात कोरोना भाईरस विरुद्ध आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु धनकुटा जिल्लालाई उपलब्ध गराएको छ ।
सामाजिक उदेश्यका साथ स्थापित समाजले केही समय अघि कोरियन चाड छुसकमा आयोजना गरेको धनकुटा सांस्कृतिक सौगात भाग – १ अन्तर्गत उठेको मुनाफा वापतको केही रकम मार्फत विभिन्न स्वास्थ्य सामाग्रीहरू जिल्लालाई उपलब्ध गराएको समाजका अध्यक्ष परदेश राईले जानकारी दिए ।
कोरियाबाट पि.पि.इ.१५० थान, के.एन – ९५ मास्क – २०० थान, सर्जिकल मास्क – ४४०० थान, सर्जिकल पन्जा – ९०० जोर, आई. आर. थर्मोमिटर – ९ थान, ह्नयाण्ड स्यानिटाईजर – ८३ बोतल, सेफ्टी चश्मा – ५० थान, फेस सिल्ड – ११० थान गरेर करिब नेपाली पाँचलाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामाग्री सदरमुकाममा पुगिसकेको छ ।
उक्त स्वास्थ्य सामाग्री धनकुटा जिल्लाको सात वटै स्थानीय तहहरू, नेपाली सेनाको बरख गण, नेपाल प्रहरी , शसस्त्र प्रहरी बल , रेड्क्रस सोसाइटी, जिल्ला अस्पताल, नेपाल पत्रकार महासंघ, धनकुटामा संचालित एम्बुलेन्सका ९ जना चालक, नेपाल विद्युत प्राधिकरण सहित धनकुटाका सबै १५ निकायहरूसम्म पुग्ने गरी नेपाल रेड्क्रस सोसाइटी धनकुटा र नेपाल पत्रकार महासंघ धनकुटा शाखाको समन्वय मा विपद् व्यवस्थापन समिति, सिसिएमसी धनकुटाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्री केशवप्रसाद बिमलीद्वारा सम्पूर्ण जानकारी सहित केहि दिन भित्रै एक औपचारिक कार्यक्रमको बीच हस्तान्तरण गरिने अध्यक्ष राईले जनाएका छन ।
स्मरण रहोस् समाजले यस अघि पनि कोरियामा विभिन्न कारण समस्यामा परेका नेपालीहरु लगायत नेपालमा पनि दैवीप्रकोप लगायत विभिन्न कारणले पीडित व्यक्त्ति र परिवारलाई सहयोग गर्दै आइरहेको छ भने कोरियाको आसान शहरस्थित ओन्याङ ओन्छन रेल्वे स्टेसन नजिकै काम छाडेर बस्ने र अप्ठ्यारामा परेका नेपालीहरुको लागि ३ बर्ष अघिदेखि आवासको व्यवस्था गर्दै आइरहेको छ ।