गेटमा आएर ध्यानाकर्षण पत्र बुझ्न अस्वीकार गर्दा सिडियो विरुद्ध नाराबाजी

किन लगायाे नेपाली कांग्रेसले सिडियाे विरूद्ध नारा

  सरलपाटी सम्वाददाता

 774 पटक हेरिएको

इलाम । नेपाली काँग्रेसले देशब्यापी रुपमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अन्तरर्ग इलामका प्रमुख जिल्ला अधिकारीले ज्ञापन पत्र नबुझेपछि उनी विरुद्ध नाराबाजी गरेको छ ।
कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रण, व्यवस्थित क्वारेन्टाइन, पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने, दश अर्बको हिसाव किताब सार्वजनिक गर्नुपर्ने लगायतका मागहरु राखेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानकर्षण पत्र बुझाउन कार्यक्रम थियो । सोही कार्यक्रम अन्तर्गत जिल्ला स्थित काग्रेसका नेता कार्यकर्ता जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई कार्यालय भवनको गेटमा आएर ध्यानाकर्षण पत्र बुझ्न आग्रह गरेका थिए । तर प्रमुख जिल्ला अधिकारीले कार्यकक्षमा आएर ध्यानाकर्षण पत्र बुझाउन भनेपछि कांग्रेसले प्रमुख जिल्ला अधिकारी विरुद्ध नाराबाजि गरेको हो ।
जिल्ला प्रशासन कार्यालयबाट फर्र्किएको टोलीले पार्टी कार्यालय अघि कोण सभा गरेर इमेल मार्फत प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र पठाएको कांग्रेस सचिव निरोज खड्गीले जानकारी दिए । ‘ध्यानाकर्षण पत्र बुझाउन गएको कार्यकर्ताहरुको संख्या ठूलो भएकाले सामाजिक दुरी कायम राख्नको लागि हामीले गेटमा आएर ध्यानाकर्षण पत्र बुझ्न प्रजिअलाई आग्रह गर्यौ, त्यो नभएपछि सभा हलमा भएपनि ध्यानाकर्षण पत्र आग्रह गरौ उहाँले त्यसलाई अस्वीकार गरेपछि नाराबाजी भएको हो’, सचिव खड्गीले भने, त्यसपछि हामीले इमेल मार्फत ध्यानाकर्षण पठायौ ।’
प्रमुख जिल्ला अधिकारी तुलराम सेडाइले कार्यकक्षमा आएर ध्यानाकर्षण पत्र बुझाउन आग्रह गरेपनि नमानि फर्कीएको बताए । ‘म सेक्युरेटीको मिटिङ्गमा थिए, उहाँहरु आठ दश जनालाई कार्यकक्षमा आएर ध्यानाकर्षण पत्र बुझाउनुहोस भने, उहाँहरु कार्यकक्षमा आउनु भएन ।’ केन्द्रीय कार्यक्रम अनुसार काँग्रेस इलामले १६ बुँदे मागहरु राखेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो ।
ध्यानकर्षण पत्रमा विदेशबाट फर्किन चाहनेलाई सहुलियत खर्चमा नेपाल ल्याउनु पर्ने, कोभिड १९ नियन्त्रणमा सरकारले गरेको खर्चमा व्यापक अनियमितता भएकाले छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने लगायतका माग राखेको छ ।

कांग्रेस इलामले विपतको समयमा स्वास्थ्य सामग्री खरिद, विदेशबाट नागरिकको उद्दार, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरणलगायत विषयमा एकपछि अर्को अनियमितता गरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेसको १६ बुँदे ध्यानाकर्षण पत्रमा कोरोना परीक्षण, क्वारेन्टाइन व्यवस्थापन, कन्ट्राक्ट ट्रेसिङ, अस्पतालको व्यवस्थापन, सामग्रीको आपूर्ति र व्यवस्थापन, अनियमितताको छानबिन र पारदर्शीता, राहत वितरण, विदेशबाट नागरिकको उद्धार, रोजगारी, कृषि र खाद्य सुरक्षा, आर्थिक क्षेत्र, विद्यार्थीको सम्बन्धमा र मनोसामाजिक परामर्श र सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार