इलाम । इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा आगलागी हुदाँ ६५ लाख रुपैँया बराबरको क्षति भएको छ । गएराती अचानक कोही नभएको घरमा आगलागी हुदाँ सोही घरसँग जोडिएका थप दुई घर जलेर पूर्ण रुपमा नष्ट हुदाँ सो बराबरको क्षति भएको हो ।
राती ९ बजेर ५० मिनेट जादाँ बेद कैयाको घरबाट आगो सुरु भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । यसपछि छत्रकुमारी लावर र रुकमेणा प्रधानको दुई/दुई तले घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।
सो आगलागीबाट प्रधानको घर र किराना पसल, लावरको घर तथा कैयाको जुत्ता र कपडा पसलमा क्षति पुगेको इलाका प्रहरी कार्यलय पशुपतिनगर प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए ।
उनका अनुसार, सो घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका सामान समेत जलेको छ । दमकल नहुँदा पानी ओसारेर आगो नियन्त्रणमा लिइएको थियो ।
नामसालिङ प्रहरी चौकी, इलाका प्रहरी कार्यालय नयाँबजार र स्थानीयको सहयोगमा आगो आज विहान करिब ५ः४५ बजे मात्रै पुर्ण रुपमा नियन्त्रणमा लिइएको हो ।