इलाम । जिल्ला बाहिर रहेका इलामबासीलाई बसेकै स्थानमा सात लाख १० हजार रुपैँया बराबरको राहत वितरण गरिएको छ । रोजगारी, अध्ययन, उपचार लगायत विविध कामका लागि जिल्ला बाहिर गएका इलामबासी, दिनदिनै लम्बिदै गएको लकडाउनको मारमा परेकाले घर–घर मै पुगेर राहत वितरण गरिएको हो ।
कोरोना भाइरस (कोभिड –१९) का कारण भएको लकडाउनमा परेर घर फिर्न नसकेका जिल्लाका १० वटै पालिकाका गरी चार सय ६५ परिवारलाई राहत वितरण गरिएको काठमाण्डौँ उपत्यका कोरोना कोभिड –१९ राहत तथा सहयोग समिति इलामका संयोजक राधेश्याम लेकालीले जानकारी दिए । यी मध्ये पुग्नै नसकिने सम्पर्कमा आएका दुई परिवारलाई भने राहत बराबरको रकम बैँक खातामा लगाइ सहयोग गरिएको हो ।
वितरणमा एकदेखि दुई जना सम्म रहेका परिवारलाई १० केजी चामल, तीन जनालाई १५ केजी चामल र चार जनाको परिवार भएकालाई २० केजी चामल सहित दाल, तेल, चिनी, चामल, साबुन लगायत गरी आठ प्रकारका सामान दिईएको संयोजक लेकालीले जानकारी दिए ।
काठमाडौंमा क्रियाशिल इलाम सम्वद्ध संघ संस्थाहरु र सामाजिक व्यक्तित्वहरुको साझा प्रयासबाट राहत सहयोग दिने कार्य सम्पन्न गरेका हौँ । वितरण गरिएका सबै रकम सम्बन्धित जिल्लाबाट सहयोग प्राप्त नभएको तर आउने आशामा रहेको समेत उनले भने ।
लेकाली भन्छन्, ‘विरामी उपचारमा आएका र होस्टलमा रहेर समस्यामा परेकाहरुले समेत भर्खरै सूचना पाएर सम्पर्क गरेकाको समेत नाम संकलन गरी रहेका छौँ ।’ समितिलाई सहयोग प्राप्त भए यसलाई निरन्तरता दिने बताइएको छ । राहत दुई साता अघिदेखि वितरण सुरु गरिएको हो । यो कार्य पहिलो र नमुना भएको भन्दै यसलाई निरन्तरता दिने लक्ष्य रहेको बताइएको छ ।
कोरोना संक्रमण नबढोस् भनी सरकारले गरेको बन्दाबन्दीको समयमा गृहजिल्ला ल्याउदा जोखीम बढ्ने भन्दै जिल्ला बाहिर रहेकालाई सम्बन्धित स्थानमा नै बस्न इलामका १० स्थानिय तहका जनप्रतिनिधि र सरोकारवालाको छलफल गरी आग्रह गरिएको थियो । गृहजिल्ला आउन नपाएर समस्यामा परेकालाई सम्बन्धित स्थानमा नै राहत वितरण गर्न गएको वैशाख १४ गते नै ४१ सदस्यीय सहयोग समिति गठन गरिएको थियो ।
सो समितिको खातामा जिल्ला समन्वय समिति, इलाम र लाहुरे समाज सिंगापुरद्धारा ५०/५० हजार गरी कुल एक लाख रुपैंयाँ रकम यस अघि नै जम्मा गरिएको इलाम नगरपालिकाका प्रशासकिय अधिकृत राम साहले जानकारी दिए।


311 पटक हेरिएको 






