लकडाउनमा एउटा सहप्राध्यापककाे कुलपतिलाई पत्र

लेख

  अरूण नेपाल

 2327 पटक हेरिएको

श्री त्रिवि कुलपति तथा प्रधानमन्त्रीज्यू,

प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाण्डौ, नेपाल ।

विषय : अनलाइन पठनपाठन, आवश्यकता र चुनौति सम्बन्धमा ।

     सर्वप्रथम त आज विश्व नै कोरोना भाइरस बिरूद्ध विश्वयुद्धमा जुटेको समयमा यहाँ पनि नेपाललाई कोरोना मुक्त मुलुक बनाउन सफल बन्नुहोस भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । कोरोनाबाट जोगिनकै लागि नेपाल सरकारले आव्हान गरे बमोजिम त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पनि २०७६ साल चैत्र ६ गते अत्यन्त जरूरी सुचना प्रकाशित गर्दै २०७६ साल चैत्र ७ गतेदेखि चैत्र मसान्तसम्म पठनपाठन बन्द गर्ने निर्णय गर्यो । उक्त अवधिलाई आगामी बर्षे विदाबाट मिलान गर्ने गरी विदामा परिणत गर्ने व्यहोराको सूचना बमोजिम क्याम्पस जान छाडियो । पुनः २०७६ साल चैत्र ९ र २२ गते त्रिविले सूचना जारी गरेरै नेपाल सरकारले तोकेको लकडाउन अवधिलाई दृष्टिगत गरी सो लकडाउन अवधिभर क्याम्पस बन्द हुने जानकारी गरायो । यसरी चैत्र ७ गतेदेखि नै घरमै बसेर कोरोना बिरूद्धको विश्वयुद्ध लडिरहेकै अवस्थामा लकडाउन अवधि थप हुँदै जान थाल्यो । त्यसरी परिस्थिति थप जटिल बन्दै गएपछि त्रिविबाट विभिन्न मितिमा असहज परिस्थितिका सम्बन्धमा विभिन्न अपिल, अनुरोध, सुचना र निर्देशिका जारी हुन थाले ।

उपकुलपतिज्यूको अपिल

लकडाउन अवधि लम्बिदै जाँदा त्रिविका उपकुलपतिज्यूले कोभिड—१९ (COVID-19) द्धारा सृजित परिस्थितिप्रति सबैको ध्यानाकर्षण गर्दै २०७६ साल चैत्र २६ गते तीन पृष्ठ लामो अपिल जारी गर्नुभयो । तीन मुख्य बुँदा र अन्य विभिन्न उपबुँदामा गरिएको अपिलको मुख्य बुँदा नम्बर दुईमा स्थगन गरिएको पठनपाठन र परीक्षालाई सुचारू गर्ने सम्बन्धमा पाँच उपबुँदा उल्लेख गरी शुरूका चारवटा उपबुँदामा अनलार्इन माध्यमबाट वैकल्पिक शिक्षण गर्न वहाँले अपिल गरेको पाइयो । पाँचौं उपबुँदामा चाहिँ स्थगन गरिएका परीक्षाहरू लकडाउनको अन्तपछि सहज वातावरण सिर्जना भएपछि क्रमशः नयाँ परीक्षा तालिका बनाई सञ्चालन गर्ने कुरा उल्लेख भएको छ । यो ध्यानाकर्षण पत्रको प्रमुख उद्देश्य चाहिँ लकडाउनको समय थपिंदै गएपछि त्रिवि उपकुलपतिज्यूले अपिल जारी गरी अनलाइन माध्यमबाट पठनपाठन गर्ने वहसले पैदा गरेका तरंगसँग बढि सम्बन्धित भएकाले यो पत्रमा सोही अनलाइन पठनपाठन सम्बन्धी विषय मात्र उल्लेख गरिएको व्यहोरा कुलपतिज्यूसमक्ष विनम्रतापूर्वक अनुरोध छ ।

     उपकुलपतिज्यूले जारी गर्नुभएको अपिलमा अनलाइन पठनपाठन सम्बन्धी जम्मा चारवटा उपबुँदा छन् । एक, डीन र विभागीय प्रमुखहरूको समन्वय तथा शिक्षक र विद्यार्थीहरूको सहमतिमा संभव भएसम्मका स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहका पठनपाठनहरू तुरून्तै वैकल्पिक शिक्षण विधि (Online) बाट शुरू गर्ने । दुई, अनलाइन माध्यमबाट पठनपाठन गर्दा आवश्यक पर्ने पूर्वाधार विकास, प्राध्यापकहरूलाई चाहिने अभिमुखीकरण तालिम, सहज तथा द्रुत इन्टरनेट उपलब्धताको लागि विश्वविद्यालयले स्रोतको खोजी गर्ने । तीन, अनलाइन माध्यमबाट पठनपाठन गर्न आवश्यक पर्ने नीतिगत निर्णय प्रकृयागत रूपमा अगाडि बढाई निर्णय लिने । चार, अनलाइन माध्यमबाट पठनपाठन गर्न असंभव भएका वा पूर्वाधार नपुगेका वा प्रयोगात्मक कक्षाहरू पठनपाठन शुरू हुने वित्तिकै अतिरिक्त कक्षा सञ्चालन गरी पूर्णता दिने । यहाँ उल्लेख भएका बुँदा विशेष गरेर स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहका पठनपाठनसँग बढि केन्द्रित रहेका तर मैले प्राध्यापन गर्दै आएको क्याम्पस महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाममा स्नातकोत्तर तहमा थोरै विषयमा निकै न्युन विद्यार्थी मात्र भएको र स्नातक तहमा बढि विद्यार्थी भएकाले यो अपिलले मेरो चाहिँ कमै मात्र ध्यानाकर्षण गरेको थियो । लकडाउन थपिदै गएपछि स्नातक तहका विद्यार्थीको समेत पढाइ चौपट हुँदै गएका कुराले मलाई पनि निकै चिन्तित चाहिँ बनाउन थालेकै थियो । यहि क्रममा २०७७ साल बैशाख ८ गते त्रिविका शिक्षाध्यक्षज्यूले त्रिविका विद्यार्थी र क्याम्पस/स्कुल/विभागलार्इ गर्नुभएको अनुरोधले मलाई पनि अनलाइन कक्षाका सम्बन्धमा सोच्न उत्प्रेरित गर्यो ।

शिक्षाध्यक्षज्यूको अनुरोध

     ती दुवै अनुरोधमा यस विषम अवस्थामा कस्तो विधि अपनाई हाललाई विश्वविद्यालयका कक्षा सञ्चालन गर्न सकिन्छ र भावी दिनमा कस्तो विधि बनाउनु पर्ला भन्ने विषयमा अध्ययन गर्न भौतिकशास्त्र केन्द्रिय विभागका प्रमुखज्यूको संयोजकत्वमा एक चार सदस्यीय समिति गठन गरी अध्ययन भइरहेको कुरा उल्लेख गरिएको छ । त्यस्तै विद्यार्थीलाई गरिएको अनुरोधमा कुनकुन विषयमा विद्यार्थीहरूको अध्ययनलाई अगाडि बढाउन सकिन्छ त्यसमा पहल भइरहेकाले सबै विद्यार्थीहरूलाई आफ्नो विभाग/स्कुल/क्याम्पसमा सम्पर्कमा रहनुहुन सूचित गरिएको छ । यस अनिश्चितताको बेलामा पनि बैकल्पिक विधि प्रयोग गरेर जति सकिन्छ, त्यति अगाडि बढ्ने विश्वविद्यालयको योजना रहेको र सोका लागि विद्यार्थीहरूलाई इन्टरनेट प्रयोग गर्न अनुरोध गर्दै आवश्यक सहुलियतका लागि दुरसञ्चार प्रदायकसँग कुरा भइरहेको वा त्यसो हुन नसके शिक्षण शुल्कमा केही छुट दिने कुरा समेत उल्लेख गरिएको छ । साथै विद्यार्थीका कुनै समस्या भए सम्बन्धित शिक्षक वा पदाधिकारीहरूसँग सम्पर्क गरी जानकारी गराउन पनि विद्यार्थीवर्गलाई अनुरोध गरिएको छ ।

     यसरी नै क्याम्पस/स्कुल/विभागलाई गरिएको अनुरोधमा यस अवधिमा आ—आफ्नो पहलमा विभिन्न क्याम्पस/स्कुल/विभागहरूले अनलाइन कक्षा सञ्चालन गर्ने सबैलाई धन्यबाद दिदै ती कक्षाहरू यथावत सञ्चालन गर्न र अरू कार्यक्रमहरूमा पनि क्रमशः अनलाइन कक्षा सञ्चालन गर्ने वातावरण बनाउन अनुरोध गरिएको छ । यसका लागि विश्वविद्यालयले निर्माण गरिसकेको आवश्यक सफ्टवेर केहि दिनमा नै उपलब्ध गराइने र सोका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने जानकारी गराउनुका साथै अनलाइन कक्षा सञ्चालनका लागि तुरून्तै कानुनी व्यवस्था मिलाइने कुरा पनि उक्त अनुरोधमा उल्लेख छ । त्यस्तै सबै क्याम्पस/स्कुल/विभागहरूले आफ्ना शिक्षक र विद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा रहिरहन तथा निरन्तर छलफल गर्न समेत अनुरोध गर्दै विद्यार्थीलाई सम्पर्कमा रहन सार्वजनिक रूपमा सूचित गर्न तथा अनलाइन शिक्षाका लागि विद्यार्थीको विवरण तयार गर्न समेत अनुरोध गरिएको छ । सबै शिक्षक/कर्मचारी निरन्तर सम्पर्कमा रहेर सम्भव भएसम्म घरमै बसेर गर्न सकिने कार्यालयका रोकिएका कामहरू गर्न गराउन पनि अनुरोध गरिएको छ ।

रजिस्ट्रारज्यूको सुचना

     लकडाउनका कारण त्रिविका आंगिक क्याम्पस/कलेज तथा केन्द्रिय विभागहरू बन्द रहेको अवस्थामा विद्दुतीय माध्यम (Online) बाट समेत अध्ययन अध्यापन गर्न सकिने व्यवस्था त्रिवि प्राज्ञिक परिषद्बाट भएको कुरा २०७७ साल बैशाख १२ गते रजिष्ट्रारज्यूले प्रकाशन गर्नुभएको सुचनामा पढ्न पाइयो । त्रिवि प्राज्ञिक परिषद्बाट विद्दुतीय माध्यम (Online) बाट समेत अध्ययन अध्यापन गर्न सकिने व्यवस्थाको कार्यान्वयनका लागि त्रिवि कार्यकारी परिषद्ले तत्कालको अवस्थामा कार्यान्वयनमा ल्याएको “विद्दुतीय माध्यम (Online) बाट गरिने कक्षा सञ्चालन सम्बन्धि निर्देशिका २०७७” बमोजिम कक्षा सञ्चालनको व्यवस्था गर्न सबै डीन कार्यालयहरूमा पत्र पठाइसकिएको कुरा पनि उक्त सुचनामा उल्लेख छ । साथै आ—आफ्नो डीन कार्यालयसँग समन्वय गरी विद्दुतीय माध्यम (Online) बाट कक्षा सञ्चालन गर्नु गराउनु हुन त्रिविका सबै आंगिक क्याम्पस/स्कुल/विभागहरू तथा सम्बन्धन प्राप्त क्याम्पस तथा सम्बन्धित सबै शिक्षक/कर्मचारी/विद्यार्थीहरूलाई समेत उक्त सुचना मार्फत जानकारी गराइएको छ ।

विद्दुतीय कक्षा सञ्चालन निर्देशिका २०७७

     २०७७ साल बैशाख १३ गते “विद्दुतीय माध्यम (Online) बाट गरिने कक्षा सञ्चालन सम्बन्धि निर्देशिका २०७७” प्राप्त भयो । तिन पृष्ठ लामो उक्त निर्दिशिकामा जम्मा तिन मुख्य बुँदा र विभिन्न उप बुँदा उल्लेख गरिएको छ । बुँदा नम्बर एक कक्षा सञ्चालनको पूर्व तयारीका सम्बन्धमा छ । उक्त मुख्य बुँदा अन्तर्गत ६ वटा उपबुँदा उल्लेख गरिएको छ । कक्षा सञ्चालन गर्ने हरेक विभाग, स्कुल, क्याम्पसले गुणस्तरीय इन्टरनेट, ल्यापटप तथा कम्प्युटर/फोन, बैकल्पिक बिजुली समेतको व्यवस्था गर्ने गराउने; विज्ञहरूको समुह बनाउने; एक हप्ताभित्रमा विद्यार्थी, शिक्षकहरूको अवस्था र इन्टरनेट सेवाको पहुँच बारे तथ्यांक संकलन गर्ने; आवश्यक तालिमको व्यवस्था गर्ने; अनलाइन कक्षा केन्द्र स्थापना गर्नेजस्ता कुरालार्इ पूर्व तयारी अन्तर्गतका बुँदामा समेटिएको छ ।

मुख्य बुँदा नम्बर दुईमा कक्षा सञ्चालनका १३ वटा चरण उल्लेख गरिएको छ । उक्त चरण अन्तर्गत अनलाइन कक्षालाई नियमित कक्षा सरह पाठ्यभारमा गणना गर्ने; प्रत्येक कक्षामा विद्यार्थी प्रतिनिधिको व्यवस्था गर्ने; कक्षा तालिका तथा जानकारी सिट अग्रिम रूपमा तयार गर्ने; सम्बन्धित शिक्षकले अनलाइन कक्षा सञ्चालन गर्ने; शिक्षकले आफूलाई सहज हुने अनलाइन प्लेटफर्म प्रयोग गर्ने; अनलाइन कक्षा केन्द्रले सम्पूर्ण विद्यार्थी र शिक्षकहरूको हाजिरी रेकर्ड राख्ने; सम्बन्धित प्राध्यापकले प्रत्येक अनलाइन कक्षाको रेकर्ड गर्नुपर्ने; अनलाइनबाटै अभिमुखीकरण गरी कक्षा सञ्चालन गर्ने आदि लगायतका कुरा समेटिएको छ ।

त्यस्तै आचारसंहिता र कारबाही सम्बन्धि तेश्रो बुँदामा त्रिविका प्रचलित नियमका अतिरिक्त आचारसंहिता सम्बन्धि ८ र कारवाही सम्बन्धि १ उप बुँदा उल्लेख गरिएको छ । आचारसंहिता सम्बन्धि बुँदामा सबै शिक्षक, विद्यार्थीहरूले नियमित रूपमा तोकिएको कक्षामा सहभागी भई अध्ययन अध्यापन कार्यमा सहभागी हुनुपर्ने; विद्यार्थीले शिक्षकहरूसँग सम्बाद गर्दा आदरार्थी शब्दको प्रयोग गर्नुपर्ने; शिक्षकहरूले कक्षा सञ्चालन गर्दा अन्तर्क्रियालाई प्रोत्साहन गर्नुपर्ने; अनलाइन कक्षा सम्बन्धि शैक्षिक सामाग्री, भिडियो इत्यादिहरूको प्रतिलिपी अधिकार सम्बन्धित शिक्षक र निकायमा निहित हुने; सबै शिक्षक, कर्मचारी, विद्यार्थीहरूले व्यक्तिको गोपनियताको हकको पालना गर्ने; शिक्षक विद्यार्थीहरूले अनलाइन कक्षाहरू भएको बेला औपचारिक पोशाकको प्रयोग गर्नुपर्ने; कुनै पनि पूर्णकालीन शिक्षकले विश्वविद्यालयको विभाग, स्कुल वा आंगिक क्याम्पस बाहेक अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुनु नहुने कुरा समेटिएको छ । कारवाही सम्बन्धी व्यवस्था अन्तर्गत कुनै विद्यार्थी, शिक्षक र कर्मचारीले आचार संहिता उल्लङ्घन गरेमा आचार संहिताको प्रकृति, किसिम र मात्रा हेरी विश्वविद्यालयको नियमानुसार कारवाही हुने कुरा उल्लेख छ ।

अनलाइन कक्षा सम्बन्धी प्रतिक्रया

     कोभिड—१९ कै कारण विश्वविद्यालयको पठनपाठन अबरूद्ध भएपछि विश्वविद्यालयले उक्त अपिल, अनुरोध, सुचना र निर्देशिका मार्फत वैकल्पिक उपायका रूपमा अनलाइन कक्षा सञ्चालन गर्ने अवधारणा सार्वजनिक गर्यो । यस्तो अवधारणा सार्वजनिक भएपछि सामाजिक सञ्जालमाफर्त यसका सम्बन्धमा विभिन्नखाले प्रतिक्रिया व्यक्त भइरहेका छन् । विशेष गरेर विश्वविद्यालयका शिक्षक र विद्यार्थीले यस सम्बन्धमा आआफ्ना धारणा व्यक्त गर्ने कार्य जारी छ । प्राप्त केहि प्रतिक्रिया केलाउँदा अनलाइन कक्षा सञ्चालन गर्ने कुरा आफैंमा एउटा उचित कदम भएपनि यसको कार्यान्वयन पक्ष निकै चुनौतिपूर्ण रहेको कुरा धेरैले औल्याएका छन् । शिक्षकहरूले आवश्यक पूर्वाधार, तालिम, ज्ञान, सीप, आदिका अभावकै कारण यस्ता कक्षा सञ्चालन गर्न कठीन हुने कुरा गरिरहेका छन् भने विद्यार्थीवर्गले चाहिँ इन्टरनेटको सहज पहुँच नहुनु, आवश्यक मोवाइल वा ल्यापटपको अभाव हुनु, अनलाइन कक्षा सम्बन्धी आवश्यक ज्ञान, सीप आदिको अभाव हुनु जस्ता कारणले अनलाइन कक्षा सञ्चालन गर्नु आफैमा निकै चुनौतिपूर्ण रहेको धारणा व्यक्त गरिरहेका छन् । यी र यस्ता कयौं चुनौतिका बाबजुद अनलाइन कक्षा सञ्चालनको आवश्यकतालाई पूरै नकार्न नसकिने परिस्थिति कोभिड—१९ ले पैदा गरिदिएको छ । तर अनलाइन कक्षालाई यहि विपद्को घडि टार्ने कुरामा मात्र सीमित नगरी विश्वविद्यालयलार्इ अत्याधुनिक प्रविधिले लैस गराउनुपर्ने एक्काइसौं शताब्दीको मागलाई सम्बोधन गर्ने दीर्घकालीन सोच र दृष्टिकोणकासाथ आवश्यक कदम चाल्ने हो भने अनलाइन कक्षाले सफलताको चुचुरो चुम्न सक्ने सम्भावना समेत देखिन्छ । त्यस्तो सफलता हात पार्न वर्तमान समयमा देखिएको प्रविधिको आवश्यकता र चुनौतिका सम्बन्धमा अलिक घोत्लिएर विचार गर्नुपर्ने चाहिँ देखिन्छ ।

अनलाइन कक्षाको आवश्यकता

     सुचना र प्रविधिको क्षेत्रमा चामत्कारिक फड्को मार्दै अघि बढिरहेको एक्काइसौं शताब्दीमा अनलाइन कक्षा वर्तमान समयको माग र आवश्यकता दुवै हो । संसारका कयौं विकसित मुलुकमा अनलाइन कक्षाको अभ्यास भएको धेरै समय भइसकेको छ । आज कोभिड—१९ को चरम शिकार भएको अमेरीकामा धेरै अगाडिदेखि अनलाइन कक्षा सञ्चालन भएकैले होला यस्तो विषम परिस्थितिमा पनि त्यहाँका विद्यार्थीले अनलाइन मार्फत आफ्नो अध्ययन जारी राखेको पाइन्छ । उनीहरूले अनलाइन कक्षाका लागि हामीले जस्तो कोरोनाको महामारी पर्खिरहनु परेन । सायद त्रिभुवन विश्वविद्यालय पनि अनावश्यक राजनीतिक खिचातानी र अप्राज्ञिक कृयाकलापको शिकार नभएको भए यो विपद्को घडिमा अनलाइन कक्षा सम्बन्धि आधारभुत पूर्वाधारकै अभावमा यति धेरै तड्पनु पर्दैनथ्यो होला । अन्य विकसित मुलकमा झै यतिखेर हामी पनि दनादन अनलाइन कक्षा सञ्चालन गरिराखेका हुन्थ्यौं होला । तर विडम्बना नै भन्नु पर्छ सहज अवस्थामा हामीले हाम्रो विश्वविद्याललाई समयको माग अनुसार प्रविधिमैत्री बनाउन नसक्दा यो विपद्को घडीमा शुन्यबाट काम थाल्नुपर्ने परिस्थिति पैदा भएको छ । अनलाइन कक्षामार्फत घरमै बसीबसी अध्ययन अध्यापन गर्ने कुरामा मात्र होइन कक्षा कोठाभित्रै प्रविधिमार्फत अध्ययन अध्यापन गर्ने कुरामा समग्र शैक्षिक क्षेत्रकै नेतृत्वदायी शिक्षण संस्था विश्वविद्यालय नै निकै दयनीय अवस्थाबाट गुज्रिरहेको छ । अर्थात् विद्यालयहरूमा आधुनिक प्रविधिको अधिकतम उपयोग गरी अध्यापन गर्ने विश्वविद्यालयले उत्पादन गरेका सबभन्दा ताजा जनशक्तिकै अवस्था कस्तो छ भन्ने सवालमा कुलपतिज्यूसमक्ष एक निकै पीडादायी अनुभव पस्कन मन लाग्यो ।

पीडादायी अनुभव

     नेपालकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको स्थापना भए लगत्तै स्थापना भएको महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम पूर्वी नेपालको एक पाको आंगिक क्याम्पस हो । विगत दुर्इ दशकदेखि म यहि क्याम्पसमा प्राध्यापन गर्दै आएको छु । मेरो प्रमुख जिम्मेवारी भनेको आधुनिक विधि र प्रविधिको प्रयोग गरी अंग्रेजी पढाउन सक्ने योग्य जनशक्ति उत्पादन गर्नु हो । यहि शिलशिलामा मेरा विद्यार्थीले चार बर्षे पाठ्यक्रमले तोकेका उद्देश्य पूरा गर्न स्नातक तहको अन्तिम बर्षमा क्याम्पसबाट नजिकका विद्यालयमा गएर तिन हप्ता जति अभ्यास शिक्षण गर्नु पर्छ । क्याम्पसबाट नजिकका र क्याम्पसलार्इ बर्षेनी सहयोग गर्दै आएका त्यस्ता धेरै विद्यालय मध्ये इलामकै निकै पूरानो आदर्श मावि पनि एक हो । अभ्यास शिक्षणका क्रममा मेरा विद्यार्थी पनि उक्त विद्यालय जाने गरेका छन् । विद्यार्थीहरूले विद्यालयमा गएर पढाउन थालेपछि सम्बन्धित विषय शिक्षकले उनीहरूको आन्तरिक र वाह्य कक्षा अवलोकन गर्ने चलन छ । कक्षा अवलोकन गर्ने क्रममा म पनि उक्त विद्यालय जाने गरेको छु । उक्त विद्यालयका केहि कक्षा कोठामा नवीन प्रविधियुक्त बोर्डको व्यवस्था गरिएको छ । आधुनिक विधि र प्रविधिको अधिकतम उपयोग गरेर सफलतापूर्वक अध्यापन गर्ने अपेक्षा गरिएका सबभन्दा ताजा र युवा जनशक्ति त्यो आधुनिक बोर्डको प्रयोग गरेर अध्यापन गर्न असमर्थ हुन्छन् । अनि उनीहरू त्यो आधुनिक बोर्डको छेउमै झुण्ड्याइएको परम्परागत बोर्डमै लेखेर पढाउन बाध्य हुन्छन् ।

यो दृश्य देखेर मेरो मन कटक्क हुन्छ । यसरी आधुनिक ढंगले पढाउन नसक्नुमा ती विद्यार्थी नभएर त्यसरी पढाउन सक्षम बनाउन नसक्ने म शिक्षक दोषी छु भन्ने कुराले मेरो मन भत्भत् पोल्न थाल्छ । आधुनिक प्रविधिको प्रयोग गरेर पढाउने प्रयास गर्नु भन्ने सुझाव लेख्न पनि मलार्इ आँट आउँदैन । किनकि त्यो सुझाव पढेर सरले त्यसरी पढाउन सिकाउनुभएको थियो र ? भन्ने प्रश्न उक्त विद्यार्थीले गरे के जवाफ दिनेहोला भन्ने कुराले पिरोलेर पनि मलार्इ त्यस्तो सुझाव लेख्न आँट आउँदैन । अनि म आफैं निराश हुँदै निकै भारी मन लिएर कक्षा कोठा र स्कुलबाट बाहिरिन्छु । बाहिरिदै गर्दा मनमा अनेक कुरा खेल्छन् । अब चाहिँ क्याम्पसलार्इ जसरी पनि प्रविधिमैत्री बनाउन माग गर्नुपर्यो भन्ने पनि सम्झन्छु । फेरि त्यस्ता कुरा गर्दा उपहासको पात्र मात्र बनिएला भन्ने चिन्ताले सताउन थाल्छ । ती कुरा दुनियाँले मलार्इ खुइल्याउने थप मसला मात्र बन्लान् भन्ने लाग्छ । त्यति मात्र होइन क्याम्पस हाताभित्रै असुरक्षित हुनुपर्ला भन्ने भयले समेत म त्यस्ता कुरा मनमै गुम्स्याउन बाध्य हुन्छु । अनि बर्षैपिछे यस्तै कुरा पुनरावृत्ति गर्दै येनकेन जागिर पकाउँछु । आधुनिक प्रविधिको प्रयोगप्रति विश्वविद्यालय कति उदासिन रहेछ भन्ने सत्य उजागर गर्नका लागि नै कुलपतिज्यूसमक्ष यो पीडादायी अनुभव पस्कने जमर्को गरें । प्रविधिको प्रयोगप्रति यति उदासिन विश्वविद्यालयमा आज कोरोनाका कारण अनलाइन कक्षा सञ्चालन गर्ने वहस भइरहेछ । यस्ता कक्षा कति प्रभावकारी होलान् भन्ने कुरा त भविष्यले नै बताउँदै जाला । तैपनि विश्वविद्यालयमा प्रविधि सम्बन्धि एउटा नयाँ वहस सिर्जना भएको छ । यसरी वहस सिर्जना हुनुलाई नै पनि निकै सकारात्मक कदमकै रूपमा लिनुपर्ने भएको छ । तर यो कार्य कम चुनौतिपूर्ण भने पक्कै छैन ।

जेहोस् कोरोना भाइरसको आतंकले सिर्जना गरेको विषम परिस्थितिमै भएपनि हाम्रो विश्वविद्यालयमा अनलाइन कक्षा सञ्चालन सम्बन्धि सोच पलाएको छ । यो सोचलाई विपद्को समयमा मात्र नभएर सहज परिस्थितिमा समेत टिकाइराख्ने ढंगले तत्कालिन, मध्यकालिन र दीर्घकालीन नीति, योजना र कार्यक्रम सहित अघि बढाउन सकियो भने कोरोना आतंक हाम्रो विश्वविद्यालयको भाग्य र भविष्य चम्काउने एउटा सुनौलो अवसर बन्न सक्ने कुरालाई पनि नकार्न सकिदैन । तर यसका लागि विश्वविद्यालयमा दशकौंदेखि जरा गाडेर बसेका केहि चुनौतिको सामना गर्ने शाहस प्रदर्शन गर्नैपर्ने हुन्छ । यदि त्यस्तो शाहस नदेखाउने हो भने कोरोना भाइरसको आतंक किनारा लागेसँगै अनलाइन कक्षा सञ्चालनको कुरा पनि यसै ओझेलमा पर्ने प्रवल खत्तरा पनि उत्तिकै छ । अनलाइन कक्षा सञ्चालन मात्र नभएर विश्वविद्यालयका हरेक पाटा र पक्षलार्इ नराम्ररी प्रभाव पार्दै आएका त्यस्ता चुनौतिको सामना गर्न स्वयं कुलपतिज्यूले विशेष पहल गर्नुपर्ने कुरा गहिरोसँग अनुभुति भएर नै ती चुनौतिलाई चार बुँदामा सुत्रबद्ध गरी यो ध्यानाकर्षण पत्र मार्फत कुलपतिज्यूको गम्भीर ध्यानाकर्षण गर्न खोजिएको हो ।

चार बुँदे ध्यानाकर्षण

     आधुनिक प्रविधिको प्रयोगप्रति निकै उदासिन त्रिविलाई युग सुहाँउदो प्रविधिमैत्री प्राज्ञिक थलो बनाउने हो भने विश्वविद्यालयमा टक्कराउँदै आएका परस्पर विरोधी तत्ववीच हुने एकता र संघर्षलार्इ गुणात्मक रूपान्तरणमा बदल्नु नै वर्तमान समयमा त्रिभुवन विश्वविद्यालयले सामना गरिरहेको मुख्य चुनौति हो । त्रिविमा दशकौंदेखि टक्कराउँदै आएका प्रमुख चार चुनौतिलाई सम्बोधन गर्ने सहज वातावरण बन्न सक्यो भने त्यसले विश्वविद्यालयको मात्र नभएर प्रधानमन्त्रीज्यूले अघि सार्नुभएको सम्बृद्ध नेपाल र सुखी नेपालीको नारालाई कार्यान्वयन गर्नमा समेत ठूलो प्रभाव पर्ने देखिन्छ । परस्पर विरोधी ती प्रमुख चार चुनौतिलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।

  • त्रिविलाई एक अप्राज्ञिक कि प्राज्ञिक थलो बनाउने ? आजसम्मको अवस्था हेर्दा त्रिविमा घोर अप्राज्ञिक गतिविधि हावी छन् । त्रिविमा अमुक दलका पनि अमुक गुटका मुठ्ठीभर व्यक्तिका आडमा हुने घोर अपारदर्शी पदीय र आर्थिक चलखेलले त्रिवि थिल्थिलो भएको छ । मरणाशन्न अवस्थामा पुगेको छ । यदि विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन खोजियो भने पनि प्रविधि मार्फत शिक्षा क्षेत्रमा गुणात्मक फड्को मार्ने मुद्दा भन्दा पनि तिनै आधुनिक प्रविधिको खरीद् गरेर कति कमिसन खान सकिएला र त्यसरी कमिसन खाने वातावरण बनाउन कुन दलको पनि कुन गुटको कुन व्यक्ति समाएर कुन पद झ्याप पार्नुपर्ला भन्ने प्रवृत्ति चाहिँ हावी होला भन्ने ठूलो भय र त्रास छ । किनकि आजसम्म यहि प्रवृत्तिले त्रिविको हालत यति खराव बनाएको कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ । त्यसकारण अब त्रिविलाई साँच्चै प्रविधिमैत्री बनाउने हो भने सबभन्दा पहिला विश्वविद्यालयलाई प्राज्ञिक थलोका रूपमा परिणत गर्नु एउटा अनिवार्य शर्त नै हुन्छ । त्यस्का लागि यस्ता अप्राज्ञिक गतिविधिको अन्त्य गरेर त्रिविका स्थापित प्राज्ञिक मुल्य मान्यता, ऐन, नियम, विधि र प्रकृया बमोजिम विश्वविद्यालय सञ्चालन हुनेछ भन्ने विश्वास जनजनका मनमा जाग्नु पर्छ । यो कार्य कुलपतिज्यूको शाहसिक र विवेकपूर्ण कदम बिना असम्भवप्रायः छ ।
  • भद्रगोल र अस्तव्यस्त पठनपाठन कि शैक्षिक क्यालेण्डरका आधारमा नियमित तथा व्यवस्थित पठनपाठन ? माथि उल्लेख गरिएको अप्राज्ञिक प्रवृत्तिले जहिल्यै अपारदर्शी ढंगले हुने दलीय, पदीय र आर्थिक लाभलार्इ अर्जुनदृष्टि बनाउने प्रवृत्तिलाई पहिलो प्राथमितामा राख्ने र पारदर्शी ढंगले हुने अध्ययन, अनुसन्धान तथा नियमित पठनपाठनलार्इ दोश्रो प्राथमिकतामा मात्र राख्ने गरेको छ । फलस्वरूप विश्वविद्यालयको पहिचान झल्काउने अध्ययन अनुसन्धान र नियमित पठनपाठन जहिल्यै ओझेलमा पर्दा नेपालका विश्वविद्यालयको शाख यति धेरै गिरेको कुरामा सायदै दुर्इ मत होला । विश्वविद्यालयमा आजसम्म प्रविधमैत्री शिक्षणका लागि आवश्यक पर्ने सामान्य पूर्वाधार समेत खडा नहुनुको चुरो कारण पनि सायद यहि हो । वास्तवमा शैक्षिक शत्रको शुरूमै हुने विद्यार्थी भरना प्रकृयादेखि नै क्याम्पसमा भद्रगोल सिर्जना भई पठनपाठन कार्य अस्तव्यस्त हुने गरेको छ । निश्चित मितिमा भरना प्रकृया सम्पन्न गरी निश्चित मितिदेखि पठनपाठन शुरू गर्ने भनिएपनि आधाभन्दा बढि कोर्श पूरा हुँदासम्म पनि क्याम्पसमा भरना भइराखेको हुन्छ । विद्यार्थी संख्या धेरै हुने कक्षामा समयमा समुह विभाजनसम्म हुन सक्दैन । अब यस्तो अस्तव्यस्त अवस्थाको अन्त्य गर्न शैक्षिक शत्रको शूरूमै प्राध्यापक, कर्मचारी र विद्यार्थीवीच व्यापक छलफल गरेर एक शैक्षिक क्यालेण्डर निर्माण गरी शैक्षिक शत्र शूरू हुनुभन्दा कम्तिमा एक हप्ता अगाडि त्यस्तो क्यालेण्डर प्रत्येक प्राध्यापक, कर्मचारी र विद्यार्थीका हातहातमा थमाएर क्यालेण्डरमा किटान गरिएका आ—आफ्ना जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने वातावरण निर्माण गर्नैपर्छ । यसका लागि विश्वविद्यालयमा हुने अध्ययन अनुसन्धान र नियमित पठनपाठन नै विश्वविद्यालयका प्राण हुन् भन्ने मान्यता जनजनका मनमा उत्पन्न हुने वातावरण बन्नैपर्छ ।
  • चाकडी चाप्लुसी आदि कि तोकिएका जिम्मेवारी पूरा गरे नगरेको आधारमा पुरस्कृत गर्ने थिति बसाल्ने ? अमुक दल वा गुट वा शक्तिको चाकडी गर्ने पात्र र प्रवृत्तिलाई पुरस्कृत गर्ने र तोकिएका जिम्मेवारी इमान्दारपूर्वक पूरा गर्न खोज्ने पात्र वा प्रवृत्तिलार्इ दण्डमात्र होइन खेदोपाइलो नै गर्ने कुसंस्कारले विश्वविद्यालयलाई पूरै गाँजेको छ । अब यो दुर्भाग्यपूर्ण अवस्थालार्इ नउल्ट्याउने हो भने अनलाइन कक्षामार्फत त के परम्परागत रूपमा सञ्चालन हुँदै आएका कक्षामा समेत नियमित रूपमा पठनपाठन हुने अवस्था देखिदैन । क्यालेण्डर निर्माण गरेर पठनपाठन कार्य सुचारू गर्न थालेपछि त्यहि क्यालेण्डरमा तोकिएका जिम्मेवारीको पारदर्शी ढंगले मुल्यांकन गरी प्राप्त परिणामका आधारमा हरेक शैक्षिक शत्रको अन्त्यमा प्राध्यापक, विद्यार्थी र कर्मचारीलाई पुरस्कृत गर्ने थिति बसाल्ने हो भने मात्र तोकिएका जिम्मेवारी पूरा गरी विश्वविद्यालयलार्इ एउटा प्राज्ञिक थलोका रूपमा विकास गर्न सम्भव हुन्छ । यदि यस्तो पारदर्शी थिति बस्यो भने अनलाइन कक्षा सञ्चालनका लागि समेत एउटा सकारात्मक वातावरण बन्न सक्छ ।
  • अझै विश्वविद्यालयलाई उहि पूरानै ढर्रामा परम्परा धान्ने ढंगले मात्र सञ्चालन गरिरहने कि अब एक्काइसौं शताब्दीको माग र आवश्यकता बमोजिम दीर्घकालीन रूपमै प्रविधिमैत्री बनाउने सोच र दृष्टिकोणका साथ अघि बढ्ने ? वास्तवमा कोरोना भाइरसले कावु बाहिरको अवस्था सिर्जना गरेपछि मात्र विश्वविद्यालयमा अनलाइन कक्षा जस्ता प्रविधिमैत्री शिक्षणका सम्बन्धमा चर्चा शुरू हुनु निकै दुर्भाग्यपूर्ण कुरा हो । यस कुराले हामी समयको माग बमोजिम विश्वविद्यालयलाई आधुनिकीकरण गर्ने दीर्घकालीन सोच र दृष्टकोणकासाथ काम गरिरहेका रहेनछौं भन्ने कुरा प्रमाणित भएको छ । अब हामीले यो घटनाबाट गम्भीर पाठ सिकेर विश्वविद्यालय भनेको विश्वमा विकास भएका अत्याधुनिक प्रविधि र उपकरणको अधिकतम उपयोग गर्न सकिने उच्चतम प्राज्ञिक थलो हो भन्ने भावनाको विकास गर्ने गरी तत्कालिन, मध्यकालिन र दीर्घकालीन नीति, योजना र कार्यक्रम सहित अघि बढ्नुपर्ने परिस्थिति पैदा भएको छ । यो सोच र दृष्टिकोणलाई कार्यान्वयन गरेर छाड्ने दृढ इच्छा शक्तिका साथ प्रस्तुत हुने हो भने विश्वविद्यालयमा अनलाइन कक्षा मात्र होइन विश्वमा विकास भएका सबैजसो अत्याधुनिक प्रविधिसँग रमाउन सकिने दिन पनि आउन सक्छ भन्ने आशा गर्ने ठाँउ अझै बाँकी छ भन्न सकिन्छ । तर त्यसका लागि पनि माथि पहिलो बुँदामै भनिएको प्राज्ञिक वातावरणको निर्माण नै एउटा अनिवार्य शर्त बन्छ । त्यस्तो वातावरण बन्ने कुरा कुलपतिज्यू स्वयंले निकै शाहसिक र विवेकपूर्ण कदम नचालुञ्जेल असम्भवप्रायः देखिन्छ ।

विशेष ध्यानाकर्षण

विश्वविद्यालयलार्इ साँच्चै एउटा मर्यादित प्राज्ञिक थलोमा परिणत गर्ने हो भने यी चार बुँदा त्यस्तो मर्यादित विश्वविद्यालयका जग वा चारवटा पिल्लर हुन् भन्दा पक्कै पनि अतिशयोक्ति नहोला । परस्पर विरोधी यी चार प्रवृत्ति टक्कराउने क्रममा हरेक बुँदाका शुरूमा उल्लेख गरिएको गलत प्रवृत्ति हावी हुँदा आज नेपालको जेठो विश्वविद्यालय जीवनमरणको अवस्थाबाट गुज्रिरहेको छ । त्यस्तो गलत प्रवृत्ति मौलाउनुमा राजनीतिक शक्तिले त्यस्ता गलत प्रवृत्तिलार्इ संरक्षण गर्नु नै प्रमुख कारण हो । आज कुलपतिज्यू नै त्यस्तो शत्ता र शक्तिको केन्द्रमा रहनुभएकाले मैले यहाँकै विशेष ध्यानाकर्षण गर्न खोजेको हो । यदि तपाईंले त्यस्ता गलत प्रवृत्तिलाई बढावा दिने जोकोहीलाई संरक्षण मात्र नगरिदिने हो भने पाँच बर्षभित्रमा त्रिभुवन विश्वविद्यालयले ठूलै गुणात्मक फड्को मार्न सक्छ ।

     यहाँ उल्लेख गर्नैपर्ने एउटा तितो सत्य के हो भने तपार्इ सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा घन्काएर अघि बढ्न खोजीरहनु भएको छ । गुणस्तरीय शिक्षा त्यो नारा साकार पार्ने कुराको मुल प्राण हो जस्तो लाग्छ । विश्वविद्यालय गुणस्तरीय शिक्षा प्रदान गर्ने हरेक शैक्षिक संस्थाको पनि मस्तिष्क हो । राज्य सञ्चालन गर्ने हरेक जनशक्ति उत्पादन गर्ने मुल थलो हो । राज्यकै नीति निर्माता, योजनाकार आदि जन्माउने प्रमुख शैक्षिक केन्द्र हो । त्यति महत्वपूर्ण जिम्मेवारी बोकेको विश्वविद्यालयमा हावी गलत प्रवृत्ति उल्ट्याउन सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा बोकेर हिड्ने प्रधानमन्त्रीका शुभ चिन्तक र समर्थक लाग्लान् भन्ने लाग्दोरहेछ । तर कतिपय अवस्थामा तपाईका शुभचिन्तक र समर्थक भनिएका पात्र नै ती गलत प्रवृत्तिका सुरक्षा कवच बनेर हिडिरहेका छन् । तपाईंको कर्णप्रिय नाराको धज्जी उडाउने कार्यको नेतृत्व तपाईकै शुभचिन्तक र समर्थकले गरेको देख्दा आज दुनियाँ तिन छक्कै परेको छ । ती पात्रहरू तोकिएका जिम्मेवारी पूरा गर्दै त्रिवि ऐन, नियम, विधि, प्राज्ञिक मुल्य मान्यताको कदर गर्दा त तपार्इको नाराकै अपमान हुन्छ जस्तो गर्दै माथि उल्लेख गरिएका गलत प्रवृत्तिलाई बढावा दिन न्वारनदेखिको बल निकालेर लागेका देखिन्छन् । अनि नेपालकै जेठो विश्वविद्यालय त्रिविले गुणस्तरीय जनशक्ति उत्पादन गरेर सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा साकार होला भनेर कसरी विश्वस्त बन्ने आदरणीय कुलपतिज्यू ? यसरी तपाईं र तपाईंको नाराप्रति नै सकारात्मक पात्र र प्रवृत्तिले त्यो नाराको मर्म र भावनामाथि छुरा प्रहार गरिरहेको धरातलीय यथार्थप्रति कुलपतिज्यूको विशेष ध्यानाकर्षण होस् ।

निश्कर्ष

     कोरोना भाइरसका कारण लामो समयसम्म मुलुक नै लकडाउन भएपछि विश्वविद्यालयको पठनपाठन पनि अबरूद्ध हुन पुग्यो । यहि शिलशिलामा विश्वविद्यालयमा अनलाइन कक्षामार्फत पठनपाठन सुचारू गर्ने चर्चा शुरू भयो । त्रिविका उपकुलपतिज्यूले अनलाइन कक्षाका लागि अपिल गर्नुभयो । शिक्षाध्यक्षज्यूले क्याम्पस/स्कुल/विभाग र विद्यार्थीहरूलाई अनलाइन कक्षामार्फत पठनपाठन सुचारू गर्न अनुरोध गर्नुभयो । रजिष्ट्रारज्यूले त्रिवि प्राज्ञिक परिषद्बाट विद्दुतीय माध्यम (Online) बाट समेत अध्ययन अध्यापन गर्न सकिने व्यवस्थाको कार्यान्वयनका लागि त्रिवि कार्यकारी परिषद्ले तत्कालको अवस्थामा कार्यान्वयनमा ल्याएको “विद्दुतीय माध्यम (Online) बाट गरिने कक्षा सञ्चालन सम्बन्धि निर्देशिका २०७७” बमोजिम कक्षा सञ्चालनको व्यवस्था गर्न सबै डीन कार्यालयहरूमा पत्र पठाइसकिएको सुचना जारी गर्नुभयो । तिन मुख्य बुँदामा विभाजित तिन पृष्ठ लामो त्यस्तो निर्देशिका पनि सार्वजनिक भइसक्यो । यसरी विपद्कै समयमा भएपनि विश्वविद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्ने कुराले निकै खुशी पनि लाग्यो । वास्तवमा त्रिविलाई प्रविधिमैत्री बनाउनुपर्छ भन्ने कुरा वर्तमान समयको माग र आवश्यकता दुवै हो भन्ने कुरा पनि गहिरोसँग अनुभुति भएकै हो । तर विश्वविद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्ने कुरा समयको माग हुँदाहुँदै पनि यो कार्य निकै चुनौतिपूर्ण छ जस्तो लाग्यो । पर्गेल्दै जाँदा कुलपतिज्यूको दृढ संकल्प बिना ती चुनौतिको सामना गरेर विश्वविद्यालयलाई आधुनिक प्रविधियुक्त प्राज्ञिक थलोमा परिणत गर्न सकिन्छ जस्तो लागेन । मिहिन पाराले केलाउँदै जाँदा विश्वविद्यालयका चुनौति त अनगिन्ति छन् । ती मध्ये पनि माथि उल्लेख गरिएका चारवटा प्रमुख चुनौति र एउटा चाहिँ यहाँले अघि सार्नुभएको नारासँग जोडिएको चुनौतिलार्इ यहाँले नै कुनै न कुनै रूपमा सम्बोधन गर्नैपर्नेरहेछ भन्ने कुरा गहिरोसँग अनुभुति भएकाले यहाँको विशेष ध्यानाकर्षण गर्न खोजिएको हो । यदि यस सम्बन्धमा यहाँको ध्यानाकर्षण हुन सकेमा अनलाइन कक्षा सञ्चालन गर्न योग्य प्रविधिमैत्री मात्र नभएर त्रिवि एउटा प्रतिष्ठित प्राज्ञिक थलोमा परिणत हुन बेर लाग्ने छैन भन्ने मेरो ठहर हो । मेरा जीवनका सबभन्दा उर्जाशील समय व्यतित भएको विश्वविद्यालय एउटा प्रतिष्ठित प्राज्ञिक थलो बनोस् भन्ने उत्कट चाहना भन्दा बाहेक यो ध्यानाकर्षण पत्रको उद्देश्य अरू केहि पनि छैन । यस्तो उद्देश्य हुँदाहुँदै पनि पत्रमा उल्लेख भएका कुनै शब्द वा भाषाले उक्त प्रमुख उद्देश्य भन्दा फरक अर्थ लागेमा म त्यस्ता शब्द र भाषा विनम्रतापूर्वक फिर्ता लिन तयार छु । यो ध्यानाकर्षण पत्रको आशय भनेको कुनै अमुक पात्रको चित्त दुखाउनु हुँदैहोइन । बरू यो विपद्को समयमै भएपनि विश्वविद्यालयलार्इ प्रविधिमैत्री बनाएर विश्वविद्यालयको शाख उकास्न सक्ने अनलाइन कक्षा सम्बन्धि चर्चाको टुसो झाँगिएर गुणस्तरीय शिक्षालार्इ छहारी प्रदान गर्ने विशाल वृक्षको रूपमा मेरो विश्वविद्यालय परिणत हुन सकोस् भन्ने अपेक्षा मात्र हो । माथि उल्लेख गरिएका विषयले यहाँको ध्यानाकर्षण हुन सक्यो भने मेरो त्यो अपेक्षा पूरा हुन सक्ने मेरो आशा हो । विश्वास हो । यहि आशा र विश्वासका साथ आजलार्इ बिदा चाहन्छु । उहि आधुनिक प्रविधि र प्राज्ञिक मुल्य मान्यताले लैस विश्वविद्यालय हेर्न आतुर एक प्राध्यापक ।

लेखक म.र.ब क्याम्पस, इलामका सह प्राध्यापक हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार