काठमाडौं । दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले फिर्ता लिने पत्र पठाए पछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गर्ने बताइएको छ ।
चौतर्फी विरोध भएपछि सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।मन्त्रिपरिषद्ले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री मार्फत् यो निर्णयको जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराइनेछ । त्यसपछि संविधानको धारा ११४ को २ (ख) बमोजिम अध्यादेश खारेज हुनेछ ।
संविधानको उक्त धारामा सरकारको सिफारिसमा राष्ट्रपतिले जुनसुकै बखत अध्यादेश खारेज गर्न सक्ने प्रावधान छ । सरकारले वैशाख ८ गते राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेको थियो । दुबै अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।