कोभिड १९ को महामारीको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणको लागि गरेको बन्दाबन्दीको कारण घर फर्किन चाहने मानिसहरु मर्कामा परेका छन् । कोहि बीच बाटोमा छन् त कोहि घण्टौ हिंडेर भए पनि घर पुगेका छन् । कोहि सिमामा रोकिएका छन् त कोहि तेस्रो मुलुकहरुमा । यति हुँदाहुँदै पनि राजधानी काठमाण्डौ देखि विभिन्न शहरमा रहेका धेरै मानिसहरु गाउँघर फर्किसकेका छन् । विदेशमा रहेका केहि नेपालीहरु पनि स्वदेश आएका छन् । विदेश जान खुट्टा उचालिरहेका युवाहरु पनि कोभिड १९ को महामारीको कारण स्वदेशमै खुम्चिएका छन् । यस घडीमा खाली जमिनहरुलाई भरी हराभरा बनाइ उत्पादन बढाउनेतर्फ लाग्नु आवश्यक छ । यसको लागि ठाउँअनुसार कृषि बाली, नगदे बाली एवं जडिवुटीको खेती तथा पशुपालनमा लागिरहनु उचित छ ।
बन्दाबन्दीको कारण अत्यावश्यक चिजहरुको अभाव हुँदै गएको छ । फेरि सरकारले कृषिजन्य कार्यहरु निरन्तर सञ्चालन गर्न पनि आह्वान गरिरहेको छ ।अहिले अभाव पनि छ, जनशक्ति पनि छ, तनाव पनि छ । यसको सही व्यवस्थापन गर्न सक्यौं भने ठूलो अवसरको उपयोग गरिरहेका हुनेछौं । हामी धनिया खुर्सानी जस्ता सामान्य उपजहरु पनि करोडौं बराबरको आयात गरिरहेका हुन्छौं । हिजोको दिनमा बेसाएर(किनेर) खान हुँदैन । घरमै आटो पीठो रोटी मकै जे जे हुन्छ त्यहि खानुपर्दछ भन्ने भनाइ मात्र होइन कि व्यवहार पनि थियो । कोहि व्यक्ति पनि बोरा ल्याएर खाने गर्थे भने देखि उनीहरु प्रति समाजको हेराइ नै गलत थियो । ऊ फलानोले त घरमा खान नपुगेर बोरा असार्दैछ भन्ने हेय भाव थियो । घरमा नै सबै चीज नहुन सक्थ्यो तर ऐंचो पैंचो वा साटफेर गरेर निर्वाह गर्ने गर्दथे । बेशीमा बस्ने मानिसहरु धान गहुँ मकै कोदो तोरी उत्पादन गर्दथे भने लेकमा बस्ने मानिसहरु विशेषगरी आलु फापर जौ उत्पादन गर्दथे । अनि लेक र बेसीका मानिसहरुबीच आलु र धान गहुँको सट्टापट्टा हुन्थ्यो । यसबाट अन्तर्भिरता र आत्मनिर्भरताका अभ्यासहरु भएका देखिन्थे । पंक्तिकारको बेसीबाट आलु बोकेर लेकमा पुगेर आलुसँग साटेको भोगाइ छ । आज कथा जस्तै लाग्छ ।
आँखाले देख्न नसकिने सानो भन्दा सानो जीवले अकल्पनीय स्वरुप लिंदा विश्वका २ सय १० मुलुकहरु आक्रान्त बनेका छन् । विश्व आर्थिक मन्दीको अवस्था सिर्जना भएको छ । यसले ठूला एवं शक्तिशाली मुलुकहरुलाई समेत थला पारेको छ । दैनिक हजारौं मानिसहरु संक्रमित भइरहेका छन् । भाइरसका कारण विश्वभर १ लाख ५० हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ भने २२ लाख भन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् । ५ लाख ७५ हजार भन्दा धेरै मानिसहरु उपचार भइ निको भएका छन् ।
आज विश्व नै कोभिड १९ को महामारीले प्रताडित बनिरहेको अवस्थामा नेपालमा पनि यसका समस्याहरु प्रवल बन्दै गइरहेका छन् । विदेशमा समस्या भएपछि रोजागारी गुमिरहेका छन् । कतिपय नेपालीहरु चाहेर पनि स्वेदश फिर्ता हुन पाइरहेका छैनन् । आन्तरिक तथा अन्तराष्टिय उडानहरु बन्द भएका छन् । हवाइ मात्र होइन स्थल आगमन समेत बन्द भएका छन् । मुलुक संघीयतामा गएसँगै संघ प्रदेश र स्थानीय सरकारहरुले शासन अभ्यास गरिरहेका छन् । अहिलेको घडीमा स्थानीय तह प्रदेश तथा संघले आपसी समन्वय र सहकार्यलाई मूर्तरुप देखाउने बेला हो ।यस्तो महामारीबाट मुलुकलाई कसरी जोगाउने र सम्भावित विकराल अवस्था नआवस् भन्नाका खातिर कसरी अगाडि बढ्ने भन्नेमा ठोस खाकाहरु बनाएर अगाडि बढ्नुपर्दछ ।
आर्थिक वर्ष ०७६।०७७ को पहिलो ६ महिनाको कूल आयातमा उपभोग्य वस्तुको हिस्सा २० दशमलब १ प्रतिशत तथा पछिल्लो ५ वर्षमा वस्तु आयातको औसत वृद्धिदर १५ दशमलब २ प्रतिशत र निर्यात वृद्धिदर करिब २ प्रतिशत रहेको नेपालको वैदेशिक व्यापार प्रवृत्ति सम्बन्धी एक अध्ययनले देखाएको छ । नेपालको सामाजिक र आर्थिक जीवनमा कृषि क्षेत्रको महत्व उजागर गर्न सरकारले उत्पादन सामाग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा / टेवा, सस्तो र सुलभ ऋण, बाली तथा पशुपन्छी बीमा र न्यूनतम बचतको ग्यारेन्टी जस्ता प्राथमिकता क्षेत्र पनि तोकेको छ ।
नेपाल विविधतै विविधताले भरिएको मुलुक भएको कारण प्राकृतिक हिसाबले नै विविध कृषि प्रणालीको सम्भाव्यता बोकेको छ । तर व्यवहारमा लागू गर्न सकिरहेका छैनौं । सबै मानिसले कृषि पेशा नै गर्नुपर्दछ भन्ने पनि होइन । हाम्रो अवस्था हेर्ने हो भने भयानक छ । हाम्रा उर्भर भूमीहरु उजाड र झाडीमा रुपान्तरण भइरहेका छन् । अहिले गाउँघरतिर घर घरमा बाँदरले सताइरहेका छन् । बाँदर समस्याको रुपमा देखापरेका समाचारहरुले संचार माध्यममा पनि राम्रै स्थान आगेटिरहेका छन् । कतिपय पालिकाहरुले त बाँदर नियन्त्रण तथा व्यवस्थापनको लागि बजेट नै विनियोजन गरेका खबरहरु पनि आए । यस अघि सबै कृषि भूमिहरुमा खेतीपाती हुने गरेका थिए । जसका कारण बाँदरहरु छेउ छाउका जमिनमा रहेका खेतीबाली मै भुल्ने गर्थे र भित्र भित्रका जमिनहरुबाट राम्रो फसल भित्राउन सकिन्थ्यो । तर आजकल खेतीपाती नै छैन । अनि बाँदरहरु आहराको खोजीमा घर घर चाहर्ने गरेका छन् । यसरी हामीले नै समस्या निम्ताइरहेको पृष्टि हुन्छ । यसको दीर्घकालिन समाधान भनेको पनि कृषिको बढोत्तरी नै हो ।
शिक्षा रोजगार तथा अवसरका लागि बाहिरिने नेपाली जनसंख्या करिब ७० लाख रहेको छ । पैसा खर्च गरेर बिदेश गएका छौं या पठाएका छौं । अनि मेहनत उतै गर्दछौं या गराउँछौं। जहाँ श्रम हुन्छ, त्यहाँ विकास हुन्छ । हाम्रा पौरखी हातहरु खाडी देखि विश्वका अन्य मुलुकहरुका कुना कुनामा पौरख देखाइरहेका छन् । पौरखको फलको रुपमा रेमिट्यान्स त भित्रिरहेको छ तर यसको पनि सदुपयोग भइरहेको छैन । त्यो पैसा हामी कुनै पनि उत्पादनमुखी कार्यमा खर्च नगरी उपभोग्य एवं विलासी जीवनशैलीमा खर्चेर बस्छौं । हाम्रा लगानी भनेको गाडी, मोटर साइकल, स्कुटर, मोवाइल, आइफोन, ट्याब तथा उपभोग्य चीजहरुमा गरिरहेका छौं । यसले परनिर्भरतालाई नै प्रश्रय दिइरहेको छ ।
कोरोना महामारीको संत्रासको बेला गाउँघर फिरेका युवाहरुलाई कृषिमा लाग्न प्रेरित गर्ने सुनौलो अवसर यहि हो । जसबाट उत्पादन संस्कृतिको विकास हुन गइ स्वरोजगार तथा आत्मनिर्भर अर्थतन्त्रमा टेवा दिन सक्नेछौं । मूलत श्रम गर्ने संस्कृतिको विकास गरी उपभोगमुखी भन्दा पनि उत्पादनमुखी शैलीको विकास हुनेछ र कोभिड १९ को महामारीबाट पर्नसक्ने जोखिमबाट पनि सुरक्षित बन्न सकिनेछ । यस्तो अवस्थामा जो जो जहाँ जहाँ छौं त्यहाँ सबैले सावधानी अपनाउनु त जरुरी छँदैछ ।यसको अलावा भविष्यमा आइपर्नसक्ने खाद्य संकटलाई समेत मध्यनजर गरी खाली र रित्ता कृषि भूमीहरुमा जहाँ जे हुन सक्छ तिनै बालीहरु लगाउनुपर्दछ ।कृषि बाली वा नगदे बाली वा सागसब्जी वा जडीवुटी वा पशुपालन जे हुन सक्छ, खेती गरौं स्वस्थ रहौं र श्रम गरेर स्वरोजगार बन्ने प्रण गरौं ।
कोरोनाका कारण हरेक मुलुकहरु अत्यावश्यक सेवा तथा वस्तुहरुमा स्वनिर्भर बन्नुपर्ने अवस्था पनि सिर्जना हुन सक्छ । कतिपय मुलुकले कोरोना भाइरसको रोकथामका लागि विभिन्न कृषि उत्पादनहरुको निकासीमा प्रतिबन्ध लगाउन सक्ने अवस्था आउन सक्छ ।अर्कोतिर जोखिम न्यूनीकरणका लागि आयातमा रोक लगाउने अवस्था सिर्जना हुन पनि सक्छ ।यो अवस्थामा न्यूनतम आफूलाई आवश्यक र सकिन्छ भने व्यवसायीक रुपमा नै कृषि तथा पशुपालनमा लाग्नु आवश्यक छ । व्यवसायीक रुपमा उत्पादन गर्न सकियो भने कृषि उपजहरुको बजारको सम्भावना पनि रहेको छ । आफैले उत्पादन गर्दा स्वस्थ र ताजा हुने हुँदा विषादी लगायतका संकोचबाट पनि सुरक्षित होइन्छ । आफ्नै गाउँ ठाउँ पाखो पखेरामा साग सब्जी, अन्न बाली या जडीवुटी जे जे गर्न सकिन्छ, गरौं । जसबाट कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको लकडाउन अवधिको सही सदुपयोग समेत भएको हुनेछ ।
लेखक पराजुली वनस्पति विभागका वैज्ञानिक अधिकृत हुन् । इमेल सम्पर्क parajrr@yahoo.com