कोरोनाको चुनौति
मै हुँ भन्ने विश्वका शक्तिशाली राष्ट्रहरूलाई तालाबाला खेलाएको कोरोना भाइरसले समाजका हरेक पाटा र पक्षमा नराम्ररी असर गरेको छ । यसको नकारात्मक असर तत्कालिन मात्र नभएर दीर्घकालिन हुने कुरा निश्चितप्रायः छ । समाज विकासको प्राण मानिने शिक्षा क्षेत्र कोरोनाको यस्तो नकारात्मक प्रभावबाट अछुतो रहने कुरै भएन । अहिले कोरोनाले विश्वव्यापी रूपमा मच्चाएको आतंकले समेत शैक्षिक क्षेत्रमा कहिँ न कहिँ कमजोडी थियो भन्ने कुरा संसारका सामु छताछुल्लै बनाइदिएको छ । कम्तिमा कोरोना जस्ता भाइरसलार्इ कसरी सहजै तह लगाउन सकिन्छ होला भन्ने उचित उपाय सुझाउन वर्तमान शैक्षिक प्रणालीले सकेको रहेनछ भन्ने तथ्य आज सतहमै छताछुल्ल भएको छ । यस्ता समस्या आइ लाग्दा ती समस्यासँग जुध्न कसरी जाइ लाग्ने होला भन्ने कुरामा विश्व प्रख्यात दार्शनिक, बैज्ञानिक, चिन्तक र विद्वानवर्गको आवश्यक ध्यान पुग्न सकेको रहेनछ भनेर सोच्न बाध्य बनाउनु नै कोरोनाले शिक्षा क्षेत्रमा खडा गरेको सबभन्दा पेचिलो चुनौति हो भन्दा पक्कै पनि अतिशयोक्ति नहोला । वा शैक्षिक योजना, पाठ्यक्रम र कार्यक्रम निर्माण गर्दा कतिपय दार्शनिकहरूले सुझाएका शिक्षा सम्बन्धी धारणालाई ठीक ढंगले ग्रहण गर्न सकिएको रहेनछ भन्ने तथ्यलाई कोरोनाले सतहमा ल्याइदिएको कुरालाई सायदै कसैले अस्वीकार गर्न सक्ला । अझ किटेरै भन्नुपर्दा विश्व प्रशिद्ध दार्शनिक तथा बैज्ञानिक आइन्साटाइनले भने जस्तो मानिसलार्इ चिन्तन गर्न योग्य बनाउनु नै शिक्षाको प्रमुख उद्देश्य हो भन्ने कुरालाई शिक्षाविद्हरूले गम्भीर रूपमा लिन नसकेको हो कि भन्ने निश्कर्ष निकाल्न बाध्य बनाएको छ । त्यसकारण अब शिक्षाका सम्बन्धमा नयाँ तरिकाले चिन्तन मनन् गर्नैपर्ने परिस्थिति पैदा भएको छ । वर्तमान शिक्षा प्रणालीका खोटका सम्बन्धमा समीक्षा गर्नैपर्ने भएको छ ।
शिक्षासम्बन्धि सामान्य बुझाइ
समाज विकास र शिक्षाको अन्योन्याँश्रित सम्बन्ध हुन्छ । समाजमा हुने हरेक गतिविधिमा त्यस समाजका रीतिथिति, संस्कार, संस्कृति, आस्था, विश्वास आदि झल्किरहेका हुन्छन्, जसको प्रतिबिम्ब शैक्षिक क्षेत्रमा झल्कन्छ । कुनै पनि व्यक्तिको पहिलो पाठशाला घरमा बालकले सिक्ने अनौपचारिक शिक्षाले उनीहरूको मुलबाटो तय हुन्छ । उदाहरणको लागि बालबालिकाले घरमै सिक्ने मातृभाषाले बाँकी दुनियाँलार्इ बुझ्न र जीवनका हरेक मोडहरू हाँक्न र बदल्न महत्वपूर्ण भुमिका खेल्छ । घरमा सिकेका भाषा, संस्कार र संस्कृतिले निर्माण गरेको सोच बोकेर बालक विद्यालय प्रवेश गर्छ । बालकले विद्यालयमा सिक्ने कुराले उसको जीवनका थप गोरेटाहरू निर्धारण गर्छ । विद्यालय तहको शिक्षाको अन्त्यसँगै विद्यार्थी आफूले रोजेका विशिष्ट क्षेत्रमा प्रवेश गर्छ र सामान्यतया त्यहि क्षेत्रमा डुबुल्की मार्दै आफ्नो पहिचान बनाउँछ । सुचना र प्रविधिमा आएको परिवर्तनसँगै कतिपय विद्यार्थीले आफ्ना विशिष्ट क्षेत्र बदलेर अन्य क्षेत्रमा फड्को मारेका केहि दृष्टान्त पनि छन् । तर सामान्यतया उच्च तहमा आफूले विशिष्टता हासिल गरेको विषयलार्इ नै धेरैले आफ्नो जीवनपद्धति बनाएको देखिन्छ । उदाहरणका लागि शिक्षा, मानविकी, कानुन, विज्ञान, व्यवस्थापन आदि क्षेत्रका पनि कुनै निश्चित विषयको पनि विशिष्ट पाटा र पक्षमा विशिष्टता हासिल गरेर त्यहि विशिष्ट पक्षमा हासिल गरेको ज्ञान सीपसँग रमाउनु ।
नेपालको फरक परिदृश्य
शिक्षा सम्बन्धी सामान्य बुझाइको यहि चस्मा लगाएर नेपालको परिदृश्यलार्इ नियाल्दा पनि आ आफ्नो क्षेत्रमा विशिष्टता हासिल गरेका धेरै मानिसहरू त्यस क्षेत्रमा रमाउन सकेका छैनन् । बरू उनीहरू विभिन्न विषयमा विशिष्टता हासिल गरेको प्रमाणस्वरूप प्रदान गरिएका प्रमाणपत्र रद्दीको टोकरीमा मिल्काएर आफ्नो विषयसँग कुनै साइनो सम्बन्ध नभएका क्षेत्रमा कडा परिश्रम गर्दै स्वदेश वा विदेशमा निकै कष्टपूर्ण ढंगले आफ्नो जीवन धानीरहेका छन् । बढ्दो शैक्षिक बेरोजगारी र क्षमतावान् विद्यार्थीको विदेश पलायनको वर्तमान परिदृश्यले हाम्रो शैक्षिक प्रणाली निकै खोटपूर्ण छ भन्ने कुरा त लामै समयदेखि नेपालमा चर्चा हुँदै सेलाउँदै गरेको विषय नै हो । यहि कुरालार्इ मनन् गरेरै होला नेपालमा शिक्षा सम्बन्धी निकैवटा शिक्षा आयोगका प्रतिवेदन तयार हुने क्रम पनि जारी छ । तर ती प्रतिवेदनका सुझावको मर्म र भावना झल्कने गरी कार्यान्वयन तहमा खरो उत्रिएको कुरा आजका मितिसम्म खासै अनुभुति गर्न सकिएको छैन । बरू उहि पूरानै इतिहासको पट्यारलाग्दो पुनरावृत्तिमै सबैजना रमाए जस्तो लाग्छ ।
शिक्षा र कोरोना भाइरस
वर्तमान विश्वको परिदृश्यमा नै गुणात्मक शिक्षाको क्षेत्रमा निकै निराशाजनक जीवन गुजारिरहेको नेपालको शिक्षा प्रणालीका सम्बन्धमा कोरोना आक्रमण पश्चात ठूलै फड्को मार्ने अदम्य शाहसका साथ केहि जोखिमपूर्ण कदम नचाल्ने हो भने नेपालको शैक्षिक क्षेत्रले अझै कहिलेसम्म निराशाको व्यापार गर्ने हो भन्ने कुरा भविष्यवाणी गर्न निकै कठीन हुन्छ । आज कोरोना भाइरसले विश्वभरि अकल्पनीय आतंक मच्चाएर विश्वकै शिक्षा प्रणालीले कोरोना आतंकजस्ता समस्यासँग जुध्न सक्ने क्षमता विकास गर्न सकेको रहेनछ भन्ने चुनौति विश्वसामु खडा गरिदिदा ती विकसित मुलुकको मानचित्रमा निकै तल मात्र आफ्नो ठाउँ राख्न सफल नेपालको शिक्षा प्रणालीले गुणात्मक फड्को मार्न कति शाहसिक कदम चाल्नुपर्ला भन्ने कुरा जोकोहीले सहजै अनुमान लगाउन सक्छ ।
कोरोनाले विश्वमा प्रदर्शन गरेको आतंकले नेपाल मात्र नभएर विश्वकै शैक्षिक प्रणालीमा समेत कहिँ न कहिँ गम्भीर खोट रहेछ भन्ने कुरा स्पष्ट भएको छ । विशेष गरेर विज्ञान र प्रविधिको क्षेत्रमा ठूलै चमत्कार भयो भनेर खुशी मनाइरहेको विश्वलार्इ कोरोना भाइरसले ठूलै धक्का दिएको छ । जतिसुकै ठूला चमत्कार गरे पनि स्वयं मानववर्गको जीवन जोगाउने जस्तो संवेदनशील क्षेत्रमै आधुनिक शिक्षा प्रणालीले खासै माखो मार्न सकेको रहेनछ भन्ने चुनौति कोरोनाले पेश गरिदिएको छ । कोरोना भाइरसले खडा गरेको यो चुनौतिले अब मानिसको सोच्ने तरिका र शैलीमै परिवर्तन गरेर विश्वमा हावी गलत, सोच, विचार, चिन्तन र शैलीमा गुणात्मक परिवर्तन गर्नैपर्ने वस्तुगत परिस्थिति जब्बर्जस्त रूपमा पैदा गरिदिएको छ । शिक्षा यस्तो चीज हो, जसले मानव मस्तिष्कको गहिराइ चुमेर मानिसका सोच, विचार, चिन्तन र व्यवहारमा गुणात्मक परिवर्तन ल्याउने अद्भुत क्षमता बोकेको हुन्छ । यति महत्वपूर्ण क्षमता बोकेको शिक्षा क्षेत्रमै अब आमुल परिवर्तन गरेनौ भने मानव जातीकै अस्तित्व धरापमा पर्ने छ है भनेर सिङ्गो मानवजगतकै सामुन्ने कोरोना भाइरसले खत्तराको घण्टी बजाइसकेको छ । यस्तो खत्तरनाक विश्व परिस्थितिको ठोस मुल्यांकन गरेर ठोस कदम नचाल्ने हो भने अब नेपाल र नेपालीको त कुरै छाडौं विश्व र मानवजाती वा प्रकृतिकै अस्तित्व समाप्त हुन सक्ने संकेत कोरोना भाइरसले गरिसकेको छ । त्यसैले पनि अब नेपाल मात्र नभएर विश्वले नै कोरोना भाइरस जस्ता विपत्ती आइ लागेमा त्यस्ता विपत्ती के कसरी सामना गर्न सकिएला त भनेर यस्ता कहालिलाग्दा समस्यासँग समेत सहजै जुध्न सक्ने शैक्षिक प्रणाली विकास गर्नैपर्ने समय आएको छ । कोरोनाले विश्वमा पैदा गरिदिएको यो चुनौतिको तुलनामा नेपालले आफ्नै मुलुकमा प्राप्त प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै विदेशिन बाध्य लाखौं नेपालीलाई स्वदेशमै रमाएर आ आफ्ना जीवनमा आइ पर्ने सामान्य समस्यासँग जुध्दै सहज ढंगले जीवनयापन गर्न सक्ने शैक्षिक प्रणालीको विकास गर्नु त एउटा न्युतम आवश्यकता नै भएको छ । यसरी विश्व परिदृश्यमा नै नयाँ तरिकाले सोच्ने वा विचार गर्ने शैक्षिक प्रणाली विकास गर्न कोरोना भाइरसले विश्वलाई झक्झक्याइरहँदा नेपाल आफ्नै विशिष्ट समस्याले ग्रस्त छ । आफ्नै विशिष्ट समस्याले लखतरान नेपाल विश्वमा देखिएको गलत प्रवृत्तिलाई समेत चाहेर वा नचाहेर सेवा गरिरहेको छ ।
कोरोना भाइरसको अन्तर्य
आज विश्वमा कोरोना भाइरसले खडा गरेको चुनौतिको अन्तर्यमा मुठ्ठीभर शक्ति राष्ट्रहरूको घमण्ड र ठालुपन मुख्य जिम्मेवार छ भन्ने कुरामा सायदै दुई मत होला । अथवा म नै सर्वैसर्वा हुँ र मेरो व्यक्तिगत स्वतन्त्रता माथि कसैले धावा बोल्न पाउने छैन भन्ने घमण्डले फुलेका केहि शक्तिशाली मुलुकका मुठ्ठीभर धनाढ्य मानिसका दम्भकै कारण आज सिङ्गो प्रकृति र पृथ्वीका अधिकांश गरिखाने वर्ग शिकार हुनु परेको निकै तितो निश्कर्ष निस्कदैछ । मैले जे गरे पनि बाँकी विश्वले टेर्नैपर्छ भने झैं गर्दै मानिस मात्र नभएर समग्र प्रकृतिलाई नै चुनौति दिन खोज्दा आज कोरोना भाइरसले सारा मानव जगतलार्इ यति सारो हेपेको हो कि भन्ने लाग्न थालेको छ । शक्तिराष्ट्रहरूको त्यहि घमण्डलाई चकनाचुर पार्नकै लागि कोरोना भाइरसको जन्म भएको त होइन ? भन्ने मुल प्रश्नले आज विश्वकै मानिसका दिलदिमागमा डेरा जमाए झैं लाग्छ । त्यसैले अब तिमीहरूले फरक ढंगले सोच्नैपर्छ भनेर विश्वका मानिसलार्इ कोरोना भाइरसले दिएको गृहकार्य सफलतापूर्वक पूरा गर्न पनि अब शिक्षाका बारेमा नवीन ढंगले सोच्नैपर्ने वस्तुगत परिस्थिति पैदा भएको छ ।
नेपालको धरातलीय यथार्थ
नेपालको शैक्षिक प्रणालीको अन्तर्यमा डुब्दा पनि यदाकदा त्यस्तै अनुभुति हुन्छ । झन् हाम्रो शैक्षिक प्रणालीले त कोरोना भाइरस जस्ता विश्वमै तहल्का मच्चाउने समस्या त के आफ्नै देशका सामान्य समस्या समाधान गर्ने शक्ति र उर्जा समेत जनजनका मन मस्तिष्कमा उत्पन्न गर्न सकेको छैन । हाम्रो देशलार्इ प्रकृतिले उपहारस्वरूप प्रदान गरेका सम्भावित क्षेत्र पहिचान गरेर ती क्षेत्रमा रमाएर स्वयं व्यक्ति, समाज र समग्र मुलुककै उन्नति र प्रगति हुन सक्ने अनगिन्ति सम्भावनाका ढोका खोल्न समेत नेपालको शैक्षिक प्रणाली असफलप्रायः छ । हाम्रा सम्भावनाका क्षेत्र भनेका जल, जमिन, जडीबुटी, पर्यटन आदि हुन् । श्रमप्रति उच्च सम्मान गर्ने संस्कारको विकास गरेर विदेशमा कठीन श्रम गर्न बाध्य युवावर्गलार्इ मात्र कृषि क्षेत्रमा रमाउने वातावरण हुने हो भने नेपालको कायापलट हुन बेर नलाग्ने मात्र होइन कोरोना जस्ता घातक भाइरसले आक्रमण गर्दा समेत हामीलाई आवश्यक खाद्यान्नको कति पनि अभाव नहुने देखिन्छ । त्यसरी नै जलस्रोत सम्बन्धी विज्ञ उत्पादन गरेर यसै बगेर खेर गइहेको पानीलार्इ उर्जामा परिणत गर्न मात्र सक्ने हो भने त्यो नेपालको एक दीगो र भरपर्दो आयश्रोत हुने कुरामा कुनै दुविधा छैन । त्यस्तै नेपालमा पाइने जडीबुटी पहिचान गरी आफैं अौषधीमुलो उत्पादन गर्न सक्ने जनशक्ति हाम्रो शैक्षिक प्रणालीले उत्पादन गर्ने हो भने नसोचेको उपलब्धी हासिल हुन सक्ने प्रवल सम्भावना जीवित छ । दुनियाँलार्इ लोभ्याउने शुन्दर र अग्ला हिमाल लगायत मनमोहक पर्यटकीय स्थल त नेपालका अमुल्य सम्पत्ती र आकर्षणका मुख्य केन्द्र नै भइहाले । नेपालको धरातलीय यथार्थको रूपमा रहेका यी र यस्ता सम्भावनाका क्षेत्रलार्इ अधिकतम उपयोग गर्न सक्ने जनशक्ति उत्पादन गर्नु नै नेपालको शैक्षिक प्रणालीको लक्ष्य हुनुपर्ने देखिन्छ । नेपालमा प्रचुर सम्भावनाका यी क्षेत्रमा काम गर्न योग्य ज्ञान सीपयुक्त जनशक्तिको चरम अभाव हुनु र ठूलो लगानी गरेर प्रमाणपत्र हात पारेका कयौं प्रमाणपत्रधारी जनशक्ति त्यस्ता प्रमाणपत्र रद्दीको टोकरीमा मिल्काएर विदेशिनु वा वेरोजागर भएर स्वदेशमै यत्रतत्र भौतारिनु नेपालको शैक्षिक क्षेत्रकै निकै विरोधाभासपूर्ण र कारूणिक दृश्य हो ।
त्यो भन्दा पनि दुःखको कुरा त अनुत्पात्दक क्षेत्रमा प्राप्त प्रमाणपत्रले घमण्ड जन्माएको छ । विदेशमा निकै कठीन श्रम गर्न तयार हुने त्यो वर्ग स्वदेशमा सामान्य श्रम गर्न समेत तयार देखिदैन । यो कमजोडी प्रमाणपत्रधारी व्यक्तिको नभएर हाम्रो नेपालको शिक्षा प्रणालीको गम्भीर त्रुटी हो भन्दा पक्कै पनि फरक नपर्ला । शिक्षा प्रणालीमा देखिएको यस्तो खोटको अन्तर्यमा वास्तविक जीवन पद्धतिसँग कटेको परीक्षामुखी घोकन्ते र प्रमाणपत्र केन्द्रित शिक्षा हो भन्ने कुरामा पनि सायदै दुर्इ मत होला । यस्तो वास्तविक जीवन पद्धतिसँग कटेको, आशा जगाउने भन्दा निराशाको व्यापार गर्ने र परिआउँदा सामान्य समस्या समाधान गर्न समेत नसक्ने शिक्षाले समाजमा कसरी सम्बृद्धि आउला र ? अनि यस्तो शिक्षाले कोरोना जस्ता घातक भाइरसको आक्रमणबाट बच्ने उपाय सुझाउन त झन् कसरी सक्ला र ?
निश्कर्ष
आज हामी सबै मानिस कोरोना आतंक, भय, त्रास र डरकै कारण घरभित्र लुक्न बाध्य भएका छौं । यस्ता आपत्ति पुनः आइलागे भने वा कोरोनाले नै विभिन्न रूप धारण गर्दै पटकपटक दुःख दिइरहे हामी त्यस्ता आपत्तीबाट बच्न के गर्छौं होला भन्ने प्रश्नको उत्तर खोज्न सक्ने शिक्षा प्रणाली अब समग्र मानवजगतलार्इ चाहिएको छ । त्यसकारणा यी सबैखाले राष्ट्रिय अन्तराष्ट्रिय अनुभवबाट पाठ सिकेर आवश्यक ज्ञानसीपयुक्त तथा जीवनमा आइ पर्ने जुनसुकै समस्या समाधान गरी जस्तोसुकै विपद्का बेलामा पनि आशा जगाउन सक्ने शैक्षिक प्रणालीको विकासका सम्बन्धमा चिन्तनमनन् गर्न यहि एकान्तवासको समयमै पो थाल्ने हो कि ? त्यसमा पनि झन् नेपालले त अन्य धेरै विकसित मुलुकले शिक्षा क्षेत्रमा गरेका धेरै काम नै गर्न सकेको छैन भने विश्वका ती विकसित मुलुकका दाँजोमा हामी नेपालीले झन् धेरै मेहनत गर्नुपर्ने देखिन्छ । त्यसैले आज विश्वलार्इ नै नयाँ ढंगले सोच्न बाध्य बनाएको कोरोना भाइरसकै कारण हामी नेपालीले पनि शिक्षा क्षेत्रमा ल्याउनु पर्ने परिवर्तनको खाका कोर्न सकियो भने त्यो उपलब्धीलार्इ कोरोना भाइरसले शिक्षा क्षेत्रमा पुर्याएको एउटा सकारात्मक असर वा कोरोनाको चुनौतिले खडा गरेको अवसर समेत भन्न सकिएला । त्यसकारण कोरोना भाइरसले खडा गरेको यो चुनौतिलाई अवसरमा बदल्न नेपालका शिक्षाविद् यहि एकान्तबासकै समयमा घोत्लन थाल्ने पो हो कि ?
लेखक म.र.ब क्याम्पस, इलामका सह प्राध्यापक हुन्