मानिसले हरेक खालका सफलता हात पारेको छ तर कोरोना जस्ता महामारीसँग जुध्न निकै कठिन भइरहेको छ । विकसित विज्ञान तथा प्रविधिको युगसम्म आइपुग्दा मानिसले चरा जस्तै उड्न सक्ने माछा झै तैरिन सक्ने मात्र होइन पृथ्वी भन्दा बाहिर समेत अवतरण गर्ने कार्य र विभिन्न अध्ययन अनुसन्धान एवं खोजि निति गर्न सक्षम भयो । तर आजको द्नुनियामा शक्तिशाली या विकसित भनिएका मुलुहरुलाई समेत कोरोनाले थला पारेको छ । अहिलेसम्म परिक्षण र एकान्त बास कोरोना रोकथामका मुख्य औजार भइरहेका छन् । विकसित मुलुकहरुमा समेत औषधि लगायतका सामाग्रीहरुको अभाव झेलिरहेका छन् । नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएको यस रोगको सुरक्षाको भरपर्दो उपाय भनेको सतर्कता र सावधानी नै हो ।
सन् २०१९ को डिसेम्बरमा चीनको हुवेइ प्रान्तको वुहान शहरमा देखा परेको कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएको छ । सानो भन्दा सानो जीवले अकल्पनीय स्वरुप लिंदा विश्व अर्थतन्त्रमा नै मन्दीको अवस्था सिर्जना भएको छ । कोरोना भाइरस (कोभिड–१९) पान्डेमिक (विश्वभर फैलिएको महामारी) भएको छ । भाइरसका कारण विश्वभर १ लाख ८ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने १७ लाख बढी मानिसहरु संक्रमित भइसकेका छन् । ४ लाख बढी मानिसहरु उपचार पछाडि निको भएका तथ्यांकहरु आइरहेका छन् । यी सबै आँकडाहरु बढ्ने क्रममा रहेका छन्। स्थिति भयावह बन्ने हो कि भन्ने त्रास एकातिर छ भने अर्कोतर्फ समग्र मानव जातिको क्रियाकलाप एवं व्यवहारमा सामुहिकता र एकाग्रताको आवश्यकता रहेको सन्देश प्रवाह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीब्ररुपले बढिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा संक्रमितको संख्या ८ हजार नाघेको छ । दैनिक ५ सय भन्दा बढी संक्रमितहरु थपिरहेका छन् । बहूसंख्यक नेपालीहरु भारतमा रहेका हुनाले र नेपाल भारतबीच खुला सिमाना रहेका कारण नेपालमा पनि कोरोना संक्रमणको चुनौति बढ्दै गइरहेको छ । यस्तो अवस्थामा हामि अझ बढी सतर्क रहनुपर्ने हुन्छ ।
यो भाइरसको संक्रमण रोकथामका लागि विश्वभर विभिन्न प्रयास भइरहेको त देखिन्छ तर सफलता हात परिरहेको पाइँदैन। विश्वभरका मानिस गरिबी, भोकमरी र रोगबाट मुक्त हुँदै गरेको अवस्थामा कोभिड–१९ जस्ता समस्याहरुबाट एकैसाथ थला परेका छन् । यद्दपि थला परिसकेको अवस्थामा तङ्गगरिन लाग्ने सामार्थ्य पनि फरक फरक हुन सक्छ । मानिसबाट मानिसमा सजिलै सर्नसक्ने र कुनै लक्षण नदेखिएका मानिसहरु पनि संक्रमित हुने गरेको पाइएका घटनाक्रमहरुबाट मानिसहरुलाई बढी नै सतर्कता र सावधानी अपनाउनुपर्ने आवश्यकता वोध भएको छ । मानिसलाई रोग लागिसकेको हुनसक्छ तर कुनै लक्षण नै नदेखिएको खण्डमा त्यस व्यक्तिबाट अन्य व्यक्तिहरुमा सजिलै कोभिड–१९ सर्न सक्ने हुँदा मानिसहरु बढी नै भयभित हुनुपर्ने अवस्था आएको हो । यस्तो भय एवं शंका निवारण गर्नको लागि धेरै भन्दा धेरै मानिसहरुको परीक्षण गरिनुपर्ने जानकारहरु बताइरहेका छन् ।
संसारभरी नै महामारी फैलिंदा नेपाल र नेपालीहरुको जनजीवन र विकासका गतिविधिहरुमा अवरोध नआउने त कुरै भएन । पर्यटन क्षेत्रमा नराम्ररी धक्का लागेको छ । नेपाल भ्रमण वर्ष नै स्थगन गर्नुपरेको छ । विकासका आयोजनाहरुको कार्यान्वयनमा यसै पनि विलम्व थियो अझ कोभिड–१९ को कारण त यी आयोजनाहरुको लागत मात्र बढेको छैन कि कार्य सम्पन्न हुने तिथि मिति धेरै पर पर ढकलिने सम्भावना प्रवल छ ।
कोभिड–१९ ले विश्ववयापी त्रास थपेको छ । विश्व नै एक गाउँको रुपमा विकास भइ सेवा, प्रविधि, शिक्षा तथा व्यापारका खातिर हेरक मुलुकका नागरिक हरेक मुलुकमा पुगिरहेको हुनाले यस महामारीलाई पनि सहजै फैलिने वातावरण मिलेको देखिन्छ । शायद चीनको वुहान शहरमा देखिएको कोभिड–१९ अहिलेको जस्तो विश्ववयापीकरणको प्रभाव नभएको भए अहिले जस्तो विश्व महामारीको रुप लिन कठिन हुने थियो होला र यसको रोकथाम गर्न पनि सहज हुने थियो । तर आजको विकसित प्रविधि र युवा लहर एवं रहरको कारण कुनै पनि मुलुकका मानिसहरु एकै मुलुक भित्र सिमित रहुन भनेर राख्न सकिने अवस्था पनि छैन । शिक्षा तथा रोजागरी लगायतका अवसरहरुको खोजीमा नेपाली ठूलो हिस्सा पनि विदेशिएको छ । आजकै समयमा हेर्दाखेरी विदेशमा छोरा छोरी या भाइ भतिजा वा इष्टमित्र वा साथी भाइहरु भएका मानिसहरुमा झन बढी सन्त्रास थपिएको छ । नेपालीहरु बढी रहेका मुलुकहरुमा कोभिड–१९ झनै प्रकोपको रुपमा फैलिएको हुनाले पनि पारिवारिक तनावको विषय बनेको छ । सिमामा आएर नेपालीहरु अड्किनु परेको छ । कोभिड–१९ को कारण दोहोरो तेहोरो मार परेको छ । तर यो रहर नभइ कोरोनाको कहर नै हो ।
अहिले चीन, दक्षिण कोरिया, हङ्गकङ्ग, ताइवान, जापान, जर्मनी तथा सिंगापुर लगायतका मुलुकहरुले व्यापक परीक्षणको माध्यमबाट कोभिड–१९ को जोखिम तथा भय न्यूनीकरण गरिरहेको समाचारहरु आइरहेका छन् । व्यापक परीक्षणका बाबजुद पनि लकडाउन, कवारेनटाइन तथा आइसोलेसनमा त्यति जोड नदिंदा अमेरिका, इटाली, स्पेन लगायतका मुलुकहरुमा ठूलो क्षति भइरहेको छ । ती मुलुकहरुमा दैनिक हजारौंको संख्यामा संक्रमित मानिसहरुको आँकडा आइरहेको छ । तर कोभिड–१९ को उद्गमस्थल चीनको वुहानमा भने मानिसहरुको चहलपहल शुरु भएका खबरहरु आइरहेका छन् । चीनले कोभिड–१९ रोकथाममा अपनाएका अनुभवहरु पनि अन्य मुलुकहरुका लागि सिकाइ हुन सक्छन् ।
लकडाउन गर्ने क्रममा सरकारले नागरिकलाई मानसिक रूपमा सुरक्षित तुल्याउनको लागि आवश्यक प्रवन्ध मिलाउनु त आवश्यक छँदैछ । दैनिक उपभोग्य वस्तुको आपूर्ति आफैमा महत्वपूर्ण छ । लकडाउनका कारण नागरिकहरुको दैनिक जनजीविकादेखि सिङ्गो मुलुकको अर्थतन्त्र नै घाइते बन्ने अवस्था देखिएको छ । सानो जीवाणुको कारण सारा विश्व नै खैलाबैलाको अवस्थामा पुगेका बेला नेपाल जस्तो रेमिटेन्समा आधारित अर्थतन्त्र रहेको मुलुकमा त झनै ठूला ठूला प्रभावहरु पर्न सक्दछन् ।
विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण लामो समयदेखिको राजनैतिक संक्रमणकाल अन्त्य भइ भर्खरै विकासको गति लिने क्रममा रहेको नेपालको विकास निर्माणमा ठूलो धक्का लागेको छ । एउटा सूक्ष्म जीवले विश्व प्रणाली नै अस्तव्यस्त पार्नेगरी सङ्कट निम्ताएको छ ।विश्रवका प्राय सबै मुलुकका हवाई सेवादेखि पारवहनका सबै माध्यम ठप्प भएका छन्, प्राय देशहरुमा सीमा बन्द तथा केही अत्यावश्यक सेवाबाहेक देशभित्रका अन्य सम्पूर्ण सेवा र आवतजावतमा प्रतिबन्ध गरिएका छन् । यी घटनाक्रमहरु वाध्यताका उपज हुन् । यहि रोगसँग जुध्नका लागि अपनाइएका सतर्कता र सावधानी नै हुन् ।
यो सबैको साझा समस्या भएको छ । एकल प्रयासले यसको रोकथाम गर्न असम्भव नै देखिन्छ । हाम्रा कतिपय धार्मिक, सामाजिक र साँस्कृतिक अभ्यासले समेत भाइरस फैलाउनमा भूमिका खेलिरहेका हुन्छन् । दक्षिण कोरिया तथा भारत लगायतका मुलुकहरुमा यी विषयहरुले चर्चा पाएका छन् । भाइरस संक्रमणले सिंगो विश्वलाई नै त्रासमय बनाएको छ । महामारीका रूपमा फैलिएको कोरोना संक्रमणसँग जुध्ने शायदै कुनै सहज उपायहरु भएको भए आजका दिनमा ठूलो क्षति झेलिरहेका अमेरिका, इटाली, स्पेन, इरान, बेलायत जर्मनी, फ्रान्स लगायतका मुलुकहरु त्यस्ता उपायहरु कुनै भए पक्कै पनि अभ्यास गर्ने थिए होला ।यो भाइरस संक्रमण भएको तीन महिना भन्दा बढी अवधि भएको छ । संक्रमित हुने र भाइरसको संक्रमणबाट मृत्यू बरण गर्ने मानिसहरुको संख्या दिन प्रति दिन बढि नै रहेको छ ।
कोभिड–१९ बाट बच्ने उपाय भनेको नै सतर्कता अपनाउनु र सावधानी हुनु हो । कोरोना संक्रमण हुनासाथ मरिहालिन्छ भन्ने भय पाल्नु हुँदैन । आत्मबल उच्च बनाउने हो भने कैयौं संक्रमण र रोगसँग सहजै जुध्न सकिन्छ । यसबेला सबै नेपाली उच्च मनोबल बनाएर घरमै बस्नुपर्छ । सरकारका निर्देशनहरुको जिम्मेवारीका साथ पालना गर्नुपर्दछ । नेपालले अझ बढी सावधानी र सतर्कता अपनाउनु जरुरी छ ।
पराजुली वनस्पति विभागका वैज्ञानिक अधिकृत हुन् । इमेल सम्पर्क parajrr@yahoo.com