इलाम।इलाम नगरपालिकाले सोमबारदेखि राहत वितरण शुरु गरेको छ ।
सोमबार इलाम नगरपालिका वडा नं. ६, ७ र ९ ले राहत वितरण गरेको हो । वडा नं. ६ मा पहिलो दिन एक सय ४८ परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । यसरीनै वडा नं. ७ ले एक सय ९८ परिवारलाई खाद्यान्न वितरण गरिएको छ भने वडा नं. ९ ले ९८ परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
कोरोना भाइरसको माहामारी रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण खाद्यान्न अभाव हुने मजदुर, असहाय र विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।
इलाम नगरपालिकाले १२ वटा वडाका २५ सय एक परिवारलाई राहत वितरण गर्ने नगरपालिकाले जनाएको छ । वडा नं. १ का दुई सय ३९ परिवार, वडा नं. २ का एक सय ६७ परिवार, वडा नं. ३ का एक सय १७ परिवार, वडा नं. ४ का दुई सय ४५ परिवार, वडा नं. ५ का एक सय ८३ परिवार, वडा नं. ७ का एक सय ९८ परिवार, वडा नं. ८ का दुई सय ७३ परिवार, वडा नं. ९ का तीन सय ८३ परिवार, वडा नं. १० का एक सय ७५ परिवार, वडा नं. ११ का एक सय एक परिवार र वडा नं. १२ का एक सय तीन परिवारलाई राहत वितरण गरिने भएको छ । नगरपालिकाले राहत वितरणका लागि आफ्नै मापदण्ड तयार गरेर सोही अनुसार राहत वितरण गरिरहेको छ । परिवार संख्या दुई जना हुनेलाई १० केजी चामल, एक लिटर खानेतेल, एक केजी दाल, चिनी एक केजी, आयो नुन एक पकेट, दुई थान साबुन र दुई जनाभन्दा बढी परिवार संख्या हुनेलाई २५ केजी चामल, दुई लिटर खानेतेल, दुई केजी दाल, चिनी एक केजी, आयो नुन एक पकेट, दुई थान साबुन राहत वापत वितरण गर्ने भएको छ । वडा नं. ६ ले वडा कार्यालयमै दूरी कायम राखेर राहत वितरण गरिएको वडाध्यक्ष माधव भट्टराईले बताए । वडा नं. ७ मा भने मापदण्ड अनुसारको कुपन वितरण गरी छ स्थानबाट खाद्यान्न लिने व्यवस्था गरिएको वडाध्यक्ष नरेश श्रेष्ठले बताए । पायक पर्ने स्थानबाट भीडभाड नहुने गरे खाद्यान्न वितरण गर्नका लागि पायक पर्ने स्थानबाट राहत सामग्री लिने गरे कुपन वितरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । यसरीनै वडा नं. ९ ले पनि विभिन्न स्थानमा पुगेर राहत वितरण गरिरहेको छ । वडा नं. ५ ले भने मंगलबार ८ बजेदेखि राहत वितरण शुरु गर्ने वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठले बताए । भीडभाड नहुँने गरेर छ स्थानबाट राहत वितरण गरिने पनि उनले बताए ।