सूर्योदय नगरपालिकाले चियामा लकडाउन हटायो

सुरक्षा सावधानी अपनाउनु पर्ने

  सरलपाटी संवाददाता

 683 पटक हेरिएको

फाइल तस्बीर

इलाम। लकडाउनको कारण बन्द रहेका चिया उद्योग सञ्चालन गर्ने सुर्योदय नगरपालिकाले निर्णय गरेको छ ।
बुधबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले चिया टिप्न शुरु गर्ने निर्णय गरेको हो । लक डाउनको कारण चिया उद्योग बन्द हुँदा चियाको पहिलो टिपाई ‘फष्ट फ्लस’ खेर गइरहेको छ । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई चिया टिपाई शुरु भएपछि उद्योगहरु सञ्चालन हुने बताउँछन् । ‘चिया उद्योगहरुसँग अनौपचारिक कुराकानी हुँदा उद्योगीहरु उद्योग शुरु गर्न तयार हुनुहुन्छ’, प्रमुख राईले भने,‘चिया टिपाई शुरु भएपछि केही दिनदेखि उद्योगहरु सञ्चालन हुन्छन् ।’
नगरपालिकाले कहिलेदेखि चिया उद्योग सञ्चालन गर्ने भन्ने विषयमा निर्णय नगरे पनि चिया किसान र उद्योगीको समन्वयमा चिया उद्योग सञ्चालनमा आउने नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले बताइन् । ‘उद्योग सञ्चालन गर्ने मितिनै नतोकिएको भएपनि किसान र उद्योगीको समन्वयमा उद्योगले चिया प्रशोधन थाल्छन्’, उपप्रमुख भट्टराईले भनिन्,‘उद्योगहरु चिया प्रशोधन गर्न तयार भए भोलिदेखिनै हरियो पत्ति टिप्दा हुन्छ ।’
नगरपालिकाले चिया टिप्न शुरु गर्ने निर्णय गरेपनि चिया उद्योगीहरु भने कहिलेबाट चिया प्रशोधन गर्ने भन्ने टुङ्गोमा पुगेका छैनन् । सूर्योदय नगरपालिका क्षेत्रका चिया उद्योगीहरुको संस्था सूर्योदय टि एशोसिएसनका सचिव गोपाल कट्टेलले नगरपालिकाले गरेको निर्णयको विषयमा आफुलाई जानकारी नभएको भन्दै संस्थागत निर्णय गरेर अघि बढ्ने बताए । ‘हामी संस्थागत छलफल गरेर अघि बढ्छौ, अहिलेको संकटको समयमा कहिलेबाट उद्योग सञ्चालन हुन्छ भनेर भन्न सकिएन ।’
राम्रो मुल्यमा विक्री हुने चियाको फष्ट फ्लस ‘पहिलो टिपाइको मुना’ बारीमानै हुर्किएपछि किसान चिन्तित छन् । नगरपालिकाले चिया टिपाई शुरु गर्ने निर्णय गरेपछि किसानले राहत अनुभूति गरेका छन् । अहिलेसम्म चियाको टिपाई नहुँदा इलाममा मात्रै १० देखि १२ लाख किलो हरियो पत्ति नष्ट भइसकेको चिया विकास कार्यालय फिक्कलका प्रमुख इन्द्र अधिकारी बताउँछन् । ‘यो सिजनको चियाको माग बढि हुन्छ, भाउ पनि राम्रो हुन्छ’, उनले भने, ‘इलाममा मात्रै दुई लाख किलो तयारी चिया हुने उत्पादनमा बारीमानै खेर गएको छ ।’
विश्वनै कोरोनाको महामारीबाट गुज्रिरहेको बेला चिया उद्योगहरुले क्रेतालाई तयारी चियाको नमूना समेत पठाउन सकेका छैनन् । ‘कसैले पनि चियाको नमूना पठाउन समेत पाएका छैनन्, चिया उद्यमी ज्योती अधिकारीले भने, ‘फष्ट फ्लस खेर जाने अवस्था भइसक्यो, कतैबाट नमूना पठाउन भनेर माग पनि आएको छैन, पठाउन सकिने अवस्था पनि भएन ।’
नेपालमा १२ हजा ६६ हेक्टरमा चिया खेती लगाइएको छ । त्यसबाट दश करोड ८० हजार किलो हरियो पत्ति उत्पादन हुन्छ । देशभरमा ११ हजार ४१ वगान छन् जिल्लागत रुपमा सवैभन्दा बढि इलाममा ६ हजार नौ सय ९५ वगान रहेको चिया तथा कफि विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ ।
देशभरमा एक सय तीन चिया उद्योगले बर्षेको १८ हजार नौ सय ५८ मेट्रिक टन तयारी चिया उत्पादन गर्ने गरेका छन् ।

सुरक्षा सावधानी अपनाउनु पर्ने

सूर्योदय नगरपालिकाले चिया टिप्दा समेत कोरोनाको संक्रमणबाट बच्नको लागि सुरक्षा सावधानी अपनाउनु पर्ने निर्णय गरेको छ । नगरपालिकाले चिया टिप्दा पञ्जा लगाउनु पर्ने, कम्तीमा एक एक घण्टामा साबुन पानीले हात धुनु पर्ने निर्णय गरेको छ । त्यस्तै चिया टिप्नेले घरैबाट चिया खाजा लगायत बन्दोबस्तीको सामान ल्याउनुपर्ने र स्वयम्ले मात्रै प्रयोग गर्नुपर्ने, किसानले २ बजेसम्म हरियो पत्ति संकलन केन्द्रमा पु¥याइसक्नुपर्ने, संकलन केन्द्रले ४ बजेसम्ममा उद्योगमा पु¥याई सक्नु पर्ने, चिया किसानले एउटा बोरामा ३० किलो भन्दा बढि चिया ढुवानी गर्न नपाउने, उद्योगले संकलन केन्द्रमा दुई जनाभन्दा भन्दा बढी कर्मचारी राख्न नपाउने र न्यूनतम् सुरक्षाका उपायहरु अपनाउनु पर्ने, चिया ढुवानी गर्ने गाडीमा २ जना भन्दा बढी श्रमिक राख्न नपाउने निर्णय गरेको छ ।
चिया प्रशोधन गर्दासमेत उद्योगहरुले तीन जना भन्दा बढि श्रमिकलाई काम लगाउन नपाउने र उद्योगहरुमा समेत सुरक्षाका न्यूनतम् शर्तहरु पुरा गर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै चिया ढुवानी गर्ने सवारी साधनले अनिवार्य रुपमा वडा कार्यालयमा दर्ता गरेर सवारी अनुमति लिनुपर्ने, चियाको टिपाई र प्रशोधनमा काम गर्ने मजदुरको विवरण दैनिक रुपमा वडा कार्यालयमा उपलब्ध गराउनुपर्ने, हरियो पत्ति ढुवानी गर्ने सवारीले मजदुर ओसार पसार गर्न नपाउने निर्णय गरेको छ । नगरपालिकाले तोकेको न्युनतम सुरक्षा सावधानीको उपाय अवलम्बन गरे नगरेको वडा कार्यालय मार्फत अनुगमन गर्ने नगरपालिकाको निर्णय छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार