इलाममा लेप्चा जातिको पाठ्यक्रम तयार

आफ्नै मातृभाषामा पढ्न पाइने

  सरलपाटी सम्वाददाता

 458 पटक हेरिएको

इलाम । भाषा अध्यापनको लागि इलाममा लेप्चा जातिको पाठ्यक्रम तयार भएको छ । नेपालमै लोपोन्मुख जाति मानिने लेप्चा जातिको पाठ्यक्रम इलामको रोङ गाउँपालिकाले तयार पारेको हो ।

लोपोन्मुख सुचिमा रहेको लेप्चा जातिको भाषा, संस्कृति संरक्षण गर्ने उद्धेश्यका साथ पालिकाले नेपाल आदिवासी जनजाति महासंघ इलामको सहयोगमा भाषाविद् हरिचन्द्र लावतीबाट लेप्चा जातिको पाठ्यक्रम तयार पारेको पालिका अध्यक्ष शम्शेर राईले जानकारी दिए ।

पहिलो पटक तयार पारिएको पाठ्यक्रमको पहिलो खण्डमा लेप्चा जातिको भाषा र सँस्कृति, दोस्रो खण्डमा पेशा र प्रविधि, तस्रो खण्डमा विज्ञान र चौथो खण्डमा गणित विषय रहेको छ । भाषाविद् लावतीका अनुसार, लेप्चा जातिको पाठ्यक्रम विश्वमा नै पहिलो पटक तयार पारिएको हो ।

आगामी शैक्षिक शत्र २०७७ बाट शुरु गर्ने गरी पाठ्यक्रम निर्माण भएको हो । निर्माण भएको पाठ्क्रमका आधारमा कक्षा एकको पाठ्यपुस्तकसँगै पाठ्यसामग्री पनि निर्माण भएको पालिकाले जनाएको छ । पाठ्यक्रममा विद्युतिय सिकाईसँग जोडेर अध्यापन गराउन र लेप्चा जातीको भाषा र संस्कृतिलाई व्यवसायीक बनाउन प्रविधि, विज्ञान र गणितिय सामग्रीहरु राखिएको छ ।

रोङ गाउँपालिकाले एक वर्ष अघि लेप्चा जातिको भाषा र संस्कृति संरक्षण गर्ने उदेश्यले गुरुयोजना निर्माण गरेको थियो । सोही गुरुयोजना अनुसार नै पालिकाले पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यसामग्री निर्माण गरेको पालिका अध्यक्ष राईको भनाई छ ।

निर्माण भएको पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्य सामग्रीको आधारमा पालिकाको वडा नम्बर ३ को चिण्डेपानीस्थित शारदा आधारभुत विद्यालयमा २०७७ को शैक्षिक शत्रबाट अध्ययन शुरु हुनेछ । अध्ययनका लागि गाउँपालिकाले प्लश टु उतीर्ण गरेका एक शिक्षक छनौट समेत गरीसकेको छ ।

एक हजार ६० जना जनसंख्या रहेको इलाममा लेप्चा समुदायका विद्यार्थीहरुलाई एकिकृत गरेर रोङ्गको शारदा आधारभूत विद्यालयमा नै अध्ययनको व्यवस्था गरिनेछ । लेप्चा जाति इलामको सूर्योदय, माई, इलाम नगरपालिका साथै माईजोगमाई र रोङ गाउँपालिकामा बासोबास गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार