मोवाइलको रिङटोनले झल्याँस्स बिउँझिन्छु । आमाको फोन आएको हुन्छ हत्त न पत्त उठाउँछु ।
उताबाट आवाज आउँछ, चार जनालाई लागिसक्यो रे नेपालमा तँ कसरी बसेकी छेस् ? बाहिर निस्किन पनि पाइन्न रे , चामल तरकारी छ छैन के खाएर बसेकी होलिस् ?
म, हैन आमा तेस्तो गारो केही छैन । सब्जीहरू पनि लिन जान पाइरहेकी छु । दिन भरी डिउटी मै हुन्छु अनि आएर कोठा भित्रै बस्छु । सबै बाहिर बाट आउने हरूलाई लागेको छ आमा फेरि तिनिहरूलाई अस्पतालमा सुरक्षित राखेका छन् नि। हजुर नआत्तिनु मलाई केही हुँदैन ।
फेरि आमाले रून्चे स्वरमा भन्नु हुन्छ, भन्छेस नि नानीआफ्नै काखमा भएजस्तो कहाँ हुँदो रहेछ र । फेरी तेरो त्यही अस्पतालको डिउटी । छ्यास्स कतै केही भैहाल्यो भने ।फेरी सबैका छोराछोरी बाबुआमासँगै छन् तँ भने ।
आमाका कुराले आँखाका डिल अगि रसाइसकेका हुन्छन् ।तर पनि सम्हालिदै संझाउने प्रयास गर्छु, टेन्सन लिनु पर्दैन आमा म सुरक्षित छु बरू हजुरहरू नि सुरक्षित बस्नु । अस्ति बहिनीलाई मास्क र सेनिटाइजर पठाकी थेँ त्यसको प्रयोग गर्नु । अनि घरबाट बाहिर ननिस्किनु नि ।
आमाको मन के मान्थ्यो र फेरि थप्नु भाे, भन्छेस् नि भन्न त गाईबस्तुलाई घाँस काट्न पाखा नगई हुँदैन तेरा बालाई झन् गाउँ नचारी खाको पच्दैन । आ केही हुँदैन भन्छन् भनेको मान्दैनन् ।
आमालाई एकचोटी बालाई फोन दिनु त बालाई संझाउने प्रयास गर्छु ।
बाले हेल्लाे गर्न नपाउँदै मायालु प्रश्न वर्षाउन थाल्नु भयाे, के गर्दै छेस् । बाहिर निस्किन देको छ छैन ? कोरोना कोरोना भन्छन् ईटाली कि कुन देशाँ मान्छे मरे भनेर याँ गाउँभरी सबै डराएर कुना पस्या छन् तेरी आमा उत्तिकै डराउँछे ।
हैन बा यो विश्वब्यापी माहामारी हो । आफैँ सचेत हुनु पर्छ नि यस्तो कुरामा । सरकारले लक डाउन भनेर बाहिर ननिस्किनु भनेको छ त्यो आफ्नै लागि हो नि बा । त्यो इटालीमा पनि यस्तै भाथ्यो सुरुमा, मान्छेहरूले हेल्चेक्र्याई गरे । अहिले खबर सुनिराख्नू भा होला प्रत्येक दिन सयौको ज्यान गुमिराको छ । हामी आफै सतर्क हुनु पर्छ नि बा । बरू आमालाई चाँही नआत्ती बस्न भन्नु ।म यहाँ सुरक्षित् छु । बालाई फाेनमै भने ।
लु नानी ल । त्यसो भए म पनि आजदेखि घरैमा बस्छु तेरी आमालाई पनि राम्ररी सम्झाउँछु । बा आज्ञाबारी बने ।
मैले विदा मागे, हुन्छ बा डिउटि जाने बेला भयो फोन राखेँ है ।
आमाको मन न हो के मान्थ्यो होला र । आँखामा आएको आँशुलाई पुस्छु र डिउटी जान तयार हुन्छु ।