सेवा सुविधाका केही रकम स्थानीय विपद तथा प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने

कोरोना सावधानी

  सरलपाटी सम्वाददाता

 529 पटक हेरिएको

इलाम । इलामको माङ्गसेबुङ्ग गाउँपालिकाले जनप्रतिनिधिले पाएका सेवा सुविधाका केही रकम स्थानीय विपद तथा प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने भएको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण हुने जोखिमबाट बच्न पालिकाले कोषमा रकम जम्मा गर्ने भएको हो ।

गाउँ कार्यपालिकाको वैठक बस्दै पालिकाका ३३ जना जनप्रतिनिधिले चैत्र महिनामा पाउने सेवा सुविधाबाट पाँच दिनको रकम कोषमा जम्मा गरिने पालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।

उनले भने,‘माङ्गसेबुङ्ग जिल्लाकै विकट क्षेत्र भएको पालिका मानिन्छ, चीनको वुहानबाट विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण हुन सक्ने जोखिमबाट बच्न पालिका बैठक बसी यस्तो निणर्य गरिएको हो ।’ उनले थपे,बैठकमा जम्मा १२ वटा निर्णय गरिएका छन् ।

जसमा खाद्यान्न संकट टार्न पालिकाका ६ वडाका विभिन्न तीन स्थानमा अत्यावश्यकीय वस्तु स्टक समेत गरिनेछ । ती स्थान चतुरे, मनिपुर र मर्चेबुङ्ग रहेका छन् । यी स्थानमा पालिकाबासीका लागि चामल चतुरे र मनिपुरमा ३० केजीका ५०÷५० बोरा, मर्चेबुङ्गमा ३० केजीका ३० बोरा, खानेतेल चतुरे र मनिपुरमा २०÷२० कार्टुन, मर्चेबुङ्गमा १५ कार्टुन र नुन तीनै स्थानमा २÷२ बोरा स्टक गरेर राखिनेछ ।

यसैगरी निःशुल्क वितरणका लागि पाँच÷पाँच हजार माक्स तथा साबुन र सेनिटाईजर र थर्मल गन खरिद गर्ने, पालिकासँग जोडिएको सिमानाकाको पाँच प्रवेशद्धारमा स्वास्थ्य परिक्षण (थर्मल गन र सेनिटाईजर) को व्यवस्था गर्ने, वडा नम्बर ४ मा रहेको जनता आधारभूत विद्यालयको खेलमैदानमा ५० वटा क्वारेनटाइनको व्यवस्था मिलाइने, जनचेतनामूलक कार्यक्रम गर्ने, पालिकामा लाग्ने सप्ताहिक तथा पाक्षिक हाटबजार अर्को सुचना प्रकाशन नभईन्जेलसम्म बन्द गर्ने, चैत्र १० देखि २१ सम्म पालिकामा अत्यावश्यक सेवा बाहेक अन्य सेवालाई ठप्प गर्ने लगायतका निर्यण गरिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार