इलाम । इलाममा रहेका बैंक तथा वित्तिय सस्थाका कर्जाको व्याज र हर्जना, स्थानिय सरकारले लिने कर, साथै बहालमा रहेको उद्योगी व्यवसायीहरुको घरभाडामा सहुलियत प्रदान गरीदिन इलाम उद्योग वाणिज्य संघले सबैमा अनुरोध गरेको छ । नोबेल कोरोना भाइरस (COVID 19) का कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष असर परेकाले संघले विज्ञप्ती निकाल्दै सबैमा सहुलियतको माग गरेको हो ।
संघका अध्यक्ष इश्वरलाल चिपालु र महासचिव हेमन्त गौतमद्धारा हस्ताक्षरित आइतबार निकालिएको विज्ञप्ती मार्फत सबैमा अनुरोध गरेको संघका अध्यक्ष चिपालुले बताए । विज्ञप्तीमा भनिएको छ, ‘नेपालमा हालसम्म कोरोनाको संक्रमण नदेखिएता पनि छिमेकी राष्ट्र भारत र चिनमा यसको प्रभाव देखिएको छ । त्यसैले विश्व स्वास्थ्य संगठनले समेत नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएको छ । नेपाल र नेपालीले समयमा नै सचेत हुन सके भाइरसको संक्रमणबाट बच्न सकिनेछ । यसबाट बच्न व्यक्ति स्वयम नै सचेत हुनु पर्दछ ।
भाइरसको सक्रमणबाट बच्न व्यक्ति आफैले अपनाउनु पर्ने सावधानीमा कुनै कामका लागि बाहिर जानु पर्ने भए माक्सको प्रयोग गर्ने, बारम्बार साबुन पानीले हातमुख धुने, व्यक्तिगत सरसफाईमा ध्यान दिने, अनावश्यक भिड नगर्ने, सेनिटाइजरको प्रयोग गर्ने, रुघाखोकी तथा ज्वरो आएमा वा सास फेर्न गाह्रो भए तुरुन्त स्वास्थ्य संस्थामा जाने र चेकजाँच गराउने लगायतका उपायहरु अपनाउन समेत विज्ञप्ती मार्फत सबैलाई सुझाइएको छ ।
यस्तै नेपालका विभिन्न स्थानबाट इलाम भित्रनेको संख्या बढ्दै गएको छ । यसरी बाहिरबाट इलाम प्रवेश गर्ने सबैलाई आ–आफ्ना आफन्तले एक हप्तासम्म सुरक्षित स्थानमा बस्न लगाउने यसपछि मात्र वाहिर आउजाउ गर्न दिने जस्ता गतिविधि गर्नमा समेत विज्ञप्ती मार्फत सबैलाई आग्रह गरिएको छ । यसका साथै सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई उपभोत्तालाई ठग्ने, कालोबजारी गर्ने जस्ता कार्य नगर्न र नगराउनमा समेत सचेत बन्न आग्रह गरिएको छ ।
कोरोना भाइरसबारे सचेतना जगाउन सरकारले जारी गरेको विभिन्न जानकारी मुलक सूचना तथा पर्चा, पम्प्लेट वितरणमा संघले सक्रिय भूमिका निर्वाह गर्ने समेत यसै विज्ञप्ती मार्फत संघले प्रतिवद्धता जनाएको छ ।


433 पटक हेरिएको 






