‘नआत्तिनुस् न, २५० किलोमिटर भन्दा कम दूरीका रुटमा गाडी चल्नेछन्’

सवारी साधन पुरै ठप्प हुदैन

  सरलपाटी सम्वाददाता

 360 पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै सोमबारदेखि लामो दूरीका सार्वजनिक गाडी चलाउन रोक लगाउने घोषणा गरे ।

लामो दूरीका सार्वजनिक गाडीमा मात्रै रोक लगाउने सरकारको निर्णयले मानिसहरुमा कौतुहल पैदा भएको छ । लामो दूरी भनेको कत्तिसम्मलाई भन्ने र सार्वजनिक बाहेकका गाडी चलाउन पाउने कि नपाउने भन्नेबारे सरकारले स्पष्ट पार्न भने सकेको छैन ।

तर, सवारी ऐनमा उल्लेख भए अनुसार लामो दूरी भन्नाले २५० किलोमिटर भन्दा माथिकालाई बुझ्न सकिन्छ । २५० किलोमिटर भन्दा धेरै दूरीलाई लामो दूरी भनेर सवारी ऐनले किटान गरे पनि सरकारले भने यति नै दूरीलाई लामो दूरी भनिन्छ भनेर किटान नगरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सूचना अधिकारी एवं एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सवारी ऐन अनुसार १ सय किलोमिटरदेखि २५० किलोमिटरसम्मको दूरीलाई मझ्यौला दूरी रुट भनिन्छ । यस्तै २५ देखि १ सय किलोमिटरसम्मको दूरीलाई छोटो दूरी भनेर व्याख्या गरिएको छ । २५ किलोमिटरभन्दा तलको दूरीलाई भने स्थानीय रुट भनेर सवारी ऐनमा व्याख्या गरिएको महाशाखाले जनाएको छ ।

सवारी ऐनमा भएको व्यवस्था र सरकारले गरेको घोषणाअनुसार चैत १० गतेदेखि २५० किलोमिटरभन्दा धेरै दूरीका सार्वजनिक गाडी मात्रै रोकिने भएको हो । २५० किलोमिटरभन्दा कमका लागि कुनै रोकटोक छैन ।

यस्तै सरकारले सार्वजनिक गाडीबाहेक अरु गाडी चलाउन पाउने कि नपाउने भन्ने विषयमा पनि यकिन गरेको छैन। मोटरसाइकल, ढुवानीलगायत गाडीमा रोक लाग्छ कि लाग्दैन भन्ने विषयमा ट्राफिक प्रहरी महाशाखा नै अन्यौलमा छ ।

महाशाखाका सूचना अधिकारी एवं एसपी जीवनकुमार श्रेष्ठले भने , ‘प्रधानमन्त्रीले लामो दूरीको सार्वजनिक गाडीमा रोक लगाउने भनेका छन् । यस विषयमा आधिकारीक पत्र आइसकेको छैन, खासमा के हो भन्ने कुरा पत्र आएपछि मात्रै थाहा हुन्छ होला ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार