इलाम । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका इलाम नगरपालिकाले नगरले अत्यावश्यक सेवाअन्तर्गत रहेका स्वास्थ्य संस्था पूर्ण रूपमा सञ्चालन गर्ने र दमकल, खानेपानी, सरसफाइ, जिन्सी र नगर प्रहरी सेवा पूर्ण रूपमा सञ्चालन गर्ने भएको छ ।
कार्यालयको सवारी साधन तथा मेसिनरी उपकरण र चालकलाई जुनसुकै समयका लागि स्ट्याण्डवाइ राख्ने , कर्मचारीहरूलाई किरिया विदा, बिरामी विदा र प्रसूति विदा बाहेक अन्य विदा नदिई कार्यालयले बोलाएका जुनसुकै वखत अनिवार्य उपस्थित भई कार्य क्षेत्रमा परिचालन हुन र स्ट्याण्डवाइ रहन निर्देशन दिने भएको छ ।
त्यस्तै, अत्यावश्यक खानेपानी सेवाका मिटर रिडरलाई चेतनामूलक तथा सन्देशमूलक पर्चासहित घरदैलो अभियानमा परिचालन गरिने भएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि इलाम नगरपालिकाले पाँच सदस्य कार्यसमिति गठन गर्ने भएको छ । समितिको संयोजकमा निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमकुमार गौतम, सह–सयोजकमा लेखा अधिकृत नारायण ढकाल, सचिवमा प्रशासकीय अधिकृत रामकुमार शाह र सदस्यमा इन्जिनियर दीपकप्रसाद गुरागाईं, स्वास्थ्यमा शाखा प्रमुख रमन्ता पौडेल रहेको ५ सदस्यीय कार्यदल गठन गर्ने भएको छ ।
कार्यदलले दैनिक बैठक गरी स्थितिको जानकारी प्रमुखलाई दिने र निर्देशन अनुसार आवश्यक प्रबन्ध गर्ने भएको छ । यसैगरी इलाम नगरपालिका वडा नं। ६ सिंगफ्रिङस्थित डा। मेघबहादुर पराजुली सामुदायिक अस्पताल हाल बन्द रहेको हुनाले यस महामारीको अवस्थालाई दृष्टिगत गर्दै सो अस्पताललाई क्वारेन्टाइन तथा आइसोलेसन वार्डका रूपमा प्रयोग गर्न गराउनका लागि तत्काल आवश्यक कारबाही अगाडि बढाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने भएको छ ।
नगर कार्यपालिका कार्यालयअन्तर्गत गठित कार्यदलले यस कार्यलाई तत्काल पहल गरी नगरपालिकाबाट आवश्यक सहयोग गर्ने समेत निर्णय भएको इलाम नगरपालिका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए ।


275 पटक हेरिएको 






