इलाम । सहिद स्मारक ए डिभिजन लिग विजेता काठमाडौंको मछिन्द्र क्लब र आयोजक माइभ्याली फुटबल क्लब इलामबीच माईभ्याली गोल्डकपको उपाधि कब्जाको लागि शनिबार प्रतिष्पर्धा हुँदैछ ।
इलाममा जारी माईभ्यालीमा पहिलो पटक सहभागी भएको मछिन्द्रले सेमी फाइनलमा भारतको मानेभञ्ज्याङ फूटबल क्लबलाई पराजित गर्दै फाइनलको स्थान पक्का गरेको हो । आयोजक माइभ्यालीले भने त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै प्रतियोगिताको फाइनलको यात्रा तय गर्न सफल भएको हो ।
पहिलो पटक फाइनलमा पुगेको आयोजक माइभ्याली इतिहास नाम कमाउदै पहिलो रेकर्ड राख्ने दाउमा छ । लिग विजेता मछिन्द्रलाई पराजित गर्दै विजेता बनेर इतिहास बनाउन आतुर आयोजक माइभ्यालीबाट विभिन्न ए डिभिजन क्लबका खेलाडीको कलेक्सन टिमले प्रतिष्पर्धा गर्नेछ ।
व्यवसायिक खेल यात्रा सुरु गरीसकेका गोल रक्षक देव लिम्बु फ्रेण्डस् क्लवबाट माईभ्यालीमा आएका हुन् । जावलाखेलबाट खेल्ने खेलाडी विशाल तामाङ, ब्रिगेड ब्वाइजका शिशिर लेखीले माईभ्यालीको टिमबाट मछिन्द्रलाई प्रतियोगितामा चुनौती दिदैछन् ।
ए डिभिजन लिगमा उदियमान खेलाडी घोषित भएका मिड फिल्डर दर्शन गुरुङ र रक्षापंतिका छिरिङ गुरुङ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेकाले आयोजक टिममा उनीहरुको अभाव खड्किन सक्छ । तर माईभ्यालीका लागि विदेशी खेलाडी एन्ड्रि थेरी मछिन्द्रका लागि बार सावित समेत हुनसक्छन् । आफ्नो टिमले प्रतियोगीता जित्नै पर्ने कुनै दवाब नभएकाले सहज तरिकाले प्रतियोगिताको मैदानमा उत्रने माइभ्यालीका प्रशिक्षक दर्शन भक्तराजले बताए ।
उनले भने, ‘माईभ्यालीको छैटौँ सस्करणमा पहिलो पटक मछिन्द्रसँग फाइनल खेल खेल्न पाएकोमा आयोजकको टिम एकदमै उत्साहित छ’, उनी थप्छन्, ‘त्यो नै हाम्रो टिमको लागि फाइदा हो ।’ आयोजकलाई घरेलु मैदानको सुविधा छ । दर्शकको चर्को समर्थनले आयोजक उच्च मनोबल सहित खेलमैदान उत्रिनेछ ।
मछिन्द्र माइभ्यालीमाथि कब्जा जमाउँदै ह्याट्रिक गर्ने दाउमा छ । मछिन्द्र ए डिभिजन लिग, झापाको सताक्षी गोल्डकप विजेता भएकाले यस टीमलाई प्रतियोगितामा विजयी हुनै पर्ने दबाब छ । तीन जना विदेशी खेलाडी सहित मछिन्द्रमा अनुभवी खेलाडीका कारण उपाधी हुत्याउन केही सहज हुने देखिन्छ ।
राष्ट्रिय टोलीमा परेका खेलाडीले समेत मछिन्द्रका तर्फबाट यस प्रतियोगीतामा खेलिरहेकाले जीत हासिल गर्न केही सहज छ । मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल माइभ्यालीको उपाधि जित्ने दावी गर्दै भन्छन्, ‘हामी प्रतिष्पर्धीको खेल हेरेर मैदानमा नै रणनीति बनाउँछौ’, उनी भन्छन्, ‘हाम्रो सेट टिम भएकाले उपाधि जित्छौ भन्ने छ ।’
आयोजक टीम खेलेरै फाइनल पुगेको टिम भएकाले फाइनल खेलमा कडा प्रतिष्पर्धा हुने कटुवालले बताए । उनी भन्छन्,‘सेट टिम भएकाले खेल खेल्दा एक अर्कामा राम्रो सम्वनय भने हुने नै छ । तर खेलमैदान कडा भएकाले छिट्टो–छिट्टो खेल खेल्नु पर्ने दबाव छ । बल नियन्त्रण गरेर प्रहार गर्न भने केही चुनौती रहेको उनको भनाई छ ।
छैटौ संस्करणमो माईभ्याली विजेताले आठ लाख रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले पाँच लाख रुपैयाँमा पाउनेछन् । माइभ्यालीको पहिलो संस्करणमा त्रिभुवन आर्मीले गोल्डकपको उपाधी हात पारेको थियो । आर्मीले सडन डेथमा थ्रिस्टार विरुद्ध जित निकालेको थियो ।
दोस्रो र तेस्रोमा लगातार दुई संस्करण झापा ११ विजयी भएको थियो । दोस्रोमा एपिएफ र तेस्रोमा आर्मीलाई झापाले पराजित गरेको थियो । चौथो संस्करणमा थ्रिस्टारले मनाङलाई पराजित गर्दै उपाधि कब्जा गरेको थियो । पाँचौ संस्करणमा हिमालयन शेर्पा विरुद्ध विदेशी क्लब दाउफिन्सले जित निकालेको थियो ।