इलाम । आयोजक माइभ्याली फुटबल क्लब इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सडन डेथमा सहिद स्मारक ‘ए’ डिभिजन लिग उपविजेता त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै आयोजकले पहिलो पटक फाइनलको यात्रा तय गरेको हो ।
निर्धारित सयममा १–१ गोलको बराबरी भएपछि खेल थप समयमा धकेलिएको थियो । थपिएको समयमा खेलको नतिजा ननिस्किएपछि खेल टाइब्रेकर गराइएको थियो । ट्राइब्रेकरमा समेत बराबरी गोल भएपछि सडन डेथका आधारमा खेलको निर्णय लिइएको हो ।
खेलमा माइभ्यालीले अग्रता लिएको थियो । खेलको ३१ औ मिनेटमा माइभ्यालीका किरण राईले आर्मीका गोल रक्षक बिवस चौधरी अघि बढेको मौकामा गोल गर्दै माइभ्यालीलाई शुरुवाती अग्रता दिलाए । खेलको ४१ औ मिनेटमा आर्मीका सन्तोष तामाङ्गले बराबरी गोल गरे । तामाङ्गले प्रहार गरेको फ्रिकिकले बार छल्दै जाली चुमेको थियो ।
सडन डेथमा आर्मीका भरत चौधरीले प्रहार गरेको पेनाल्टी बाहिरिएको थियो । टाइब्रेकरमा माइभ्यालीका गोल रक्षक देव लिम्बुु, एन्ड्रि थेरी, इन्द्रजित क्षेत्री, पासाङ शेर्पा, प्रिजन तामाङले गोल गरेका थिए । माइभ्यालीको कप्तान विशाल तामाङले पोष्ट बाहिर प्रहार गरेका थिए भने । सरन बस्नेतको पेनाल्टी प्रहार आर्मीका गोलरक्षक बिवस चौधरीले बचाएका थिए ।
आर्मीका लागि दिपक गुरुङ्ग, राजु आले, दिप लामा र राजिव गुरुङ्गको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो । विकास तामाङ र भरत चौधरीको प्रहार पोष्ट बाहिरिएको थियो भने सन्तोष तामाङको पेनाल्टी प्रहार बारमा ठोक्किएर फर्किएको थियो । खेलमा आर्मीका विवेक बस्नेतको प्रहार बारमा लागेर रिबाउन्ड भएको थियो । आर्मीको रिबाउन्ड प्रहार गोल रक्षक देव लिम्बुले बचाए ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै देव लिम्बुले आर्मीका थुप्रै प्रहारलाई बिफल पारिदिए । लिम्बुले खेलको म्यान अफदि म्याच घोषित हुँदै दश हजार रुपैयाँ प्राप्त गरे । निर्धारित समयमा पहेलो कार्ड पाएका विबेक बस्नेतले थपिएको समययमा अर्को फाउल गरेपछि दोस्रो पहेलो कार्ड पाएपछि मैदान छाड्नु परेको थियो । त्रिभुव आर्मी क्लबले माइभ्यालीको पहिलो संस्करण जितेको थियो भने तेस्रो संस्करणमा उपविजेता बनेको थियो ।
माइभ्याली गोल्डकपको उपाधिका लागि शनिबार माइभ्यालीले लिग विजेता मछिन्द्र क्लबको सामना गर्नेछ । माइभ्यालीले पहिलो चरणमा ग्यान्टोक सिटि फुटबल क्लब, क्वार्टर फाइनलमा मोहम्मडन स्पोर्टिङ्ग क्लब कोकत्ता र सेमीफाइनलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै फाइनमा स्थान पक्का गरेको हो । प्रतियोगीताको फाइनल खेल २४ गते हुनेछ । गोल्डकपको विजेताले आठ लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


433 पटक हेरिएको 






