माईभ्याली गोल्डकपः मछिन्द्र ट्राइबेकरमा भाग्यमानी

गोर्खा ब्वाइज रुपन्देही विरुद्ध मछिन्द्रको संघर्षपूण जित

  सरलपाटी सम्वाददाता

 614 पटक हेरिएको

इलाम । इलाममा जारी माईभ्याली गोल्डकपको छैटौ संस्करणमा गार्खा ब्वाईज क्लब रुपन्देही विरुद्ध संघर्षपूर्ण जित निकाल्दै लिग विजेता मछिन्द्र क्लब काठमाडौं सेमीफाइनलमा प्रवेश गरेको छ । इलामको ठूलो टुडिखेलमा सोमबार भएको खेलमा रुपन्देहीलाई ट्राइबेकरमा ५–३ गोल अन्तरले पराजीत गर्दै मछिन्द्रले सेमी फाइनलमा स्थान पक्का गरेको हो ।

रुपन्देहीका खेलाडी हेमजातको पेनाल्टी मछिन्द्रका गोल रक्षक विशाल श्रेष्ठले बचाएका थिए । रुपन्देहीका तर्फबाट गौतम श्रेष्ठ, पासाङ लामा र फोडे फोन्नाले गोल गरेका थिए । मछिन्द्रको तर्फबाट देवेन्द्र तामाङ, रञ्जित धिमाल, विमल घर्ती मगर, बुद्ध चेम्जोङ र दिनेश राजवंशीको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो ।

निर्धारित र थप समयमा समेत गोल रहित बराबरी भएपछि प्रतियोगिताको खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलमा मछिन्द्रले मध्यान्तर अघि तीन वटा मौका निकालेको थियो । मछिन्द्रका विशाल राईको पासमा रञ्जित धिमालको प्रहार गोल पोष्टको फ्रेममा परेन ।

त्यस्तै रञ्जित धिमालको क्रसलाई पेनाल्टी क्षेत्रमा पाएका बिमल घर्तीमगरले गोल गर्न सकेनन् । रञ्जित धिमालको फ्रि किकमा विशाल राईको प्रहार रुपन्देहीका गोल रक्षक सुजित गुरुङ्गले बचाएका थिए । नेय एन्ड्रोसको शसक्त प्रहार समेत बार नजिकैबाट बाहिरिको थियो ।

रुपन्देहीका लागि निर बहादुर आलेले पनि पाएको मौकामा गोल गर्न सकेनन् । मध्यान्तर पछि समेत उनले पाएको अर्को मौका पनि गुमाए । सुरजित ठकुरीको फ्रिकिक अदम्मा डुम्बेयलेको हेड गोल पोष्ट नजिकैबाट बाहिरियो । निर बहादुुर आलेको क्रस पनि फोडे फोन्नाले गुमाएपछि रुपन्देही प्रतियोगीताबाट बाहिरिनु परेको छ ।

रुपन्देहीका भारत नागाल्याण्डको कोहिमा इगल क्लबलाई पराजित गर्दै क्वार्टर फाइनमा प्रवेश गरेको थियो भने मछिन्द्रले बाइमा क्वार्टर फाइनल खेलेको हो । सोमबारको खेलको म्यान अफ दि म्याच मछिन्द्रका रञ्जित धिमाल घोषित भएका छन् । उनले दश हजार रुपैयाँ नगद प्राप्त गरे ।

रुपन्देहीका प्रशिक्षक किशोर कुमार केशीले पाएको मौका गुमाउँदा खेलमा हार व्यहोर्नु परेको बताए । ‘खेलमा हार ब्यहोरेपनि आजको खेलमा म सन्तुष्ट छु,’उनले भने,‘पाएको मौका सदुपयोग गर्न नसक्दा हार ब्यहोर्नु प¥यो ।’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले आफ्नो टिमका खेलाडी राम्रो फममा भएकाले उत्कृष्ट प्रदर्शन गरेको बताए । उनले सेमी फाइनलको लागि अझ राम्रो तयारीका साथ मैदान उत्रिने प्रतिक्रिया दिए ।

सेमी फाइनलमा मछिन्द्र र भारतको मानेभञ्ज्याङ फुटबलक्लबीच हुनेछ । मंगलबार अन्तिम क्वार्टर फाइनल खेलमा आयोजक माइभ्यालीले फुटवल क्लबले भारत कोलकत्ताको मोहम्मडन स्पोर्टिङ क्लबको सामना गर्ने छ ।

२४ गतेसम्म सञ्चालन हुने प्रतियोगीताको विजेताले आठ लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने माईभ्याली फूटबल क्लव इलामका अध्यक्ष धिरेन चेम्जोङ्गले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार