महासंघको छैटौ जिल्ला सम्मेलन र महिला उद्यमी भेला सम्पन्न

महासंघले नयाँ समिति चयन गर्ने

  सरलपाटी सम्वाददाता

 415 पटक हेरिएको

इलाम । नेपाल घरेलु तथा साना उद्योग महासंघ इलामको छैटौ जिल्ला सम्मेलन तथा पाँचौ महिला उद्यमी भेला शनिबार इलाममा सम्पन्न भएको छ ।

जिल्लाको सुनगाभा विकास संस्था इलामको सभाहलमा सम्मेलन तथा भेलाको उद्घाटन समारोह सम्पन्न भएको हो । उद्घाटन समारोहको अवसरमा महासंघले एक सफल उद्यमीलाई सम्मान गरेको छ । सम्झना ढाका उद्योगकी उद्यमी देवकुमारी लिम्बुलाई सफल उद्यमीको रुपमा महासंघले सम्मान गरेको महासंघका सचिव कृष्णकुमार राईले जानकारी दिए ।

लिम्बुलाई दोसल्ला र सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो । यस्तै उद्घाटनकै अवसरमा पाँच जना विशेष अतिथिलाई मायाको चिनो समेत प्रदान गरेको छ । महिला उद्यमी इकाइ केन्द्रीय अध्यक्ष अञ्जु शिवा उपाध्याय,केन्द्रिय महासचिव डम्बर रेग्मी, महासंघका केन्द्रिय सदस्य राजेन्द्र भारती, नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय सदस्य ऋषिप्रसाद श्रेष्ठ, घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय इलामका उद्योग प्रमुख युवराज घोर्साईलाई मायाको चिनो प्रदान गरिएको हो ।

समारोहलाई सम्बोधन गर्दै स्थानिय सरकारले उद्यमीलाई चर्को कर उठाएकै कारण उद्योग दर्तामा कमी आएको महासंघका अध्यक्ष दिनेश श्रेष्ठले बताए । उनले भने,‘ स्थानिय तहमा उद्योग दर्ता गर्दा उद्यमीले दर्ता शुल्क नै छ हजार सात सय तिर्नु पर्ने तितो सत्यलाई स्वीकार गर्नु पर्ने परिस्थिती छ ।’ यसमा स्थानिय सरकारको ध्यान जान जरुरी छ । उनले थपे, ‘यस्तो चर्को कर लगाउने हो भने उद्यमीले उद्योग दर्ता गरेर सञ्चालन नै गर्न नसक्ने अवस्था आउने भएकाले सहज वातावरण सिर्जना गर्न जरुरी छ ।’

सम्मेलनमा उद्योग वाणिज्य संघकी प्रतिनिधि खिना बस्नेत, महिला उद्यमी महासंघ इलामकी अध्यक्ष सुशिला सापकोटा, अलैची व्यवसायी संघ इलामका अध्यक्ष विजय खाकी लगायतले आ–आफ्नो विचार राखेका थिए । उद्घाटन समारोह पश्चात महासंघले शनिबार नै नयाँ समिति समेत चयन गर्ने महासंघका सचिव राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार