माईभ्याली गोल्डकपः सिक्किमलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक माईभ्याली विजयी

भोली मानेभञ्ज्याङ दार्र्जििलङ र झापा–११ बिच प्रतिस्पर्धा हुने

  सरलपाटी सम्वाददाता

 447 पटक हेरिएको


इलाम । इलाममा शुक्रबार भएको छैटौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपमा आयोजक माईभ्याली फूटबल क्लब इलाम विजयी भएको छ । सिक्किमको ग्यान्टोक सिटी फुटबल क्लबलाई शुन्यका विरुद्ध २ गोल गर्दै आयोजक टिमले क्वाटरफाइनलको स्थान सुरक्षित गरेको हो ।

खेलको सुरुबाट सिक्किमलाई दबाबमा राखेको इलामको जितमा जर्सी नम्बर ३ का खेलाडी जोर्डन जुनियर नेडेम्बाले २ गोलको योगदान गरेका थिए । नेडेम्बाले खेल सुरु भएको ४ मिनेटमा नै प्रतियोगिताको पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

सुरुमै एक गोलले पछि परेको सिक्किम सामु दोस्रो गोल मध्यान्तरपछि इन्जुरी समयमा पुनः नेडेम्बेले नै दोस्रो गोल गरेपछि जीत निश्चित भएको हो । माईभ्यालीले चौथो संस्करणको खेलमा समेत कास्की ११ लाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । यो यस क्लबको दोस्रो जीत हो ।

यता सुरुवातदेखि नै विपक्षीको दबाबमा परेको सिक्किमले भने पटक–पटक पाएको मौकालाई सदुपयोग गर्न नसक्दा पुनः खेलमा फर्कन नसकेका हुन् । प्रतियोगितामा माईभ्याली फूटबल क्लबका जर्सी नम्बर १२ का शिशिर लेखी म्यान अफ दि म्याच घोषित भए । उनलाई नगद १० हजार रुपैंयाँले पुरस्कृत गरिएको छ ।

सिक्किमका कोच मायाल डोक लेप्चाले कुनाल तामाङ्गको पास सदुपयोग गर्न नसक्दा हार्नु परेको बताएका थिए । यता माईभ्यालीका कोच दर्शन भक्तराजले भने खेलाडीलाई पूर्व तयारीका लागि राम्रो समय दिन सकेका थिएनौँ । निक्कै गाह्रो होला भन्ने लागेको थियो तर पनि जीत निकाल्न सफल भएका छौँ । अबको टिमसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउन अब भने खेलाडीका लागि धेरै समय दिने बताए ।

प्रतियोगितामा शनिबार हुने पहिलो क्वाटरफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्र्जििलङ र झापा–११ फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । माइभ्याली फूटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको फाइनल फागुन २४ गते हुने आयोजक माईभ्याली फूटबल क्लव इलामका अध्यक्ष धिरेन चेम्जोङ्गले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यो प्रतियोगिता वि.सं.२०७१ सालदेखि हालसम्म निरन्तर भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार