५३ हजार भन्दा बढीलाई दादुरा रुबेला खोप लगाइने

खोप अभियान फागुन १ बाट सुरु

  सरलपाटी सम्वाददाता

 945 पटक हेरिएको

इलाम । इलामका १० स्थानिय तहका ५३ हजार भन्दा बढीलाई दादुरा रुबेला खोप लगाइने भएको छ । तीन उमेर समुहका गरी जिल्लाका ५३ हजार एक सय ४६ जना बालबालिकालाई रोग लाग्नबाट बचाउन दादुरा रुबेला खोप लगाइने भएको हो । फागुन १ गतेबाट सुरु गरिने अभियान पाँच–पाँच स्थानिय तह गरी दुई चरणमा अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यलय इलामका प्रमुख वृजकुमार दासले जानकारी दिए ।

उनले भने, जिल्लाका सबै स्थानिय तहका बालबालिकालाई उमेरका आधारमा तीन समुहमा विभाजन गरेका छौँ । नौ देखि २३ महिनासम्मका सात हजार नौ सय १६, २४ महिनादेखि पाँच वर्ष उमेरसमुहका १८ हजार छ सय ५७, नौ देखि ५९ महिनासम्मका २६ हजार पाँच सय ७३ जना बालबालिकालाई आगामी चैत्र ३० गतेसम्म चल्ने अभियानमा समेट्ने लक्ष्य रहेको छ ।

तीन उमेर समूहका गरी जिल्लाको सन्दकपुरका दुई हजार सात सय छ, रोङ्गका तीन हजार एक सय ७२, माईजोगमाईका तीन हजार पाँच सय ३६, माङ्गसेबुङ्गका चार हजार ६२, चुलाचुलीका चार हजार छ सय १०, फाकफोकथुम गाउँपालिकाका चार हजार छ सय १२ जना बालबालिका रहेका छन् ।

यस्तै देउमाईका छ हजार एक सय ३०, माईका सात हजार एक सय ८४, सुर्योदयका आठ हजार चार सय ४० र इलाम नगरपालिकाका आठ हजार छ सय ९४ जना बालबालिकालाई दादुरा रुबेला खोप अभियान २०६७/०७७ मा खोप लगाइने मंगलबार भएको अन्तरक्रिया एव. छलफल कार्यक्रममा कार्यलयले जानकारी दिएको हो ।

सन्दकपुर गाउँपालिकाका पाँच वटा स्वास्थ्य चौकी माइपोखरी, माइमझुवा, लुरिङ्गटार, माबु र जमुना स्वास्थ्य चौकी, रोङ्ग गाउँपालिकाका चार स्वास्थ्य चौकी कोल्बुङ्ग, इरौटार, जिर्मले र शान्तीपुर स्वास्थ्य चौकी, माईजोगमाई गाउँपालिकाका पाँच स्वास्थ्य चौकी नयाँबजार, प्याङ्ग, सोयाङ्ग, जोगमाई र नामसालिङ्ग स्वास्थ्य चौकी, माङ्गसेबुङ्ग गाउँपालिकाका तीन स्वास्थ्य चौकी इभाङ्ग, बाझो, गजुरमुखी स्वास्थ्य चौकी, चुलाचुली गाउँपालिकाका दुई स्वास्थ्य चौकी चुलाचुली र साकफारा स्वास्थ्य चौकी र फाकफोकथुम गाउँपालिकाका पाँच स्वास्थ्य चौकी आमचोक, एकतप्पा, फूएतप्पा, लुम्दे र फाकफोक स्वास्थ्य चौकी गरी गाउँपालिका स्तरीय २४ वटा स्वास्थ्य चौकीमा खोप सञ्चालन हुनेछ ।

यस्तै देउमाई नगरपालिकाका पाँच स्वास्थ्य चौकी जितपुर, धुसेनी, शान्तीडाँडाँ, सिद्धिथुम्का, चमैता स्वास्थ्य चौकी र एक वटा मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र, माई नगरपालिकाका तीन वटा स्वास्थ्य चौकी चिसापानी, दानाबारी र महमाई स्वास्थ्य चौकी, सुर्योदयका छ स्वास्थ्य चौकी श्रीअन्तु, गोर्खे, कन्याम, समालबुङ्ग, पञ्चकन्या, लक्ष्मीपुर स्वास्थ्य चौकी र दुई प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल र पशुपतिनगर र इलाम नगरपालिकाका सात स्वास्थ्य चौकी साखेजुङ्ग, पुवामझुवा, सुम्बेक, बरबोटे,साङ्गरुम्बा, गोदक र सोयाक स्वास्थ्य चौकी गरी २१ वटा स्वास्थ्य चौकीमा दादुरा रुबेला खोप सञ्चालन हुने कार्यलयले जनाएको छ ।

सन् २०१८ मा इलाममा एक जनामा दादुरा रुबेला रोग देखा परेको थियो । इलामको माई नगरपालिकाको साविक महमाईको एक बच्चामा देखा परेकाले इलाम पनि यस रोगको संक्रमणको जोखिममा छ भन्ने भएकाले इलामलाई पनि यस अभियानमा सामेल गराएको प्रमुख दासले बताए । दादुरा लागेमा रोग त निको हुन्छ तर दीर्घकालीन असर देखा पर्ने इलाम अस्पताल इलामका डाक्टर प्रभु शाहले बताए । उनले भने, दादुरा रुबेला विरुद्धको खोप लगाएमा यो रोगबाट बच्नुको साथै बालमृत्युदर पनि कम हुन्छ । फागुन महिनामा स्थानिय तहका हरेक स्वास्थ्य चौकीमा खोप लगाउने अभियान चल्ने भएकाले यसबाट कोही पनि छुट्न नहुने उनको भनाई छ ।

आगामी फागुन र चैत्र महिनामा नेपालभर राष्ट्रिय खोप अभियान तथा नियमित खोप सुदृढिकरण दादुरा रुबेला खोप अभियान सञ्चालन हुनेछ । इलाममा भने फागुन महिनामा सञ्चालन हुने कार्यलयले जानकारी दिएको छ । दादुरा अति छिटो सर्ने संक्रामक रोग हो । जुन मिजल्स भाईरसका कारणबाट लाग्ने गर्छ । रुबेला भने रुबेला भाईरसको कारणबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यो रोग सामान्यतय पाँच वर्ष मुनीका बालबालिकालाई धेरै हुने गर्छ । दादुरा रुबेला विरुद्धको खोप लगाएपछि हल्का ज्वरो आउने, सुई लगाएको ठाउँमा केहि दुख्ने र सुन्निन सक्ने, खोप लगाएका केहि बालबालिकामा एक हप्तापछि दादुरा जस्तो विमिरा देखा पर्न सक्ने भए पनि नआत्तिन डाक्टर शाहको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार