इलाम । दलितका समस्या दलितको मात्रै होइन यो सिंगो राष्ट्रको नै समस्या भएको प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारले बताए । दलित जनप्रतिनिधिहरुको १ नम्बर प्रदेश स्तरिय भेला तथा दक्षिण एसियालीमिट २०७६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
दलित समुदायमा जन्म नभएको भए आफू कम्युनिष्ट नबन्ने उल्लेख गर्दै उनले भने, म दलितको मात्रै नेता होइन गैरदलित र सिंगो नेपालीको नेता हुँ । निरन्तर खटाई र अडानकै कारण आफ्नो कार्यकालमा दलित सशक्तिकरण अभियानको थालनी गर्न सक्षम रहेको समेत उनले स्पष्ट पारे ।
साडे छ हजार दलित महिलाहरु राजनीतिक क्षेत्रमा पाइला राख्न सफल बन्नु भनेको ऐतिहासिक जीत हासिल गर्नु जस्तै हो । विजेता सबै महिलाहरुको राजनीतिक यात्रा थालनी भईसकेको छ, निरन्तर लागी परे सम्माननीय पदमा पुग्न अवश्य सकिनेछ । आफूलाई सक्षम देखाउन समाज हितका कार्य गर्न जरुरी रहेको भन्दै परियारले सबै जनप्रतिनिधिलाई समाजका लागि खास काम गरेर देखाउन आग्रह समेत गरे ।
हेर्नु, बुझ्नु र बदल्नु वैज्ञानिक शुत्र हो । यहि शुत्रमा रहेर समाजका हितका लागि कार्य गर्न सके निरन्तर राजनितिक यात्रामा बाँची रहन सकिने उनको भनाई थियो । उनी भन्छन्,‘आफ्नो कार्यकालमा दलितका लागि खास–खास ऐतिहासिक एजेण्डा पारित गर्न लागी परेको छु, जो सामाजिक हितका लागि बन्छन् ।’
एक नम्बर प्रदेशका १४ जिल्लाको जनप्रतिनिधिहरुको सहभागीता रहेको भेलामा सबैले ऐन कानुनको कार्यन्वयन गर्न जरुरी रहेको बताएका थिए । कानुनले मौलिक हकमा नै उल्लेख गरेको छ, छुवाछुत गर्न पाइदैन भनेर । यो नै परिवर्तनको पहिलो कदम भएको सहभागीहरुले बताएका थिए ।
अझै पनि महिला हिंसा र ग्रामिण भू–भागमा छुवाछुत जस्ता विभेद कायम नै रहेको छ । यस्ता कार्यंलाई निर्मूल पार्न सबै लागी पर्नु पर्नेमा सहभागीहरुकोले जोड दिएका थिए । दुई दिनसम्म सञ्चालन हुने भेलाको उद्घाटन समारोहका क्रममा सामाजिक, राजनीतिक र दलित आन्दोलनका दुई अगुवालाई अभिनन्दन समेत गरिएको छ । अभिनन्दनमा प्रदेश नम्बर दुई का प्रदेश प्रमुख तिलक परियार र प्रदेश नम्बर १ का प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई मायाको चिनो दिएर अभिनन्दन गरिएको हो ।
भेलाको उद्घाटन इलामको ठूलो टुँडिखेलबाट नौमती बाजा सहितको ¥याली निकालेर बजारको परिक्रमा गरि इलामको गौतम बुद्ध सभागृहमा कोणसभामा परिणत भएको थियो । कार्यक्रमको उद्घाटन प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियारले गरेका हुन् ।
यस्तै आज नै नेपालमा जातपात र छुवाछूतको ऐतिहासिक पक्षका बारेमा पूर्व सभासद पद्यलाल विश्वकर्माले जानकारी गराउने कार्यक्रम रहेको छ भने योजना तर्जुमाको सवाल र दलित समुदायको भूमिका बारेमा उदयपुर जिल्लाका जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर दर्नालले चर्चा गर्ने छन् । यसै गरी सांस्कृतिक कार्यक्रम तथा साहित्यिक वाचनका कार्यक्रम समेत रहने कार्यक्रमका मूल समारोह समितिका संयोजक नवराज शंकरले जानकारी दिए ।
दोस्रो दिन शनिबार एक नम्बर प्रदेशको दलित जनप्रतिनिधहरुले अनुभव आदानप्रदान गर्ने, प्रदेश नं. १ का १४ जिल्लाको स्थानीय तहको कामकारबाहीका बारेमा समिक्षा गर्ने कार्यक्रम रहेको छ भने संविधान,कानुन र नीति निर्माणमा दलितका सवालका बारेमा प्रतिनिधि सभा सांसद मिन विश्वकर्माले चर्चा गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, सोही दिन नेपालको दलित आन्दोलन ः विगत, वर्तमान र भविष्यका बारेमा दलित अधिकारकर्मी गणेश विश्वकर्माले जानकारी गराउनुहुने छ भने दलित महिला ः अवसर, सम्भावना र चुनौतीबारेमा सीता सुन्दास र लक्ष्मी परियारबीच छलफल रहने छ । यसै गरी दोस्रो दिन नै दलित समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको सवालका बारेमा पनि जेवी विश्वकर्माले चर्चा गर्ने कार्यक्रम रहेको छ ।
यसै गरी दलित समुदायको समस्या र राज्यका बारेमा रामबहादुर राना र विनोद पहाडीबीच छलफल चलाइने छ भने यसको सहजीकरण नैन विश्वकर्माले गर्ने छन् । सोही दिन दलित समुदायको पेशा संरक्षण र आधुनिकीकरणका बारेमा विमल धमला र हरि पोख्रेलबीच छलफल रहने छ भने यस्को सहजीकरण देवेन्द्र शंकरले गर्नेछन् ।
कार्यक्रमको समापन प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने कार्यक्रम तय भएको छ । सोही दिन नेपाल,भारत र भुटानका दलित अधिकारकर्मीबीच आ–आफ्नो मुलुकमा रहेको दलित अधिकारको बारेमा चर्चा समेत गरिने कार्यक्रम तय भएको आयोजक मूल समारोह समिति इलामले जनाएको छ ।