इलाम । माघको २४ र २५ गते इलाममा हुन लागेको एक नम्बर प्रदेशका दलित जनप्रतिनिधहरुको भेलाको तयारी पूरा भएको छ । दलितहरुको भेलासहित दक्षिण एसियाली दलित मिटको कार्यक्रम खाका समेत तयारी भएको जनाइएको छ ।
बिहीबार इलाम सदरमुकाममा भएको पत्रकार सम्मेलनमा २४ गते विहान ११ः३० मा नौमती बाजा सहित इलामको ठूलो टुँडिखेलबाट कार्यक्रम सुरु हुने छ भने कार्यक्रमको उद्घाटन प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियारले गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै सोही दिन नेपालमा जातपात र छुवाछूतको ऐतिहासिक पक्षका बारेमा पूर्व सभासद पद्यलाल विश्वकर्माले जानकारी गराउनु हने छ भने योजना तर्जुमाको सवाल र दलित समुदायको भूमिका बारेमा उदयपुर जिल्लाका जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर दर्नालले चर्चा गर्ने छन् । यस्तै सोही दिन सांस्कृतिक कार्यक्रम तथा साहित्यिक बाचनका कार्यक्रम समेत रहने कार्यक्रमका मूल समारोह समितिका संयोजक नवराज शंकरले जानकारी दिए ।
दोस्रो दिन एक नम्बर प्रदेशको दलित जनप्रतिनिधहरुले अनुभव आदानप्रदान गर्ने, प्रदेश नं. १ का १४ जिल्लाको स्थानीय तहको कामकारबाहीका बारेमा समिक्षा गर्ने कार्यक्रम रहेको छ भने संविधान,कानुन र नीति निर्माणमा दलितका सवालका बारेमा प्रतिनिधि सभा सांसद मिन विश्वकर्माले चर्चा गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, सोही दिन नेपालको दलित आन्दोलन ः विगत, वर्तमान र भविष्यका बारेमा दलित अधिकारकर्मी गणेश विश्वकर्माले जानकारी गराउनुहुने छ भने दलित महिला ः अवसर, सम्भावना र चुनौतीबारेमा सीता सुन्दास र लक्ष्मी परियारबीच छलफल रहने छ । यस्तै दोस्रो दिन नै दलित समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको सवालका बारेमा पनि जेवी विश्वकर्माले चर्चा गर्नेछन् ।
यस्तै, दलित समुदायको समस्या र राज्यका बारेमा रामबहादुर राना र विनोद पहाडीबीच छलफल चलाइने छ भने यसको सहजीकरण नैन विश्वकर्माले गर्ने छन् । सोही दिन दलित समुदायको पेशा ःसंरक्षण र आधुनिकीकरणका बारेमा विमल धमला र हरि पोख्रेलबीच छलफल रहने छ भने यस्को सहजीकरण देवेन्द्र शंकरले गर्नेछन् छ ।
कार्यक्रमको समापन प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने कार्यक्रम तय भएको छ । सोही दिन नेपाल,भारत र भुटानका दलित अधिकारकर्मीबीच आ–आफ्नो मुलुकमा रहेको दलित अधिकारको बारेमा चर्चा गरिने कार्यक्रम तय भएको छ ।