चितवन । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण चितवनको पर्यटन व्यवसाय समेत प्रभावित भएको छ । अन्य पर्यटकको तुलनामा खर्च गर्ने चिनियाँ पर्यटकले नेपाल आउने बुकिङ रद्ध गरेपछि सौराहा लगायत चितवनका अन्य होटलमा चिनियाँ पर्यटक शुन्य छन । चीनले आफ्ना नागरिकलाई बाह्य देशमा जान प्रतिबन्ध लगाएसंँगै उनीहरुले बुकिङ रद्ध गरेको व्यवसायीहरु बताउंँछन् ।
क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई कोरोना भाइरस संक्रमणको कारण चीनबाट आउने सबै पर्यटकले बुकिङ रद्ध गरेको बताए। ‘चीनबाट आउने सबै नयांँ पर्यटकले बुकिङ रद्द गरेका छन्, उनले भने, यही भएका फाट्टफुट्ट पर्यटक मात्र छन ।’ उनका अनुसार यसअघि ५सयदेखि सातसय सम्म दैनिक चिनियाँ पर्यटक आउने गरेका भएपनि हाल सौराहामा चिनियाँ पर्यटक देखिदैनन् । चिनियाँ पर्यटकसंँगै भारत , युरोप लगायतका पर्यटकमा समेत कमी भएको उनले बताए ।
चिनियाँ नयांँबर्षमा पर्यटक उल्लेखनीय मात्रमा रहेपनि केही दिनदेखि चीनिया पर्यटक नआएको क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे बताउंँछन् । ‘नयांँ बर्षमा चिनियाँ पर्यटकको संख्या ३० देखि ४० प्रतिशत थियो, उनले भने, अहिले यो संख्या घटेर शुन्य जस्तै छ ।’ चिनियाँ पर्यटकको आगमन नभएपनि आन्तरिक र अन्य पर्यटकको उपस्थिति भने सन्तोष जनक रहेको घिमिरेले बताए।
पछिल्लो पटक चिनियाँ पर्यटकले पर्यटन प्रर्वद्धनमा राम्रै प्रभाव परेको थियो । हालको लागि बुकिङ रद्ध गरेपनि संक्रमण कम भएपछि सन्देश मार्फत जानकारी गराएको उनको भनाई छ । चिनियाँ पर्यटक शुन्य जस्तै भएपनि अन्य पर्यटकको संख्यामा भने कमी नरहेको होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडी बताउंछन् । ‘चिनियाँ पर्यटक नभएपनि मेरो होटल फागुनसम्मका लागि प्याक छ’ उनले भने । उनका अनुसार सभा सम्मेलनको लागि बुकिङ हुने क्रम बढेकोले पर्यटकीय गतिविधि कम नभएको उनको भनाई छ ।
पर्यटन व्यवसाय प्रभावित भएसंँगै यसको असर अन्य क्षेत्रमा पनि परेको छ । सौराहाका होटल क्षेत्र लगायत क्युरियो सप,एन्टिक शप , ट्राभल एजेन्सीमा समेत यसको असर देखिएको छ । सौराहा क्युरियो शपका सञ्चालक विनोद खनाल रोगको संक्रमण फैलिएसंँगै चीनिया पर्यटक आउन ठप्प भएको बताए ।
सौराहामा मात्रै पर्यटक स्तरीय होटल १ सय २० वटा र रेष्टुेण्ट एण्ड बार ७० वटाको हाराहारीमा छन् । चितवनको अन्य पर्यटकीय गन्तव्य पटिहानी , मेघौली लगायतका क्षेत्रहरुमा ३ दर्जनको हाराहारीमा होटल सञ्चालनमा छन् ।