इलाम । माङसेबुङ गाउँपालिका वडा नं. ३ चतुरेमा १० दिने उद्यमशीलता विकास सम्बन्धी तालिम सुरु भएको छ । तालिम माङसेबुङ गाउँपालिका २ नं. वडा कार्यालयको सहयोग र घरेलु तथा साना उद्योग कार्यालय इलामको आयोजनामा सुरु भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय इलामको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक कार्यक्रम अनुसार छनौट भई माङसेबुङ गाउँपालिका २ नं. वडा कार्यालयको आर्थिक सहयोग भएको माघ २५ गतसम्म सञ्चालन हुने तालिममा वडा नं। ३ का २५ जनाको सहभागिता रहने वडाध्यक्ष मैतराज राईले जानकारी दिए ।
तालिममा सहभागिहरुलाई कुनै पनि उद्यम सञ्चालन गर्नको आवश्यक प्रशिक्षण गरिने सहजकर्ता निरोज राईले जानकारी दिए । उनले भने( यस तालिममा उद्यम सञ्चालनको लागि आवश्यक कानुनी प्रावधान, उद्योग सञ्चालन गर्दा गर्न सक्नुपर्ने जोखिम बहन लगायतलाई खेलको माध्यम र विश्लेषणको माध्यमबाट प्रशिक्षण गरिनेछ ।
विहिबार शुरु भएको तालिमको उद्घाटन कार्यक्रममा माङसेबुङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष मैतराज राई, वडासदस्यहरु संगिता राई, इन्द्रवहादुर सम्बाहाङफे, कुलवहादुर लिम्बू, वडा सचिव सृजना खड्का, नयाँ बुलन्द डट कमका प्रेश प्रतिनिधि अतित योङहाङ लगायतको उपस्थिति र शुभकामना मन्तव्य राखेका थिए । तालिमको सहजीकरण घरेलु कार्यालयका उद्यम विकास सहजकर्ताद्वय निरोज राई र बालुका बस्नेतले गर्दैछन् ।
यसैगरी होमस्टे सञ्चालन सम्बन्धी तालिम, सिलाईकटाई तालिम तथा मोटरसाइकल मर्मत को लागि एड्भान्स तालिमम यसै वर्ष ३ नं. वडामै यसै आर्थिक वर्षमा सञ्चालन हुने वडाध्यक्ष माइतराज राईले बताए ।