इलाम । इलाम नगरपालिका वडा नं. २ सुम्बेकमा आयोजित सुम्बेक गोल्डकप २०७६ को उपाधी पशुपतिप्रसाद गण इलामले हात पारेको छ । उपाधीसँगै उसले नगद एक लाख एक सय एक, ट्रफि जितेको छ । उपविजेता हेलिबोथ फुटबल क्लबले भने नगद ५० हजार एक सय एक र ट्रफि जितेको छ ।
स्थानीय खेलमैदानमा विहीबार सम्पन्न फाइनल खेलमा ट्राइबेकरमा पशुपतिप्रसाद गणले हेलिबोध फुटबल क्लब विब्ल्याँटेलाई पराजित गर्दै उपाधी हात पार्न सफल भएको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि ट्राइबेरबाट विजेता निर्धारण गरिएको थियो । ट्राइबेरमा ४–२ गोलको अन्तरले पशुपतिप्रसाद गणले हेलिबोथलाई हराएको हो । पहिलो हाफको शुरुमा हेलिबोथका पुजन मगरले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफकै अन्त्यतिर पुनः पशुपतिप्रसाद गणका सुनिल गुरुङ्गले गोल फर्काउँदै खेललाई बराबरीको अवस्थामा फर्काएका थिए ।
ट्राइबेरकमा भने पशुपतिप्रसाद गणले चार गोल गरेको थियो भने हेलिबोथले दुई गोल मात्र गरेको थियो । ट्राइबेरकमा पुशपतिगणका सुनिल गुरुङ्ग, बालकृष्ण राई, मोहन थापा र प्रनाश श्रेष्ठले गोल गरेका थिए भने अमृत गुरुङ्गले प्रहार गरेको बललाई भने विपक्षी हेलिबोथका गोल रक्षक सुर्योन राईले गोल हुनबाट बचाएका थिए । यता हेलिबोथको तर्फबाट भवेष राई र पुजन राईले मात्र गोल गर्न सफल भए । नवराज राईले प्रहार गरेको बल पोलमा ठोकिएर बाहिरिएको थियो भने राम तामाङ्गले प्रहार गरेका बल विपक्षी गोल रक्षक बुद्धिबहादुर गुरुङ्गले बचाएका थिए ।
हेलिबोथका भवेष राई प्रतियोगिताका उत्कृष्ठ खेलाडी घोषित भएका छन् । यसरीनै बेस्ट स्कोरर हेलिबोथकै पुजन मगर घोषित भएका छन् । उत्कृष्ट गोल रक्षक भने पशुपतिप्रसाद गणका बुद्धिबहादुर गुरुङ्ग घोषित भएका छन् । उनीहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
विजेता, उपविजेताहरुलाई इलाम नगरपालिका वडा नं. ५ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता ठाकूर श्रेष्ठ, वडा नं. २ का अध्यक्ष नारद लम्साल, पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू, वडा नं. २ का सदस्य शेरबहादुर तामाङ्ग, आयोजक सुम्बेक खेलकुद विकास समितिका अध्यक्ष गिरीराज रिजाललगायतले पुरस्कार प्रदान गरेका थिए ।
सुम्बेक खेलकुद विकास समितिका अध्यक्ष गिरीराज रिजालको अध्यक्षतामा सम्पन्न प्रतियोगिता समापन कार्यक्रमको उद्घाटन भने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले गरेका थिए ।