इलाम । बालबालिकाको सवालमा सरोकारवालाले नीतिगत व्यवस्था गर्नुपर्ने एक कार्यक्रमका बक्ताले बताएका छन् । मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको बालबालिकाको सवाल तथा बालबालिका सम्बन्धि ऐन कार्यविधी र रणनीतिक योजना निर्माण तथा सहजिकरण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम उद्घाटन समारोहका बक्ताले बालबालिकाको सवालमा सरकारले नीति बनाउँनु पर्नेमा जोड दिए ।
जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले बालबालिकालाई वर्तमान विकासको सवालमा उपयोग नगरेर विभेद गरेको बताए । उनले बालबालिकामा यौन दुव्र्यवहार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै स्थानीय तहले बालबालिकाको सम्मुनत विकास गर्न आधारभूत पूर्वाधार निर्माण गर्न आग्रह समेत गरे ।
प्रमुख बरालले सरकार एक्लैले मात्र सबै काम गर्न नसक्ने बताउँदै, सरकारलाई सहयोग गर्ने गैरसरकारी संघसंस्थासँगै विज्ञको सल्लाह बमोजिम काम गर्दै विकासमा बालबालिकाको संरक्षण र विकासको सबै क्षेत्र समेट्नु पर्ने औल्याए ।
बालबालिकाको समग्र विकासका लागि सरकारले नीतिगत व्यवस्थापन गर्नुपर्ने केन्द्रीय बाल कल्याण समितिको पूर्व कार्यकारी निर्देशक तारक धितालले बताए । उनले बालबालिकालाई संकेत गर्दै वर्तमानमा माटो र बाटोको विकासको सवालसँगै मानवीय विकासको सवाललाई पनि उठाउनु पर्नेमा जोडदिए ।
विज्ञ र जनप्रतिनीधिको समन्वयमा बालबालिकाको सवालमा जनचाहना अनुसार सरकारले काम गर्नुपर्नेे बताउँदै निर्देशक धितालले भने ‘जनचाहना अनुसार गुणात्मक काम हुन आवश्यक छ । स्थानीय तहले के विषयमा कसरी काम गर्न सकिन्छ छलफल गरेर काम गर्नुपर्छ ।’
मावन अधिकार मञ्च नेपाल इलामका भक्त थामीले वर्तमानमा बालबालिकाको सवाल महत्वपूर्ण बन्दै गएको बताए । उनले बालबालिकाको जोखिमको क्षेत्र समेत बढ्दै गएकोले बालबालिकाको सवालमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
बालसंरक्षणका लागि ऐक्यबद्धता परियोजनाका संयोजक रूद्र थेबेले बालबालिकाको सवालमा नीतिगत व्यवस्थापन गर्न सके जोखिम न्यूनिकरणमा सहयोग पुग्ने बताए । बालसंरक्षणका लागि ऐक्यबद्धता परियोजनाको तालिममा बालबालिकाको राष्ट्रिय अन्तराष्ट्रिय नीतिगत व्यवस्था, बालबालिकामा लगानीको औचित्य, संघीय, प्रदेश र स्थानीय सरकारसँगै संघसंस्थाको भूमिका, स्थानीय तहमा बालबालिका सम्बन्धि ऐन, कार्यविधी, रणनीतिक योजनाको विषयमा जानकारी गराइने परियोजनाको क्षेत्रीय संयोजक इश्वर लुङ्गेली मगरले जानकारी जनाए ।